बारीमै कुहियो बन्दागोभी, प्रतिकेजी मूल्य तीन रुपैयाँ

बारीमै कुहियो बन्दागोभी, प्रतिकेजी मूल्य तीन रुपैयाँ


किसानले लगाएको बन्दागोभी बारीमै कुहिन थालेको छ।

गाँठे रोगको संक्रमणका कारण बन्दागोभी बारीमै कुहिन थालेको हो। बारीबाट टिपेर बिक्रीका लागि पठाएको बन्दागोभी समेत बाटोमै कुहिएपछि व्यापारीले किसानबाट खरिद गर्न छाडेका छन्। बन्दागोभी बारीमै कुहिन थालेपछि किसान चिन्तामा परेका छन्।

सिधुवा कृषि भण्डारका बजार प्रमुख मेघेन्द्र गुरुङका अनुसार एक सातायता करिब १५ करोड बराबरको बन्दागोभी कुहिएको छ। “बन्दागोभीमा रोगको संक्रमण छ, टिपेर बेच्न लैजाँदा पनि गाडीमै कुहिन थालेको छ,” उनले भने। तीन वर्षअघि समेत यस क्षेत्रमा बन्दागोभीमा गाँठे रोगको प्रकोप देखिएको थियो। त्यतिबेला नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानको बारीमै आएर रोगबारे अनुसन्धान गरेको थियो।

दुई वर्षपछि सो रोग पुनः देखा परेको छथर गाउँपालिका–१, आङ्दिमका कृषक टीका लिम्बू बताउँछन्। शुरुमा बन्दागोभीमा मात्रै देखिएको सो रोग अहिले अन्य बालीमा समेत फैलिएको छ । काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायतमा गाँठे रोग फैलिएको छ।

“बजार पठाउने बेलामा रोगले आक्रमण गरेपछि तरकारी बारीमै कुहिन थालेको छ,” उनले भने। बारीमै बन्दागोभी कुहिएपछि पाँच लाख बराबरको घाटा भएको लिम्बुको भनाइ छ । छथर गाउँपालिका र लालीगुराँस नगरपालिकाका विभिन्न ठाउँमा सो रोग देखापरेको छ। बन्दागोभीकै आम्दानीबाट यहाँका किसानको घरखर्च जुटाउँछन्। अरु अन्नबालीको खेती छाडेर उनीहरुले बन्दागोभीको व्यावसायिक खेती गर्दैआएका छन्।

लालीगुराँस नगरपालिका चित्रेका किसान जगत काफ्ले विगतमा प्रतिकिलो १० देखि ३५ सम्ममा कारोबार भएको बन्दागोभी यस वर्ष तीनमा बिक्री भइरहेको बताउँछन्। उचित मूल्य नपाउँदा किसानले करोडौँ रुपैयाँको घाटा बेहोरेका छन् । बन्दागोभी मात्रै लगाएका किसानलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । बारीमा बन्दागोभी रोप्दा बीउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदारलगायत गर्दा दुई लाख ५० हजारभन्दा बढी खर्च भएको काफ्लेको भनाइ छ।

काफ्लेले ३० रोपनी जग्गामा लगाएको १५ लाख बराबरको बन्दागोभी बारीमै कुहिएको छ । उनले गत वर्ष १४ लाखको बन्दागोभी बिक्री गरेका थिए। “बिक्री गर्ने बेलामा रोग लाग्दा नोक्सानी बेहोर्नु पर्यो,” उनले भने। यहाँका किसानले उत्पादन गरेको बन्दागोभी धनकुटाको सिधुवा हुँदै धरानको कृषिउपज बजारसम्म पुग्छ।

किसानबाट खरिद गरेको बन्दागोभी दुई दिनमै कुहिएर नष्ट हुन थालेपछि व्यापार ठप्प भएको धरानका व्यापारी शिवचन्द्र चौधरीले बताए। उनका अनुसार यस वर्ष तेह्रथुम र धनकुटाबाट खरिद गरेको बन्दागोभी धरान नपु¥याउँदै कुहिएको । “कुहिएकाले भारत निर्यात गर्न सकेका छैनौँ” उनले भने।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न सुझाव दिएको बताए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.