कुरा २०२८ सालतिरको हो। भारत घुम्न जाँदा मुलाजस्तै आकारको सुन्तले रङको खानेकुराले चन्द्रप्रसाद अधिकारीको ध्यान तानेको थियो। ठेलामा बेच्न राखिएको त्यो खानेकुराको उनलाई न नाम थाहा थियो, न स्वाद।
उनले किनेर चाखे। निकै स्वादिलो लाग्यो। अनि नाम पनि थाहा पाए — गाजर।
चन्द्रका त्यहाँ बस्ने साथी दिउँसो काममा जान्थे। चन्द्र भने चार आना तिरेर गाजर किन्थे। त्यसले उनलाई दुई दिनको खाजा पुग्थ्यो।
त्यतिखेरै उनले मनमनै अठोट गरे, 'यसलाई मेरो बारीमा पनि उब्जाउँछु।'
उनको परिवार चितवनको भरतपुर–१५, श्रीपुरमा खेतीकिसानी गर्थ्यो। सिमल, पेडारको रूख र ढड्डीले भरिएको क्षेत्रमा बिस्तारै घैया, तिल, मकै फल्दै थियो। पछि धान पनि रोप्न थालियो। तरकारी आफूलाई खान पुग्ने मात्रै लगाइन्थ्यो।
चन्द्रले ३४ वर्षअघि भारतबाट आउँदना ५० ग्राम बिउ ल्याएर श्रीपुरको माटोमा पहिलो पटक गाजर उब्जाए। राम्रो उत्पादन भयो। स्वाद उस्तै मीठो!
छिमेकीले पनि खुब मनपराए। उनले केही मुठा गाजर बेच्न भनेर नारायणघाट बजार पुर्याए। तर मान्छेले त्यो के हो भन्ने चिनेनन्। आधा पनि बिकेन।
तैपनि चन्द्रले गाजर फलाउन छाडेनन्। बिउ मगाउँदै, उब्जाउँदै बजार लगिराखे। बिस्तारै छिमेकीहरूले पनि बिउ मगाउन र रोप्न थाले।
श्रीपुर, फूलबारी क्षेत्रमा अचेल गाजर खेती नगर्ने किसान भेट्नै मुस्किल हुन्छ।
'कात्तिकमा धान काटेपछि गाजर लगाउन सुरू हुन्छ। चैतमा तयार हुन्छ। अचेल यो क्षेत्रबाट एक दिनमै ८–१० गाडी गाजर बजार जान्छ,' चन्द्रले भने, 'श्रीपुरमा फलेको गाजर बिस्तारै सबैतिर फैलिएको छ।'


दशकौंअघि उनले भारतमा गरेको अठोटले अहिले पूरै गाउँ गाजर खेतीका कारण चिनिन थालेको छ। यहाँका किसानको मुख्य आय स्रोत पनि यही हो।
६७ वर्षीय चन्द्रले यस वर्ष दुई बिघा जमिनमा गाजर खेती गरेका छन्। साढे २ बिघामा चुकन्दर रोपेका छन्।
यहाँको चुकन्दर खेतीको इतिहास भने पुरानो छैन। आफै खाने गरी चन्द्र बारीमा चुकन्दर लगाउँथे। तीन वर्षअघि उनको २७ वर्ष पुरानो सम्बन्ध भएको कम्पनी 'अर्ग्यानिक भ्याली' सँग कुरा भयो।
'म यो कम्पनीलाई पहिले पनि अर्ग्यानिक तरकारी पठाउँथेँ। बीचमा सम्पर्क टुटेको थियो। तीन वर्षअघि फेरि सम्पर्क भयो। अर्ग्यानिक तरकारी किनेर विदेश पठाउने कुरा गर्नुभयो,' चन्द्रले भने, 'त्यसपछि चुकन्दरको पनि व्यावसायिक खेती सुरू गरेँ।'
अर्ग्यानिक खेती गर्ने किसानहरूले समूह बनाएर काम थालेका थिए। २०७९ सालमा चितवनमा उत्पादित २०३ क्विन्टल गाजर र ७०० किलो चुकन्दर अर्ग्यानिक भ्यालीले किनेको थियो। माटोदेखि उत्पादनसम्मको परीक्षण गरेपछि गाजर र चुकन्दर जर्मनी निर्यात भयो।
'हाम्रो उत्पादनको विषयमा उताबाट सकरात्मक कुरा आएपछि अर्ग्यानिक भ्यालीले गत वर्ष पनि गाजर र चुकन्दर माग गर्यो। माग भए बमोजिम पठायौं। यसपालिका लागि ९०/९० टन गाजर र चुकन्दर पठाउने सम्झौता भएको छ। हाम्रो किसान समूहले पर्याप्त उत्पादन गरेका छौं,' चन्द्रले भने।
यसपालि सम्झौता अनुसार ८४ टन चुकन्दर काठमाडौंस्थित अर्ग्यानिक भ्यालीलाई पठाइसकेको उनले बताए। किसानहरूले अहिले खेतबाट गाजर निकाल्ने काम गरिरहेका छन्।
'चुकन्दर सम्झौता अनुसार अब ६ टन मात्रै पठाउन बाँकी छ। हामीसँग अझै ४२ टन बाँकी छ। त्यो पनि लगिदिन आग्रह गरेका छौं,' उनले भने, 'गाजर पनि हामीसँग पर्याप्त छ।'
केही वर्षयता गाजरको मूल्यमा गिरावट आएर समस्या भएको अधिकारीले बताए। प्रतिकिलो २० रूपैयाँभन्दा बढीमा बेच्नुपर्ने गाजर १५ रूपैयाँभन्दा तलमा बेच्नुपरेको गुनासो किसानहरूको छ। चुकन्दर भने पोहोर र यसपालि किलोको ५० रूपैयाँमा बिक्री भइरहेको छ।
चन्द्रले यस वर्ष आफ्नो खेतमा उब्जिएको तीन सय क्विन्टल चुकन्दर जर्मनी निर्यात गर्न भनेर काठमाडौं पठाए। अझै डेढ सय क्विन्टलजति पठाउने तयारी छ। गत वर्ष उनले ८०० क्विन्टल गाजर बेचेका थिए। यसपालि चुकन्दरको क्षेत्रफल बढाउँदा गाजर कम भएको छ। यसपालि ६ सय क्विन्टल चुकन्दर जर्मनी पठाउने तयारी छ।

'चुकन्दर तीन पटक गोड्नुपर्छ। मैले यसपालि गोड्न मात्रै ११ सय जना खेताला लगाएँ। खेत जोत्न, उत्पादन निकाल्न थप खेताला लगाएँ। यसबाहेक मल, बीउ, आफ्नो मेहनत पनि खर्च हुन्छ। तैपनि नाफा राम्रै छ,' चन्द्रले भने, 'चुकन्दरबाट २० लाख रूपैयाँ आम्दानी हुँदा ५–७ लाख रूपैयाँ नाफा हुन्छ। लगानी अनुसार धेरै फाइदा त होइन तर मेरा लागि यति नाफा ठूलो कुरा हो।'
अचेल मान्छेहरू अर्ग्यानिक उत्पादनबारे राम्ररी बुझ्न थालेका छन्। खोजीखोजी किनेर खानेको संख्या बढिरहेको छ।
'मेरो खेतमा रासायनिक विषादी, मल नपरेको ३४ वर्ष भयो। अर्ग्यानिक उत्पादन गर्दा कामदारदेखि उपभोक्तासम्म सुरक्षित हुन्छन्,' उनले भने।
चन्द्रका अनुसार विगतमा प्रांगारिक उत्पादनप्रति नकारात्मक धारणा हुन्थ्यो। प्रांगारिक उत्पादनबारे सचेतना जगाउनेलाई मान्छेहरू एनजिओ, आइएनजिओ भनिदिन्थे। सरकारले पनि वास्ता गरेन। अचेल यो दृश्य फेरिएको छ। सरकारले मापदण्ड बनाएरै प्रांगारिक प्रमाणीकरण गर्ने काम अघि बढाएको छ। सरकारका निकायहरूले पनि प्रांगारिक मिसन कार्यक्रमहरू सञ्चालन गरेका छन्। त्यस्तै कही विषादीहरूमा प्रतिबन्ध लगाएको छ।
यसले लगानी गर्न प्रोत्साहन गरेको चन्द्र बताउँछन्।
'अर्ग्यानिक उत्पादन गरे पनि राम्रै हुँदो रहेछ त भन्ने धेरैले बुझेका छन्,' उनले भने।
गाजरको बिउ पहिले विदेशबाट ल्याउनुपर्थ्यो। अचेल डोल्पाबाटै किलोको एक हजारदेखि दुई हजार रूपैयाँमा आउँछ। चुकन्दरको बिउ भने भारतबाटै आउँछ, किलोको २२ सय रूपैयाँ पर्छ।
