यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रूटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारदेखि काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा सञ्चालनमा आएको छ।
‛हामी सबैको यातायात’ ले बस सेवा सञ्चालनमा ल्याएको हो ।
सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोदलगायतले संयुक्त रूपमा बस सेवाको उद्घघाटन गरेका थिए ।
२७ सिटको टाटा कम्पनीको १३ वटा बसले सोमबारदेखि पाटीचौर, धाराचौर, शंखादेवी, विष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्ज हुँदै बुढानिलकण्ठसम्म र फर्केर इमाडोलबाट आइ टिकाथली, चाङ्गथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कने गरी दायाँ र बाँया दुईतर्फी सवारी सञ्चालनमा ल्याएका छन्।
मनोरम प्राकृतिक सुन्दरताले भरिएको ललितपुरको पर्यटकीय क्षेत्र शंखादेवी र लामाटार क्षेत्रलाई धार्मिक पर्यटकीय स्थान काठमाडौंको बुढानिलकण्ठसँग बस सेवामार्फत् सिधा जोडेको छ । यसबाट आन्तरिक पर्यटनमा समेत टेवा पुग्नेछ ।
बस सेवाको सुरूमै उत्साह देखिएको छ । अबको दुई महिनाभित्र ३६ वटा बस सञ्चालनमा आउने हामी सबैको यातायात कम्पनीका अध्यक्ष मोहन सापकोटाले बताए ।
बस सेवा सञ्चालनमा आएपछि स्थानीयवासीमा उत्साह छाएको छ । बस सेवा उद्घाटनमा महिला, वृद्धवृद्धाको समेत उल्लेख्य उपस्थिति थियो ।
उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले यातायात सेवाको विकासका लागि आवश्यक सडक निर्माणमा आफू कटिबद्ध भएर लागेको बताए । उनले नगरपालिकालाई अन्य नगरपालिकाहरूसँग जोड्ने गरी यातायात सञ्चालनमा ल्याउन चाहनेलाई प्रोत्साहित गरिने बताए । बस सेवालाई अझ प्रभावकारी बनाउन सबैले आ आफ्नो क्षेत्रबाट सहयोगी भूमिका निभाउनुपर्ने बताए ।