बाबा गोकर्णेश्वर यातायात प्रालिले १० वटा नयाँ ठूला बस सञ्चालनमा ल्याएको छ।
यी गाडीहरू माकलबारी–बौद्ध– जोरपाटी– चाबहिल–गौशाला – पुरानो बानेश्वर– मैतीदेवी– पुतलीसडक– बागबजार– रत्नपार्क शहिदगेट– त्रिपुरेश्वर–कालिमाटी हुँदै कलंकी पुग्ने र सोही रुट फिर्ता हुने यातायातका सचिव रोशन बाबु श्रेष्ठले जानकारी दिए।
‘यो रुटमा यात्रुको गुनासो बढेपछि हामीले सेवा विस्तार गरेका हौँ, आवश्यकता अनुसार अरु सेवा बढाउँछौं’ उनले भने।
४१ सिटको क्षमताका यी बसमा आरामदायी सिट, सिसी टिभी, जिपिएस सिस्टम, उभिएर यात्रा गर्नेको लागि फराकिलो ठाउँको सुविधा छ। उभिनेका लागि समाउन ह्याङ्गर समेत राख्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए।
टाटा कम्पनीको यो बसको मूल्य एउटाको करिब ४२ लाख रुपैयाँको हाराहारी रहेको उनले बताए।
करिब डेढ वर्षदेखि सञ्चालनमा आएको बाबा गोकर्णेश्वर यातायातले बिहान ५ बजेदेखि बेलुका ९ बनेसम्म सेवा दिइरहेको छ।
कम्पनीले अब २ महिनाभित्रै ३० वटा बस ल्याउन लागेको जनाएको छ।
‘हामीले कम्पनीमा अर्डर दिइसकेका छौं। ती गाडी आएपछि साँखुदेखि दक्षिणकालीसम्म सेवा दिन्छौँ’ उनले भने।
यी कम्पनीका बस चल्ने रुटको बाटो निकै जीर्ण भएकोले अपाङ्ग तथा वृद्ध–वृद्धामैत्री सेमी लो फ्लोर गाडी ल्याउन नसकिएको श्रेष्ठले स्पस्ट पारे।
बाबा गोकर्णेश्वर यातायातको यसअघि ३७ वटा गाडी सञ्चालनमा थिए। २६ देखि ३२ सिट क्षमतासम्मका यी गाडीहरू माकलबारी– जोरपाटी– बौद्ध– चाबहिल– बालाजु हुँदै चक्रपथ परिक्रमा गरेर सोही रुट हुँदै माकलबारी फर्कने गर्थे।