नेपाली बजारमा विद्युतीय सवारी साधनको माग बढ्दो छ।
विद्युतीय सवारी साधन समितिका सभापति राजन बाबु श्रेष्ठका अनुसार यतिबेला ग्राहकहरू विद्युतीय सवारी साधनप्रति आकर्षित हुँदैछन्। राजन बाबु नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालका उपाध्यक्ष समेत हुन्।
उनका अनुसार केही समय अघिसम्म विद्युतीय सवारी साधनप्रति ग्राहकहरूको जिज्ञासा धेरै हुन्थ्यो। जस्तै, विद्युतीय साधनले उकालोमा समस्या पार्ने हो कि, पानी पर्दा चलाउन नमिल्ने पो हो कि, माइलेज कस्तो दिन्छ होला लगायत। अहिले भने धेरैले विद्युतीय सवारीको अवधारणा र फाइदाबारे जानकार भइसकेका छन्।
हाल नेपालमा ९ वटा ब्रान्डले चार पांग्रे र करिब दुई दर्जन ब्रान्डले दुई पांग्रे विद्युतीय सवारी साधन बजार पुर्याइरहेको विद्युतीय सवारी साधन समूहका सभापति राजन बाबुले बताए।
‘तर दर्ता नभई सवारी भित्र्याउने कम्पनीहरू पनि होलान्। अहिलेसम्म नाडामा दर्ता भएको संख्या भने यत्ति मात्रै हो,’ उनले भने।
नाडाका अध्यक्ष ध्रुव बहादुर थापा पनि नेपालमा विद्युतीय सवारी साधनबारे चासो बढेको बताउँछन्। उनले हाल बजारमा आयात भइरहेको सवारीमध्ये १० प्रतिशत विद्युतीय सवारी साधन रहेको बताए। अबको पाँच वर्षमा यो वृद्धिदर बढेर ५० प्रतिशत हुने उनी अनुमान लगाउँछन्।
नेपाली बजारमा यतिबेला टाटा मोटर्सको विद्युतीय नेक्सन र विद्युतीय टिगोर निकै रुचाइएको छ। त्यस्तै हुन्डाई, बिवाईडी, नेटा, एमजी, किया, टेस्ला, चंगान, ट्रियो लगायत कम्पनीले पनि चार पांग्रे विद्युतीय सवारी भित्र्याइरहेको छ।
विभिन्न ब्रान्डमध्ये यी हुन् बजारमा लोकप्रिय ब्रान्ड र मोडलका विद्युतीय चार पांग्रेः
१. टाटा मोटर्स (नेक्सन इभी र टिगोर इभी)
जिपट्रोन प्रविधिमा आधारित नेक्सन इभीमा आइपी-६७ सर्टिफाइड लिक्विड कुल्ड ब्याट्री प्याक र मोटर छ। यसले अधिकतम १२९ पिएस पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ। टाटा नेक्सन तीनवटा मोडेल एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स उपलब्ध छ। कम्पनीले यसको सुरुआती बजार मूल्य ३७ लाख ९९ हजार रूपैयाँ तोकेको छ।
टिगोर इभी जिपट्रोन प्रविधिमा आधारित छ। जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च उर्जा घनत्व, ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ। गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। टिगोर इभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार पाएको छ। कम्पनीले नेपाली बजारमा टिगोर इभीको मूल्य २९ लाख ९९ हजार रूपैयाँ तोकेको छ।
२. हुन्डाई (कोना इभी र आयोनिक-५)
हुन्डाईको विद्युतीय कोना २०७५ मै बजार भित्रिएको हो। यसको प्रदर्शनी ग्राहकहरूले रुचाएका छन्। यसमा पर्मानेन्ट-म्यागनेट सिंक्रोनोस मोटर (पिएमएसएम) प्रविधिमा आधारित इन्जिन छ। यसमा ३९.२ किलोवाटको लिथियम-आयन पोलिबर ब्याट्री दिइएको छ जसले अधिकतम ३९५ एनएम टर्क र १०० किलोवाट पावर जेनेरेट गर्छ। एक पटक पूरा चार्जमा ३०५ किलोमिटरसम्मको माइलेज दिन्छ। कम्पनीले कोना इभीको सुरूआती बजार मूल्य ६० लाख ५६ हजार रूपैयँ तोकेको छ। भेरियन्ट अनुसार मूल्यमा भिन्नता हुन्छ।