चितवनमा व्यावसायिक रूपमा प्रांगारिक उत्पादन गर्ने एक सयभन्दा बढी किसान छन्। केहीले जिल्ला प्रांगारिक संघ चितवन नामको संस्था नै स्थापना गरेका छन्। २०७६ सालमा बनेको यो संघमा अहिले ३५ जना किसान आबद्ध छन्। संघले जिल्लाका सबै स्थानीय तहमा जनचेतनामूलक कार्यक्रम गरेर किसानलाई प्रांगारिक उत्पादन गर्न प्रोत्साहन गर्ने गर्दै आएको छ। सबै किसान एकजुट हुँदा बजारको बिस्तार गर्न पनि सहज हुने चन्द्र बताउँछन्।
'हाम्रो उद्देश्य उत्पादन विदेश पठाउने होइन, नेपालमै खपत गर्ने हो। नेपालीलाई नै स्वस्थ खानेकुरा खुवाउने हो। तर हाम्रो अभियान मजबुत बनाउन अहिले जहाँ जाओस्, बजार सुनिश्चित होस भन्ने हो। बजारको सुनिश्चित भयो भने किसानले ढुक्कले खेती गर्न सक्छ,' उनले भने, 'अहिले प्रांगारिक उत्पादनको लहर राम्रै छ। बजार पनि राम्रो हुँदै गएको छ।'
उनी आफ्नो खेतमा पुगेसम्म गोबर, गड्यौंला मल प्रयोग गर्छन्। नपुगे प्रांगारिक मल किन्छन्। उनको खेतमा वर्खामा धान रोपिन्छ। कात्तिकमा धान थन्काएपछि गाजर, चुकन्दर लगायत तरकारी लगाउँछन्। चैतमा तिल छर्छन्। केही वर्षअघि उनले करिब २ बिघामा सूर्यमुखी फूल पनि लगाएका थिए। पछि चुकन्दर नै रोपे।

उनले टिलेपिया माछा र कुखुरा पालन पनि गरेका छन्। अध्ययनका लागि भनेर केही वर्षदेखि ब्याक सोल्जर फ्लाई (झिँगा) पनि पालेका छन्। यसका लार्भाले माछा र कुखुराका लागि आहाराको काम गरेको छ। मल खेतमा काम लागेको छ।
उनले २०६४ देखि २०६७ सालसम्म ११४ वटा जातको धान रोपेका थिए। यो नेपालका रैथाने धानको बिउ संरक्षणका लागि थियो। राष्ट्रिय जिन बैंकका प्रतिनिधि आएर एक सय वर्षसम्म मागेका बेलामा उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि उनले आफूसँग भएको बिउहरू दिए। आफ्ना लागि चाहिने धान मात्रै रोप्न थाले।
रासायनिक विषादी र मलका कारण माटो बिग्रिँदै र उत्पादन घट्दै गएकोमा उनी चिन्तित छन्। यस विषयमा कतिपयलाई उनी आफै गएर बुझाउँछन्। कोही प्रांगारिक खेती कसरी गर्ने भनेर सिक्न घरसम्मै आइपुग्छन्।
त्यस्तै खडेरीले पनि उनको चिन्ता थपिएको छ। गत वर्ष समयमा हिउँदे वर्षा नहुँदा उत्पादन धेरै नै घटेको थियो। यसपालि पनि वर्षाकै समस्या भयो।
'हिउँदे वर्षा नहुँदा सोचेजस्तो उत्पादन हुँदैन,' चन्द्रले भने, 'सबैले प्रकृतिलाई माया गरिदिए त प्रकृतिले पनि भलो गर्थ्यो होला।'
काम गर्ने मान्छे पाउन पनि समस्या भइरहेको उनी बताउँछन्। युवाहरू धेरै बिदेसिने र यहाँ भएकाले पनि कृषिमा चासो नदिएकाले पाका उमेरकाले मात्र कहिलेसम्म धान्न सक्लान् भन्ने चिन्ता उनलाई छ।