चाडपर्व नजिकिएसँगै मानिसको ओहोरदोहोर बढ्छ। यो समयमा निजी सवारी साधन खरिद गर्न चाहनेहरूको जमात पनि बढ्छ। त्यसमध्ये पनि निजी दुई पांग्रेमा ग्राहकहरू आकर्षित देखिन्छन्।
अहिले बजारमा मोटरसाइकलको तुलनामा स्कुटरको माग बढ्दो रहेको सवारी बिक्रेताहरू समेत बताउँछन्। मोटरसाइकलको तुलनामा स्कुटर चलाउन सजिलो हुने भएकाले पनि मानिसहरू स्कुटरमा आकर्षित भएको अनुमान लगाउन सकिन्छ।
हाल बजारमा विभिन्न ब्रान्डको फरक-फरक मोडलका स्कुटरहरू पाइन्छ। तीमध्ये पनि उत्कृष्ट माइलेज दिने पाँच स्कुटरको सूची तयार पारेका छौं। यी हुन् सबैभन्दा धेरै माइलेज दिने पाँच स्कुटरः
१. यामाहा रेजेडआर १२५ (प्रतिलिटर ५८ किलोमिटर)
यामाहाको रेजेडआर १२५ एफआई विशेष फ्युल इफिसिएन्सीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो। त्यसैले यसले अन्य मोडलको तुलनामा बढी माइलेज दिने पक्का छ। कम्पनीले दाबी गरेअनुसार यो स्कुटरले प्रतिलिटर ५८ किलोमिटरसम्मको माइलेज दिन्छ। स्कुटरमा ५.२ लिटरको इन्धन क्षमता दिइएको छ।
१२५ सिसी क्षमता भएको रेजेडआर कच्ची बाटोको लागि पनि उपयुक्त स्कुटर हो। यसले ६,५०० आरपिएममा ६.० किलोवाट पावर र ५,००० आरपिएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ।
कम्पनीले यामाहा रेजेडआर-१२५ को ड्रम भर्सनको बजार मूल्य दुई लाख ६४ हजार ९ सय रूपैयाँ र डिस्क भर्सनको दुई लाख ८१ हजार ९ सय रूपैयाँ तोकेको छ।
यामाहाको फ्यासिनो १२५ एफआइले पनि प्रतिलिटर ५६ किलोमिटरसम्म माइलेज दिन्छ। कम्पनीले यसको मूल्य भने दुई लाख ६७ हजार ९ सय रूपैयाँ तोकेको छ।
२. सुजुकी एक्सेस १२५ एफआई (प्रतिलिटर ६४ किलोमिटर)
सुजुकी एक्सेस १२५ भारतीय बजारमा टप-३ मा रहन सफल स्कुटर हो। १२४ सिसी डिस्प्लेसमेन्ट भएको एक्सेस १२५ बिएस-६ मा ४ स्ट्रोक, सिंगल सिलिन्डर, एयर-कुल्ड इन्जिन जडान गरिएको छ। जसले ६,७५० आरपिएममा ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएम टर्क जेनेरेट गर्छ।
स्कुटरमा भएको एफआई प्रविधिका कारण स्कुटरले प्रतिलिटर ६४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। कम्पनीले सुजुकी एक्सेस १२५ एफआईको बजार मूल्य दुई लाख ६५ हजार ९ सय रूपैयाँबाट सुरू गरेको छ।
सुजुकीको हालै सार्वजनिक एभिनिस १२५ ले पनि राम्रो माइलेज दिन्छ। कम्पनीले दाबी गरेअनुसार यो स्कुटरले प्रतिलिटर ५५ किलोमिटरसम्मको माइलेज दिन्छ। यसको मूल्य भने दुई लाख ९९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
