शुक्रबार दाङको तुलसीपुर–घोराही चारलेन सडकमा केही युवाहरूको भिड थियो। कोही बेल्चा चलाइरहेका थिए। कोही ढुंगा बोकेर खाडलमा हालिरहेका थिए। कोही ट्राफिकको काम गरिरहेका, कोही बालुवा-गिटी कहाँ झार्ने, ट्यांकरको पानी कता राख्ने भनेर सिकाइरहेका। चार वटा जेसिबी, त्यत्तिकै संख्यामा टिपर, ट्रक्याटर, ग्रेडर पनि थिए।
सडकमा काम गरिरहेका अधिकांशले 'युवाहरूको सक्रिय सहभागिता, दुर्घटना न्यूनीकरण, सडक मर्मतमा अग्रता' लेखिएको टिसर्ट लगाएका थिए।
उनीहरू सडकमा आएर किन काम गरिरहेका होलान्? धेरैलाई जिज्ञासा थियो।
६० वर्षीया शारदा रावत पनि यस्तै जिज्ञासा बोकेर हेरिरहेकी थिइन्। तुलसीपुर–६ को कालोखोला वकालोकोमा घरनजिकै डाँडोमाथिबाट जेसिबीले सडक खनेको हेरिरहेकी उनलाई एउटा कुरा भने लागेको छ- जे होस्, अलपत्र रहेको सडकको काम अब धमाधम अगाडि बढ्छ कि!
शुक्रबार मात्रै यो सडकमा दुई जना महिला स्कुटरबाट लडेको उनले देखेकी रहिछन्।
'सडकको अवस्था नाजुक छ। दुर्घटना भइरहन्छ। लडेर गुहार मागिरहेका युवायुवती थुप्रै देखिसकेँ,' उनले भनिन्।
उनीहरू सल्यानबाट बसाइ सरेर यहाँ आएको दस वर्ष जति भयो।
'हामी आउने बेला त यो सडक गजब थियो,' उनले भनिन्, 'अहिले खत्तम भइसक्यो। धूलोका कारण यो ठाउँ छोडेर फेरि सल्यान नै फर्किम् कि भन्नेसम्म भयो।'
शारदालाई अब भने यो सडक बन्ला बन्ने आश लागेको बताइन्। तर सडकमा खटिनेहरू को हुन् भन्ने थाहा रहेनछ।
त्यहीँ भएका ट्र्याक्टरधनी तुलसीपुर– ७ पर्सेनीका कृष्ण केसी भने सडकमा त्यसरी खटिएर काम गरिरहेकामध्ये अधिकांशलाई चिन्दा रहेछन्।
तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगी, प्रतिष्ठित व्यवसायी विमल रिजाल, विनिल केसी, निर्माण व्यवसायीहरू द्रोण देवकोटा, कृष्णबहादुर खड्का, शिव बुढाथोकी, संजात धिताल, टोपेन्द्र डाँगी, प्रकाश महतरा, शरदकुमार योगी, टिपरधनी जनक मल्ल लगायत चिरपरिचित व्यक्तिहरू सडक मर्मत गरिरहेका थिए।
बेहाल सडक देखेर स्वस्फुर्त रूपमा युवाहरू मिलेर आफ्नै खर्चमा सडक मर्मतमा खटिनु उदाहरणीय काम भएको उनले बताए।
उनीसँग कुरा गर्दागर्दै एउटा मोटरसाइकल डिलबाट खस्यो। त्यसमा सवार एक जना फूर्तिसाथ झरेर मोटरसाइकल थामे।
त्यही बेला कृष्णले भने, 'यस्ता युवा नजागे यो देश कसरी बन्ला! यो राज्यलाई ठूलो खबरदारी होइन र?'
सानो नानी काखमा खेलाउँदै सडकको चहलपहल नियालिरहेकी मनु मगर दिदीको घरमा आउजाउ गरिरहन्छिन्। मोटरसाइकलमा सानो नानीसँग यात्रा गर्दा उनलाई सधैं पिर हुन्छ।
'यो बाटोमा मेरो होसहवास उड्छ,' उनले भनिन्, 'जताततै खाल्डा। अस्ति बाइक कोल्टिएर झन्डै नानी सडकमै खसेको।'
सडक बनाउने नाममा बिजोग बनाएर छोड्नेलाई राज्यले समयमै कारबाही गर्न नसक्दा यस्तो परिणाम भएको उनले बताइन्। सडक भत्काएर वर्षौंसम्म सर्वसाधारणको जीवनमाथि खेलवाड गर्नेलाई कारबाही गरिनुपर्ने पनि उनले बताइन्।
तुलसीपुर–घोराहीमा दस वर्षदेखि सार्वजनिक बस चलाउँदै आएका राजु शर्मा शुक्रबार सडकमा काम भइरहेको देखेर आशावादी देखिएका थिए। सडक नभत्काउँदासम्म आधा घन्टामा पूरा हुने यात्रामा अहिले डेढ घन्टा लाग्छ। इन्धनको दोब्बर खपत र गाडीमा टुटफुट उत्तिकै बढेको छ। साहुले गाडीको अवस्था देखेर खर्च भयो भन्दै कराइरहन्छन्। खाल्डा जोगाउन खोज्दा पनि सम्भव नहुँदा यात्रुले पनि गाली गर्छन्।
सडक मर्मतको नेतृत्व गरिहेका इञ्जिनियर पवनकुमार योगीका अनुसार यो अभियानमा ४२ जना व्यवसायी हालसम्म जोडिएका छन्।
'तुलसीपुर–घोराही खाडल मर्मत अभियान' नाम दिएर पवन आफैंले उपमहानगरपालिकामा प्रस्ताव राखेका हुन्। अभियानबारे बताएपछि उनीसँग हातेमालो गर्न अरू व्यवसायी तयार भए। सामाजिक सञ्जालमा त्यो कुरा राखेपछि संख्या बढ्दै गयो।
सबै मिलेर उपमहानगरपालिकामा निवेदन दिए। पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागिएको थियो। उपमहानगरले प्रारम्भिक वातावरणीय मूल्यांकन भइसकेका स्थानबाट निःशुल्क ग्राभेल निकाल्न अनुमति दियो। लगत्तै उनीहरूले काम थालेका हुन्।
तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको सिमाना मज्गैंसम्मको करिब १० किलोमिटर सडकमा बालुवा-गिटी, माटो हालेर खाल्डा पुर्ने काम बिहीबार बिहानदेखि सुरू भएको हो। टिपर, ट्र्याक्टर, रोलर, जेसिबी, पानी बोक्ने ट्यांकर जोसँग जे छ, ती साधन व्यवसायीले सित्तैमा पठाएका हुन्। पहिलो दिन इन्धन पनि आफैं भरेर पठाएका थिए।
माटो र बालुवा-गिटी सम्याउने ग्रेडर मात्रै उनीहरूले उपमहानगरपालिकासँग सहयोग मागेका हुन्। इन्धन र चालक खर्च युवाहरूले आफैं दिने पवनले बताए।
'यति काम गर्दा दैनिक सवा एक लाखसम्म खर्च हुन्छ। झन्डै १२ किलोमिटर तुलसीपुर क्षेत्रको सडक पूरा गर्न हप्ता दिन जति लाग्ने अनुमान छ,' उनले भने, 'हप्ता दिनकै लागि ग्राभेल बोक्ने चलान पुर्जीको अनुमति लिएका छौं।'
व्यवसायीहरू विमल रिजाल र संजात धितालले सय/सय लिटर र बिनिल केसी र अनुप श्रेष्ठले ५०/५० लिटर डिजेल सहयोग गरेको पवनले जानकारी दिए। यसबाहेक चुनढुंगा बोकेर तुलसीपुरबाट घोराही गएकामध्ये सोना सिमेन्ट र सगरमाथा सिमेन्टका टिपरलाई फर्किँदा निःशुल्क बालुवा-गिटी ओसार्न लगाएका छन्।
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीका अनुसार डिजेल बैंक पनि स्थापना गरिएको छ। शुक्रबार मात्रै उक्त बैंकमा साढे चार सय लिटर डिजेल संकलन भयो। सडक निर्माण जिम्मा लिएर अलपत्र पारेका निर्माण कम्पनी र राज्यलाई दबाब सिर्जना गर्न आपसमा सल्लाह गरी अभियान चलाएको उनले बताए।
'चारलेन सडक पूरै बनाउन नसके पनि सर्वसाधारणको यात्रा सहज बनाउन र दुर्घटना जोखिम कम होस् भनेर काम सुरू गरेका हौं,' उनले भने।
वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले इञ्जिनियर पवन योगीको अभियान मनपरेर साथ दिएको बताए। आफ्नो जिम्मेवारी समयमै पूरा नगर्ने निर्माण व्यवसायी र मुकदर्शक सरकारका लागि यो अभियान एउटा खबरदारी भएको पनि उनले बताए।
तुलसीपुरको हात्तिखौवादेखि सुरू भएको यो अभियान तुलसीपुर–घोराहीको सीमाना मज्गैंसम्म जारी रहने छ। सबै लागत खर्च र कसले कति योगदान गरे भन्ने विस्तृत विवरण काम पूरा भएपछि सार्वजनिक गर्ने इञ्जिनियर पवनले बताए।
यसअघि दसैंतिहार नजिँकिदै गर्दा जिल्ला समन्वय समितिको ताकेतापछि निर्माण कम्पनीले खाडलहरू पुरेको थियो। तर असोजको वर्षाका कारण काम नलाग्ने भएको हो। हात्तीखौवा चोकदेखि घोराहीको कुइरेपानीसम्म २८.१९ किलोमिटर सडक बनाउने जिम्मा भारतको मुम्बईस्थित तथ्य इञ्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको छ। कतै चारलेन त कतै दुईलेन बनाउने सम्झौता छ।
तथ्यले पेटी ठेकेदारमार्फत काम गर्दै आएको छ। पछिल्लो समय भने काम ठप्प छ। यो बीचमा ६ जना पेटी ठेकेदार फेरिए। यही माघदेखि भैरहवाका निर्माण व्यवसायी सुनिलजंग रायमाझी आएका छन्। भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल उनकै कम्पनीले बनाएको हो।
सन् २०१९ जनवरी २८ मा सम्झौता हुँदा ३३ महिनामा काम सक्ने भनिएको थियो। तर हालसम्म भौतिक प्रगतिको काम दस प्रतिशत पनि हुन सकेको छैन।