बागलुङबाट २० प्रजातिका जडीबुटी निर्यात


गत आर्थिक वर्ष २०७३/०७४ मा बागलुङ जिल्लाबाट बीस प्रजातिका जडीबुटी निर्यात भएको छ। साधारण च्याउ, वन लसुन, सतुवा, चिराइतो, नागबेली, पाखनवेद, अतिस, खोटो लगायत निर्यात भएको जिल्ला बन कार्यालय बागलुङले जनाएको छ।  कार्यालयका अनुसार २५ हजार ४ सय ९० किलो निकासी जडीबुटीबाट २ लाख ७५ हजार ७ सय २५ राजश्व उठेको छ।

जडीबुटीसँगै ६७ हजार ३९० किलो सल्लाको खोटो निर्यात भएको सहायक वन अधिकृत रामबहादुर बिकले जानकारी दिए। ‘यहाँको जङ्गलमा जडीबुटी प्रशस्त छ, अनुसन्धान, पहिचान र सङ्कलन हुन सकेको छैन’ अधिकृत विकले भने।

उपयुक्त सीप, उपकरण र प्रशोधन केन्द्रको अभावमा जडीबुटीको बजारीकरण हुन सकेको छैन । पछिल्लो आवमा भने अघिल्लोको तुलनामा झण्डै दोब्बरले बढी जडीबुटी निर्यात तथा राजश्व संकलन भएको छ।

जिल्लाका ७ वटा सामुदायिक वनमा भएको खोटो संकलनबाट वन उपभोक्ता समूहले आठ लाख ९० हजार आम्दानी गरेका छन्। खोटो सङ्लन र निर्यातबापत एक लाख २७ हजार मुल्य अभिवृद्धिकर राज्य कोषमा जम्मा भएको छ। यस्तै, जिल्ला समन्वय समिति (तत्कालिन जिविस) करबापत ३६ हजार प्राप्त भएको छ।

जिविसले खोटोमा प्रतिकिलो ५० पैसाका दरले कर लगाउने गरेको थियो। खोटो निर्यातका लागि रुपन्देहीको माउन्ट रोजिन, कपिलवस्तुको कपिलवस्तु रोजिन र सुनसरीको हिमाली रोजिन एण्ड टर्पेण्टाइन कम्पनीसँग सम्झौता गरिएको अधिकृत विकले बताए।  ति कम्पनीले आव २०६७÷०६८ देखि जिल्लामा खोटो संकलन गर्दै आएका छन् । जिल्लामा ९० प्रजातिका जडीबुटी तथा ग्रैहकाष्ठ वन पैदावर सूचीकृत छन् ।

संकलन र प्रशोधन अभावमा बहुमुल्य जडीबुटी त्यसै खेर गइरहेका छन्। आव २०७२÷०७३ मा बाह्र प्रजातिका ११ हजार ८७९ किलो जडीबुटी निर्यातबाट जम्मा एक लाख २८ हजार राजश्वय संकलन भएको थियो । इजाजत पत्र लिएपछि जिल्ला वन कार्यालयले सङ्कलनका लागि एक महिनाको अवधि दिने गरेको छ । जडीबुटी खेती कार्यक्रम अन्र्तगत जिल्ला वन कार्यालयले टिमुर, सुगन्धवाल, अमृसो, लौठसल्ला रोपण गर्दै आएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.