भदौ १ देखि चक्रपथमा ट्रक, टिपर र मिनी ट्रक दिउँसो चलाउन नपाउने


आगामी भदौ १ गतेदेखि उपत्यकाको चक्रपथ र चक्रपथ भित्र विहान ८ बजेदेखि बेलुका सात बजेसम्म ट्रक, टिपर र मिनी ट्रक चल्न नपाउने भएका छन्।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाको सयुक्त बैठकले उक्त समयमा मालबाहक साधन चल्न नदिने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनरायण भट्टराईले जानकारी दिए।

उपत्यकाको सवारी व्यवस्थापनको लागि मालबाहक साधनलाई निश्चित समयतालिकाभित्रमात्र चल्न पाउनेगरी व्यवस्था गर्न लागिएको अधिकारीहरुले जानकारी दिएका छन्। तर यो व्यवस्था अत्यावस्यकिय वस्तु तथा पदार्थ ओसारपसार गर्ने पेट्रोल, डिजेल, दुध र पानीका ट्यांकरमा भने लागू हुने छैन।

उपत्यकाभित्र प्रवेस गर्ने त्यस्ता मालबाहक साधनले चक्रपथ बाहिर नै पार्किङ गर्नुपर्ने र त्यस्तो पार्किङ क्षेत्र पनि निर्धारण गरिएको भट्टराईले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार राजधानी प्रवेस गर्ने नाकाअनुसार पार्किङ तोकिएको छ।

नागढुंगाबाट प्रवेस गर्ने मालबाहक सवारीले नौबिसे, नुवाकोटबाट आउनेले झोर र मुडे, बीपी राजमार्गहुँदै आउनेले बनेपा र गोदावारीबाट आउनेले धापाखेलमा पार्किङ गर्नुपर्ने छ। त्यसरी रोकिएका साधनले बेलुका सात बजेदेखि बिहान आठ बजेसम्ममात्र चक्रपथ र त्यसभित्रको क्षेत्रमा चल्न पाउने छन्।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.