३. होन्डा ग्राजिया १२५ (प्रतिलिटर ६० किलोमिटर)
होन्डा ग्राजियाले प्रति लिटर ६० किलोमिटरसम्मको माइलेज दिन्छ। यसको फ्युल क्षमता ५.३ लिटरको छ।
ग्राजियाले ६,५०० आरपिएममा ८.५२ बिएचपी पावर र ५,००० आरपिएममा १०.५४ टर्क जेनेरट गर्छ। ४ स्ट्रोक एसआई इन्जिन भएको यसमा फ्यान-कुल्ड सिस्टम छ।
यसमा १७१ एमएमको ग्राउन्ड क्लेरेन्स छ। त्यसैले कच्ची बाटोमा पनि स्कुटर सहजै चलाउन सकिन्छ। कम्पनीले ग्राजिया १२५ को सुरूआती बजार मूल्य २ लाख ३७ हजार ९ सय तोकेको छ।
होन्डाकै एभियटरले पनि प्रतिलिटर ६० किलोमिटरसम्मको माइलेज दिन्छ। होन्डा डियोले भने प्रतिलिटर ५५ किलोमिटर माइलेज दिने कम्पनीको भनाइ छ।
४. टिभिएस एनटर्क आरटिएफआई १२५ (प्रतिलिटर ५३.४ किलोमिटर)
टिभिएस एनटर्क आरटिएफआईमा बिएस ६ कम्प्लायन्ट, १२४.८ सिसी सिंगल-सिलिन्डर इन्जिन प्रयोग भएको छ। जसले ७,००० आरपिएममा ९.१ पिएस पावर र ५,५०० आरपिएममा १०.५ एनएमको टर्क जेनेरेट गर्छ। यसमा फ्युल इन्जेक्सन प्रविधि प्रयोग भएको छ।
कम्पनीले दाबी गरेअनुसार यो स्कुटरले प्रतिलिटर ५३.४ किलोमिटर माइलेज दिन्छ। कम्पनीले टिभिएस एनटर्क आरटिएफआई १२५ को सुरुआती बजार मूल्य दुई लाख ९५ हजार ९ सय रूपैयाँ तोकेको छ।
५. अप्रिलिया एसएक्सआर १६० (प्रतिलिटर ४८ किलोमिटर)
अप्रिलिया एसएक्सआर १६० ले प्रति लिटर ४८ किलोमिटरसम्मको माइलेज दिन्छ। यसको फ्युल ट्याक क्षमता ७ लिटरको छ। यो भनेको अन्य स्कुटरको तुलनामा बढी हो।
एसएक्सआर १६० म्याक्सी–स्कुटर भएता पनि यसको बाहिरी आवरण कुनै स्पोर्ट स्कुटरभन्दा कम छैन। यो १६०.०३ सिसी बिएस- ६ इन्जिनबाट चल्छ भने १०.८४ बिएचपी पावर र ११.६ एनएमको टर्क जेनेरेट गर्छ।
कम्पनीले अप्रिलिया एसएक्सआर १६० को सुरुआती बजार मूल्य चार लाख ५४ हजार चार सय रूपैयाँ तोकेको छ।
यीबाहेक हिरोको माएस्ट्रोले पनि प्रतिलिटर ५३ किलोमिटरसम्मको माइलेज दिने बताइएको छ। बेनेलीको प्रिमियम स्कुटर पानारिया–१२५ ले पनि प्रतिलिटर ५० किलोमिटरसम्मको माइलेज दिने कम्पनीले दाबी गरेको छ।
कुनै पनि सवारी साधनले कति माइलेज दिन्छ भन्ने चालकको चलाइमा पनि भर पर्ने कुरा हो। उबडखाबड बाटोमा इन्धनको बढी खपत हुन्छ।
त्यस्तै, सवारी साधनलाई समय-समयमा राम्रोसँग सर्भिसिङ गराउनु पर्छ। सर्भिसिङ समय गुणस्तरीय मोबिलको प्रयोग उत्तिकै आवश्यक हुन्छ।