त्यस्तै हुन्डाईले गत वर्ष फागुनमा नयाँ विद्युतीय गाडी आयोनिक-५ सार्वजनिक गरेको हो। यसले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड-२०२१’ समेत पाएको छ। आयोनिक-५ इलेक्ट्रिक ग्लोबल मोडुलर प्लेटफर्ममा तयार पारिएको गाडी हो। यो ५८ र ७२.६ किलोवाट आवर गरी दुई ब्याट्री प्याक विकल्पमा उपलब्ध हुन्छ। यसले एक पटकको पूरा चार्जमा ४८१ किलोमिटर माइलेज दिन्छ। कम्पनीले आयोनिक-५ को बजार मूल्य एक करोड १६ लाख ९६ हजार रूपैयाँ तोकेको छ।
३. बिवाइडी (एम-३ र ई-६)
बिवाइडीले नेपाली बजारमा दुई मोडलको विद्युतीय गाडी बिक्री गर्दैछ। कम्पनीले ई-६ र एम-३ बिक्री गरिरहेको हो। यसबाहेक छिट्टै अटो-३ र टी-३ सार्वजनिक गर्ने तयारीमा कम्पनी छ। बिवाइडीको आधिकारिक वितरक सिनेम्याक्स इंक हो।
बिवाइडी एम-३ मा ४४.९ किलोवाटको लिथियन आयोन ब्याट्री दिइएको छ। जसले १०० किलोवाट पावर र १८० एनएम टर्क जेनेरेट गर्छ। यसले एक पटकको पूरा चार्जमा ३०० किलोमिटरसम्मको माइलेज दिन्छ।
त्यस्तै ई-६ मा ७१.७ किलोवाटको लिथियम आयन ब्याट्री प्याक छ। यसले एक पटकको पूरा चार्जमा ५२२ किलोमिटर माइलेज दिन्छ। गाडी जम्मा ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ।
कम्पनीले एम-३ को सुरुवाती बजार मूल्य ४५ लाख ५२ हजार रूपैयाँ र अल-न्यू ई-६ को ५९ लाख रूपैयाँ तोकेको छ।
४.नेटा (नेटा-भी)
चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले गत जेठमा मात्रै नेटा-भी विद्युतीय गाडी सार्वजनिक गरेको छ। गाडी दुई मोटर र ब्याट्री प्याक विकल्पमा उपलब्ध छ।
४० किलोवाटको मोटर जडित मोडलमा ३१.१८ किलोवाटको ब्याट्री प्याक दिइएको छ। त्यस्तै ३८.५४ किलोवाट ब्याट्री प्याक भएको लङ-रेन्ज मोडलमा ५५ किलोवाटको मोटर दिइएको छ। गाडीले पूरा चार्जमा ४०१ किलोमिटर रेन्ज प्रदान गर्छ।
कम्पनीले नेटा-भीको सुरुआती बजार मूल्य ३७ लाख ९९ हजार रूपैयाँ तोकेको छ।
यीबाहेक अन्य थुप्रै कम्पनीहरूले विभिन्न मोडलको विद्युतीय गाडी बिक्री गर्दैछ। ग्राहकहरूले आफूलाई उपयुक्त लागेको ब्रान्ड र त्यसको मोडल खरिद गर्न सक्छन्। कम्पनीको आधिकारिक वेबसाइट वा सार्वजनिक उपलब्ध गराइएको कम्पनीको सम्पर्क नम्बरबाट पनि जानकारी लिन सकिन्छ।
यस्तैमा नाडाले विद्युतीय सवारी साधन प्रबर्द्धनका लागि आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म 'नाडा इभी एक्स्पो २०२२' पनि आयोजना गर्दैछ।
एक्स्पोमा सातवटा ब्रान्डका विद्युतीय चार पांग्रे, एउटा तीन पांग्रे र १६ वटा ब्रान्डका विद्युतीय दुई पांग्रेसहित ५१ वटा स्टल हुनेछन्। एक्स्पो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा हुनेछ। ग्राहकले एक्स्पोमा गएर विद्युतीय विभिन्न ब्रान्ड र तिनको मोडलहरूबारे आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्।
सरकारले गत वैशाख मध्यदेखि जिप, कार र भ्यान आयातमा लगाएको प्रतिबन्धका कारण यतिबेला गाडी बिक्रेता कम्पनीहरूसँग गाडीको स्टक र नयाँ मोडलका गाडीहरूको कमि छ। त्यसैले पनि एक्स्पोमा एमजी र किया जस्ता ब्रान्ड जुन बजारमा लोकप्रिय छन्, यिनीहरूको सहभागिता नहुने नाडाका अध्यक्ष ध्रुव बहादुरको भनाइ छ।
इभी एक्स्पोमा आगन्तुकहरूले विद्युतीय गाडीबारे थप स्पष्ट रूपमा बुझ्न सक्ने र जानकारी प्राप्त गर्न सक्ने विश्वास नाडाले लिएको छ।