कृषि बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको तथा लापरबाही गरिएको देखिएको छ।
कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ अनुसार बीमा दाबी जानकारी प्राप्त गरेको ५७ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको देखिएको हो।
अहिले ४ हजार ८२७ बीमालेखको ३७ करोड ४१ लाख भुक्तानी बाँकी रहेको महालेखाले जनाएको छ। यसले बीमितहरूलाई आर्थिक संकटमा पारेको छ।
आर्थिक वर्ष २०८०/८१ मा १४ बीमा कम्पनीमा ३२ हजार ५६६ बीमालेखबाट १ अर्ब ७० करोड ७ लाख दाबी माग भएको थियो।
त्यसअघिको वर्षमा भएको बीमा दाबीसमेत ३३ हजार १२८ बीमालेखको १ अर्ब ५८ करोड ४३ लाख भुक्तानी भएको छ। तर, बाँकी ४ हजार ८२७ बीमालेखको ३७ करोड ४१ लाख भुक्तानी हुन सकेको छैन।
समयमै दाबी भुक्तानी नहुँदा बीमितहरू आर्थिक संकटमा परेका छन्। यसले बीमा प्रणालीप्रति विश्वास घटाएको र बीमाको निरन्तरतामा कमी आएको देखिन्छ।