डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरू गरेको छ। यस वर्षदेखि पालिका आफैले बीउ तयार गरेर वितरण सुरू गरेको हो। धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो।
समूह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताए। उनका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत अनुदानमा वितरण भइसकेको छ।
८० क्विन्टल मूल बीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परीक्षण गराइ उत्पादनका आधारमा थप मूल बीउ किसानसँग पालिकाले खरिद गरी प्रशोधन तथा भण्डारण गर्ने गरेको कृषि शाखा प्रमुख शर्माले बताए।
डुडुवामा २५८० हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ। तर यो वर्ष पालिकाले उपलब्ध गराउने बीउ जम्मा १४०० हेक्टर क्षेत्रफललाई मात्रे पुग्ने अनुमान गरिएको छ।
यो वर्षदेखि पहिलो पटक किसानका लागि धानको बीउ भण्डारण सुरू गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा वृद्धि गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए।
डुडुवाले पहिलो पटक गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ।
करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइको अध्यक्ष चौधरीले बताए। तर किसानको मागका आधारमा वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताए।
जसका लागि हाल गहुँ बालीको प्राविधिकमार्फत ल्याब परीक्षण गर्ने कार्य भइरहेको शर्माले बताए।
किसानलाई पालिकाले आफैले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने आशा गरिएको छ। त्यस्तै किसान अन्यत्र बीउ खोज्न जानु नपर्ने भएको छ। डुडुवामा करिब ९० प्रतिशत किसान खेतीमा निर्भर छन्।
त्यही भएर पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बता ।
उनले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको अध्यक्ष चौधरीले जानकारी दिए।
डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने लक्ष्य राखेको जनाएको छ। बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ।