नयाँ सवारी साधन सार्वजनिक गर्दा होस् वा बिज्ञापनमा, गाडीसँगै मोडल हुन्छन्। विश्वका सबैजसो मुलुकमा सवारीसाधनको प्रचार तरिका यही हो। सवारीबाहेक अन्य उत्पादन सार्वजनिक गर्दा पनि मोडल राखिन्छ।
कुनै उत्पादनको सफलता या बजार त्यसको ग्ल्यामरसँग जोडिएको हुन्छ। र, ग्ल्यामर कुनै न कुनै रूपमा सुन्दर मोडलसँग जोडिने मान्यता चल्दै आएको छ। विशेषगरी महिला मोडल।
गत वर्षसम्म जेनेभा मोटर शोमा पनि यही चलन थियो। आकर्षक गाडीका साथमा आकर्षक मोडल प्रस्तुत गर्दै कम्पनीले आगन्तुकको ध्यान तान्ने प्रयास गर्थे। धेरै रकम तिरेर वर्षौंदेखि कम्पनीहरूले आफ्ना गाडीछेउ विशेषगरी महिला मोडल उभ्याउँदै आएका थिए। ती मोडलको काम मुस्कुराएर गाडीसँगै फोटा खिच्न पोज दिनु हुन्थ्यो। अग्ला जुत्ता र छोटा लुगामा उनीहरूलाई सकेसम्म आकर्षक देखाउने प्रयास गरिन्थ्यो।
तर यो वर्षको जेनेभा मोटर शोमा यस्ता मोडल देखिएनन्। अबका दिनमा पनि देखिने सम्भावना कम छ।
गाडीसँग कहिल्यै नछुट्ने ती मोडल आखिर किन एकाएक देखिन छाडे?
यसको कारण हो, ‘#मि टु’ युग।
महिलामाथिको विभेदविरुद्ध गत वर्षदेखि सुरु ‘मि टु’ (म पनि) अभियानको प्रभाव स्वरुप गाडीसँग महिला मोडल सजाएर राख्ने चलन हटाइँदै गएको हो।
यसको साटो कम्पनीहरूले बरू नयाँ–नयाँ उपाय लगाउन थालेका छन्।
कस्टम कार र पाटपूर्जा बिक्री गर्ने कम्पनी एबिटीले सन् २०१६ को जेनेभा मोटर शोमा महिला मोडललाई राखेकोमा यो वर्ष राखेन। दर्शक आकर्षण गर्न उसले यो वर्ष ‘कफि बार’ राखेको थियो।
‘यो निकै सिर्जनात्मक छ। हामी यहाँ आउने र हेर्ने मान्छेसँग कफि पिउँदै कुराकानी गर्न सक्छौं,’ एबिटीका प्रवक्ता एन्ड्रियास हेम्पफ्लिङले भनेका छन्।
त्यस्तै ठूला कम्पनीहरू बिएमडब्लु, निसान, टोयोटा, कियाले पनि यो वर्ष मोडल नराख्ने बताएका छन्। फक्सवागनले पनि मोडल नराख्ने बताएको थियो। तर, यसैअन्तर्गतको स्कोडाले भने महिला र पुरुष मोडल राखेको थियो। यसबारे स्कोडाले कुनै प्रतिक्रिया भने दिन मानेन।
[caption id="attachment_159033" align="alignnone" width="780"]
एबिटीको स्टल (२०१६) र यो वर्ष (दाँया)। तस्बिरः सिएनएन[/caption]
तर विस्तारै अटोमोबाइल उद्योगमा मोडल राख्ने चलन हट्दै गएको छ। यसै वर्ष फर्मुला वनले पनि आफूले अब यस्ता मोडल नराख्ने घोषणा गरेको छ।
‘यसरी महिला मोडललाई अगाडि राखेर गाडी प्रचार गर्नु भनेको महिलालाई नै प्रचार गर्नु जस्तो हो,’ अटोटोर्क कम्पनीका प्रवन्ध निर्देशक पल गोर्डनले भनेका छन्, ‘प्रचारप्रसारको हाम्रो दृष्टिकोण र तरिका बदल्नुपर्छ। मोडल राख्ने चलन पुरानो हो। यसले व्यापार बढाउनुका साटो ओरालो लाग्छ।’
धेरै जसो कम्पनीले यस्ता शोमा गाडीबारे जानकारी दिन तालिमप्राप्त प्रतिनिधि राख्न थालेका छन्। उनीहरूले सम्बन्धित गाडीका सबै सेवा-सुविधाबारे बताउन सक्छन्। यस्ता प्रतिनिधि पनि विशेष गरी ‘फर्मल’ लुगा लगाएका पुरुष हुन्छन्।
बिक्री र जानकारी दिने व्यक्तिले शरीर धेरै देखिने लुगा लगाएर बस्नु नपर्ने कियाले बताएको छ।
अमेरिका तथा युरोपमा यो चलन फैलँदै जाँदा एसियामा भने अझै यो चलन हावी छ। जस्तै टोयोटाले यूरोपमा कुनै मोडल नराखी आफ्नो गाडी ‘लेक्सस’ प्रचार गर्ने भनेपनि एसियामा यो नहुन सक्छ। ठाउँ अनुसार प्रचारशैली अलग हुने उसको भनाइ छ।
मोडल नराख्ने चलन गलत प्रचारशैलीका कारण आलोचित बनेको राय पनि आइरहेका छन्।
‘कसैलाई त्यहाँ जबरजस्ती राखिएको हुँदैन। मोडलहरुको आफ्नै रोजाइ हो। यसबारे सकारात्मक सचेतना नभएकाले गलत सन्देश गइरहेको छ,’ शोहरूमा मोडल उपलब्ध गराउँदै आएको कम्पनी स्न्यापसट स्टाफिङका फाउन्डर बेन्जामिन ग्लिनको भनाइ छ। उनका अनुसार मोडलहरूलाई शोमा के लगाउने भनेर सुरुमै तस्बिर देखाइएको हुन्छ। तस्बिर हेरेर उनीहरूले निर्णय गर्न सक्नेछन्।
थोरै आलोचित र धेरै सरहाना पाइरहेको यो चलन पूर्णरूपमा हट्छ वा फेरि निरन्तरता पाउँछ, त्यो हेर्न बाँकी नै छ।