ट्याक्सीमा प्रिन्टर मेसिन जडान पछि पनि ग्राहक ठगिने क्रम रोकिएन


सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन ।

ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् ।

काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा २०० तिर्नुप¥यो । रानीबारीबाट बालुवाटारसम्मको ट्याक्सी भाडा मिटरमा जाँदा धेरैमा १५० सम्म पर्छ । उनी न त मिटरमा जान पाइन् न बिल नै।

लैनचौरबाट नक्साल जान नवीन काफ्लेले १५० तिर्नुप¥यो । जहाँ मिटरमा जाँदा एकसय रुपैयाँ पनि लाग्दैन । उनलाई मिटर बिग्रेको छ भनेर सवारी चालकले बिल र मिटर बिनै १५० रुपैयाँ लिए ।

यी त केवल प्रतिनिधि घटना मात्र हुन् । काठमाडौँ उपत्यकामा दैनिक सयाँै यात्रु ट्याक्सीबाट ठगिरहेका छन् । यसको नियन्त्रणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिना बर्दीमा दैनिक १०÷१२ जना प्रहरीलाई खटाइरहेको छ ।

उपत्यकाको नयाँ बसपार्क, कलंकी, कोटेश्वर नयाँ सडक, वीर अस्पताल, लगनखेल, एयरपोर्ट, त्रिवि शिक्षण अस्पताल, ठमेल, दरबारमार्गलगायतका क्षेत्रमा बढी ठगी हुने गरेको भन्दै महाशाखाले उक्त क्षेत्रमा बिना बर्दी प्रहरी खटाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनाल मिटरमा जान नमान्नु, बढी भाडा लिनु, ट्याक्सी बिल नदिने दैनिक २० देखि ३० ट्याक्सी चालकलाई कारबाही गरेको बताउछन्।

“दैनिक २०० को हाराहारीमा हामी ट्याक्सी जाँच गछौँ त्योमध्ये २० देखि ३० ट्याक्सी चालक कारबाहीमा पर्छन्,”– प्रमुख खनालले भने।

महाशाखाले आर्थिक वर्ष २०७३÷७४ मा ६ हजार ६९ ट्याक्सीलाई कारबाही गरेको छ । अघिल्लो आव २०७२÷७३ मा दुई हजार ८०१ ट्याक्सी कारबाहीमा परेका थिए । कारबाही परेका ट्याक्सीको राजश्व पहिले यातायात व्यवस्था कार्यालयले लिने गरेपनि अहिले महाशाखाले नै लिने जिम्मेवारी पाएको छ ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतम प्रिन्टर मेसिन भरपर्दो नभएका कारण आफूहरुले यात्रुलाई बिल दिन नसकेको बताउछन्।

ट्याक्सीलाई बिल जडान गर्ने नाममा कमसल मेसिन भित्र्याएर राज्यको १४ करोड विदेशिएको भन्दै मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने अध्यक्ष गौतमको भनाइ छ । हाल काठमाडौँ उपत्यकामा नौ हजार ५०० ट्याक्सी सञ्चालनमा छन् ।

यस्तै नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधिको संयुक्त टोलीसमेत अनुगमनमा खटिएको छ । उक्त टोलीले गुडिरहेका ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटरमा गुडिरहेको छ की छैन् भनेर अनुगमन गर्नेगर्छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजु सात हजार ३०० ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिसकिएको बताउछन्।

ध्वजुले प्रत्येक मिटरमा वारेन्टी रहेकाले तत्काल नबिग्रिने उल्लेख गरे,। उनले ट्याक्सी उपयोग गर्ने यात्रुलाई बिल लिनुपर्छ भन्ने जनचेतना फैलाउनु जरुरी रहेको बताए। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.