साझाले थप बस किन्न १ करोड पायो, भोलिदेखि बुङ्गमतिमा बस गुड्ने


साझा यातायातलाई ललितपुर महानगरले थप बस खरिद गर्नका लागि एक करोड रुपैयाँ प्रदान गरेको छ। आज एक कार्यक्रमका बीच ललितपुरका मेयर डा. चिरिबाबु महर्जनले सो रकम साझाका अध्यक्ष कनकमणि दीक्षितलाई हस्तान्तरण गरे।

रकम हस्तान्तरण गरेसँगै ललितपुर महानगरलाई सो रकम बराबरको सेयर साझाले प्रदान गरेको छ।  रकम हस्तान्तरण गर्दै मेयर महर्जनले साझासँग सहकार्य गरेरै यातायात सेवाको विस्तार गरिने बताए। ‘यो प्रारम्भिक सहकार्य हो, आगामी दिनमा पनि हाम्रो सहयोग रहन्छ’ महर्जनले भने।

आगामी दिनहरुमा आफूहरुले साझालाई सहयोग गर्दै जाने र सेयर पनि बढाउँदै लैजाने महर्जनले प्रतिबद्धता जनाए।

त्यस्तै साझाका अध्यक्ष दीक्षितले सबै स्थानीय सरकारसँग मिलेर यातायात व्यवस्थालाई सुदृढ बनाउने प्रयासमा साझा यातायात रहेको उल्लेख गरे। ‘ललितपुर महानगरसँग सहकार्य भएसँगै अन्य स्थानीय तहसँग पनि सहकार्यका लागि साझा तयार छ’ दीक्षितले भने ‘चौडा सडक र ठूलो बसबाट नै सही रुपमा यातायात व्यवस्थापन गर्न सकिन्छ।’

यसअघि साझालाई काठमाडौं महानगरले थप बस खरिदका लागि ५ करोड रकम प्रदान गरिसकेको छ। सो रकम र ललितपुर महानगरको गरी कुल ६ करोड रुपैयाँको बस साझाले थप्नेछ।

साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बस खरिदका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए। ६ करोड रुपैयाँबाट थप २० वटाजति बस खरिद गर्न सकिने उनले बताए।

भोलिदेखि बुङ्गमतिमा बस गुड्ने
भोलि सोमबारदेखि ललितपुरको बुङ्गमतिबाट साझाको बस गुड्ने भएको छ। बुङ्गमतिबाट रत्नपार्क हुँदै बुढानिलकण्ठसम्म दैनिक एउटा बस गुड्ने अधिकृत पाण्डेले बताए।

बुङ्गमतिका यात्रुले बिहान ९ बजे साझा यातायात चढेर सुन्धारा, रत्नपार्क तथा बुढानिलकण्ठसम्म पुग्न पाउने छन्। यसले कार्यालय तथा स्कुल कलेज जानेहरुलाई सहजता मिल्ने साझाको विश्वास छ। थप बसहरु खरिद भइसकेपछि भने त्यो रुटमा पनि बस थपिने र अन्य रुटमा पनि विस्तार गरिने पाण्डेले बताए।

हाल साझाका बस उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाहरुमा संचालनमा छन्। थप बसहरु ल्याएपछि भएका रुटलाई व्यवस्थित गर्दै अन्य रुट पनि थपिने साझाले जनाएको छ। साझासँग उपलव्ध ४६ बसमध्ये दुईटाले दैनिक काठमाडौं–बागलुङसम्मको सेवा दिइरहेका छन्। बाँकी ४४ बस उपत्यकामा गुडिरहेका छन्।

तस्वीर : पाण्डेको फेसबुकबाट

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.