खुल्ला रुट परमिटविरुद्ध लड्ने यातायात व्यवसायीको घोषणा


यातायात व्यवस्थापन निर्देशिका अनुचित ढंगले संशोधन गरिएको भन्दै राष्ट्रिय यातायात व्यवसायी महासंघले विरोध जनाएको छ।

यातायात व्यवस्था विभागले गरेको निर्देशिका संशोधनको सम्वन्धमा छलफल गर्न महासंघको सोमबार केन्द्रीय परिषद बैठक बसेको हो।बैठकबाट देशभर विरोधको माहोल बनाउनेगरी अघि बढ्ने महासंघले घोषणा गरेको छ।

यातायात व्यवस्था विभागले सरोकारवालासँग कुनै संवाद नै नगरी एकपक्षीय रुपमा यातायात व्यवस्थापन कार्यविधि संशोधन गर्नु अनुचित भएको राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए।

‘महासंघले सबै व्यवसायीहरुको प्रतिकृया लिएपछि मात्रै विरोधका कडा कदमहरु चाल्ने छ’ कर्माचार्यले भने।  व्यवसायीले निर्देशिका संशोधन भएका कुरा मिडियाबाट थाहा पाउनु अनुचित भएको उनले बताए।

बैठकमा बोल्ने अधिकांश वक्ताले सरकारको निर्णय एकपक्षीय भएको भन्दै अन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्।

मयुर यातायातले चैत १ देखि ४२ सिट क्षमतासम्मका २४ वटा गाडी सञ्चालनमा ल्याएपछि यातायात व्यवसायीहरु आक्रोशित बन्दै आएका थिए।

व्यवसायीले गत १८ गते मयुर यातायातको विरोध गर्दै सो रुटमा चक्काजाम गरेपछि यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेको थियो। सवारी साधनमा रुट, नवीकरण र हेरफेर गर्दा अनिवार्य पञ्जीकरण गर्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ।

कुनै पनि रुट परमिट प्राप्त गर्न सम्बन्धित राजमार्गका यातायात समितिबाट स्वीकृति लिनु पर्ने वाध्यता विभागले हटाएको छ।

जुन व्यवस्थाले मुलुकभर रुट परमिट लिन चाहने व्यवसायीको लागि बाटो खुलेको छ। यसबाट व्यवसायीको सिन्डिकेट हट्ने विभागको भनाइ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.