टुरिजमलाई गाभ्ने मेगा बैंकको प्रस्ताव पारित


मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गरेको छ।

राजधानीमा सम्पन्न बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्नका लागि अनुमति दिएको हो।

टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले मर्जपछि मेगाको ०.९५ कित्ताको अनुपातमा पाउनेछन्।

मर्जर प्रक्रियापछि बैंकको चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। टुरिजमले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेकाले प्रक्रिया टुंगोमा पुर्याएर बैंकलाई नयाँ गतिमा लैजाने उनले बताए।

‘विज्ञहरुसँगको छलफलबाट पाँच वर्षे योजना तय गरेका छौँ, आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौं’ उनले भने।

मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्षमा१८ वटा नयाँ शाखा खोल्ने जानकारी दिइन्। साथै उनले बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्ने बताइन्।

मेगा र टुरिजमको मर्जरपछि ११ वटा एक्सटेन्शन काउन्टरसहित ११२ वटा शाखा कार्यालय पुग्ने कम्पनीले जनाएको छ। मर्जपछि कुल निक्षेप ४९ अर्ब ५० करोड र कर्जा ४५ अर्ब ५९ करोड रुपैँया पुग्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.