गत असार अन्त्यतिर प्रेमबहादुर चौधरी 'बसन्ते मकै' भित्र्याउन व्यस्त थिए। वर्षाले हैरान पारेकाले आकाश हेरेर कामको मौका छोप्नुपरेको थियो।
छोडाएको मकै पनि केही मात्रामा चिसो भएको थियो। उनी मकैको गुणस्तर बिग्रिने हो कि भन्ने चिन्तामा थिए। मकै निकालेर खाली भएको खेतमा धान रोप्न ढिलो हुन लागेको थियो।
दाङ, राप्ती गाउँपालिका–६, मझेरिया गाउँका प्रेम धान, मकै, गहुँ र राजमा सिमीको बिउ उत्पादन गर्ने किसान हुन्। १६ वर्षदेखि उनी यो काम गर्दै आएका छन्।
'दाङमा सबभन्दा बढी धानको बिउ उत्पादन गर्ने किसान मै हुँ,' प्रेमले दाबी गर्दै भने, 'धानपछि क्रमशः गहुँ, मकै र राजमाको बिउ उत्पादन गर्छु।'
उनले गत वर्ष धानको बिउ १५० क्विन्टल, गहुँको ७५ क्विन्टल, मकैको १५ क्विन्टल र राजमाको बिउ ६ क्विन्टल उत्पादन गरेका थिए। बिउ बेचेर १० लाख रूपैयाँ कमाएको उनले बताए।
प्रेम आफ्नै साढे तीन बिघा र भाडामा लिएको साढे तीन बिघा जग्गा गरी सात बिघामा बिउ उत्पादन गर्छन्। जमिनको भाडा प्रतिबिघा वार्षिक ३६ हजार रूपैयाँ तिर्छन्।
बिउ उत्पादक किसानले 'मूल (प्रजनन) बिउ' छनोटमा निकै ध्यान पुर्याउनुपर्छ। मूल बिउ गुणस्तरीय र शुद्ध हुनुपर्छ। यसका लागि बिउ सिफारिस गर्ने निकाय र ल्याउने ठाउँ विश्वसनीय हुनुपर्छ। प्रेम बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय र धनुषामा रहेको कृषि विकास निर्देशनालयले सिफारिस गरेको मूल बिउ ल्याउँछन्।
बिउ उत्पादनका लागि सिँचाइको राम्रो प्रबन्ध भएको जमिन चाहिन्छ। माटो तयारी, मल र विषादीको गुणस्तर र मात्रा, गोडमेलको मापदण्ड पुर्याउनुपर्छ। बिरूवा हुर्किँदै गएपछि कृषि प्राविधिकबाट निरीक्षण गराउनुपर्छ। बिउ निकाल्ने बेलासम्म कम्तीमा तीन पटक निरीक्षण गराउनुपर्छ।


'चाहिएको समयमा मूल बिउ पाउनु, सिँचाइ राम्रो हुनु र ठीक ठीक समयमा कृषि प्राविधिकहरू निरीक्षणमा आउनु बिउ उत्पादनका लागि निकै महत्त्वपूर्ण हुन्छ,' प्रेमले भने, 'मैले यी सबै पक्षमा ध्यान पुर्याएर काम गरेको छु।'
निरीक्षणमा बाँकेको निर्देशनालयका प्राविधिकहरू आउँछन्। खेतमा आउन नभ्याएको अवस्थामा नमूना मगाएर हेर्छन्। प्रेम आफै पनि बिउ उत्पादन भएपछि नमूना लिएर निर्देशनालय पुग्छन्।
राप्ती गाउँपालिकामा बिउ उत्पादक किसानहरूले आफ्नो समूह (समिति) बनाएका छन्।
बिउ पाकेर तयार भएपछि किसानहरू लमही नगरपालिका–२, केरूनियामा रहेको हरितक्रान्ति कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा पुर्याउँछन्। यो सहकारीले लमही र राप्तीका करिब ४० किसान परिवारले उत्पादन गरेको बिउ किन्दै आएको छ।
सामान्यतया सहकारीले किसानको समूहले सबै लागत हिसाब गरेर निर्धारण गरेको मूल्यमै किन्छ। यसरी किनेको बिउ भिन्न भिन्न परिमाणमा प्याकेजिङ गर्छ र बिक्री मूल्य निर्धारण गर्छ।
सहकारीका व्यवस्थापक दीपककुमार चौधरीका अनुसार संस्थाले किसानबाट वार्षिक सरदर साढे तीन करोड रूपैयाँको बिउ किन्छ।
पहिलो वर्ष सहकारीले २५ टन बिउ बेचेको थियो। हाल वार्षिक साढे चार सय टनसम्म बेच्छ। बिउको मुख्य बजार कैलाली, तनहुँ, नवलपरासी, प्यूठान, सल्यान लगायत जिल्ला हुन्।
यो सहकारी हाल अध्यक्ष रहेका काशीप्रसाद चौधरीको सक्रियतामा २०६७ सालमा खुलेको हो। उनी वडा सदस्य र बिउ उत्पादक किसान समेत हुन्।
'लमही र राप्तीमा पहिल्यैदेखि बिउ उत्पादन हुन्थ्यो। तर सहकारी खुलेर बिउ र मल उपलब्ध गराउन सहयोग गरेपछि धेरै किसान जोडिए,' काशीले भने, 'यसले किसान र सहकारी दुवैलाई फाइदा भयो।'

 हरितक्रान्ति कृषि सहकारीका व्यवस्थापक दीपककुमार चौधरी (बायाँ) र सहकारीका अध्यक्ष काशीप्रसाद चौधरी
हरितक्रान्ति कृषि सहकारीका व्यवस्थापक दीपककुमार चौधरी (बायाँ) र सहकारीका अध्यक्ष काशीप्रसाद चौधरी
 
हाल लमहीका पाँच र राप्तीका तीन वटा वडाका किसान बिउ उत्पादनमा लागेका छन्। खासगरी उन्नत जातका धान राम, हर्दिनाथ–४, हर्दिनाथ–५, हर्दिनाथ–६, राधा–४ लगायतको बिउ उत्पादन हुन्छ।
सहकारीले बिउ उत्पादनका लागि किसानलाई प्रोत्साहित गर्छ। उपयुक्त जग्गा भएका किसान छानेर बाँकेको निर्देशनालयले गरेको सिफारिसका आधारमा मूल बिउ उपलब्ध गराउँछ। निरीक्षणका लागि कृषि प्राविधिकहरूसँग समन्वय गर्छ। प्राविधिकले सहकारीको आफ्नै गोदाममा भएको भण्डारण पनि निरीक्षण गर्छन्।
निर्देशनालयले सबै बिउ नमूना परीक्षण गरेर बजार पठाउन उपयुक्त रहे–नरहेको ठहर गर्छ। उसको सिफारिस अनुसार मात्र सहकारीले बिउ प्याकेजिङ गरेर बजार पठाउँछ।
'बिउ उत्पादनको काम एकदमै संवेदनशील हुन्छ। बिउ गुणस्तरीय नभए धेरै किसान बर्बाद हुन्छन्,' दीपकले भने, 'हामी यो कुरा विचार गरेर सबै परीक्षणपछि मात्र बिक्रीका लागि पठाउँछौं। यसो हुँदा सबै किसान खुसी हुन्छन्।'
सहकारी रहेकै ठाउँ केरूनियासँग कृषि अनुसन्धान परिषद (नार्क) पनि जोडिएको छ। केरूनियालाई 'नार्क प्रविधि गाउँ' का रूपमा स्थापित गर्न तीन वर्षअघि एउटा सम्पर्क कार्यालय स्थापना गरिएको छ।
किसानलाई नार्कले सिफारिस गरेका बालीका नयाँ जातबारे जानकारी गराउने र उत्पादनमा प्रोत्साहित गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको यहाँ कार्यरत कृषि प्राविधिक शिशिर अधिकारीले बताए। यहाँ अन्नबाली र तरकारी बालीबाहेक बाख्रा र पन्छीका नमूना पनि छन्।
'केरूनिया बिउ उत्पादन गर्ने प्रमुख ठाउँ भएको छ। हरितक्रान्ति कृषि सहकारीसँग जोडिएर पनि नार्कले केही काम गरेको छ,' शिशिरले भने, 'नार्कबाट सिफारिस भए अनुसार प्राविधिकको सल्लाह लिएर किसानले काम गर्न थालेका छन्।'
राज्यले किसानलाई मल, बिउ र सिँचाइमा सहयोग गर्न जरूरी रहको उनले बताए।
