पछिल्लो केही महिनायता तरकारीको मूल्य निकै सस्तिएको छ। मुख्य सिजन भएकाले तरकारीको मूल्य सस्तिएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा बजारमा काउली र बन्दा प्रतिकिलो थोक मूल्य दश रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
काउली तथा बन्दा आपूर्ति बढी भएकाले पाँच दिनदेखि नै सोही मूल्य कायम छ। त्यसअघि भने काउली प्रतिकिलो ८ रूपैयाँ किलोसम्म पुगेको थियो।
कालीमाटी बजारमा स्थानीय, तराई र ज्यापु गरी तीन प्रकारको काउली आउँछ। जसमध्ये स्थानीय र तराई काउली सोमबार प्रतिकिलो थोक मूल्य दश रूपैयाँमा कारोबार भइरहेको छ भने ज्यापु काउली प्रतिकिलो १२ रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, लोकल, तराई र नरिवल गरी तीन प्रकारका बन्दा बजारमा पाइने गरेको छ। ती सबै प्रकारका बन्दा प्रतिथोक मूल्य दश रूपैयाँमा बिक्री भइरहेको छ।
कालीमाटीको तथ्यांक हेर्दा हरियो फर्सी र रायोको साग पनि प्रतिकिलो दश रूपैयाँमा कारोबार भइरहेको छ।
गत वर्षको तुलनामा यो वर्ष धेरै लामो समयसम्म तरकारीको मूल्य घटिरहेको व्यापारी भरत खतिवडाले बताए।
उनका अनुसार गत वर्षहरूमा पनि सिजनको समयमा तरकारीको मूल्य घट्ने गरेको थियो। तर लामो समयसम्म घट्दैन थियो। अहिले भने एक महिनाभन्दा धेरै अवधिसम्म तरकारीको मूल्य घटेको उनको भनाइ छ।
तरकारीको थोक मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ।