बजारमा काउलीको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा काउली स्थानीय, ज्यापु र तराई गरी तीन प्रकारका आउँछन्।
समितिको तथ्यांक हेर्दा कालीमाटी बजारमा स्थानीय काउली र तराई काउलीको मूल्य बढेको छ भने ज्यापु काउलीको मूल्य स्थिर छ।
बिहीबार कालीमाटी बजारमा स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य १० रूपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो २ रूपैयाँले बढी हो।
कालीमाटी बजारमा सोमबारदेखि यी दुई प्रकारका काउली प्रतिकिलो ८ रूपैयाँमा बिक्री भइरहेको थियो।
त्यस्तै, स्थानीय ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ।
बजारमा काउलीको आपूर्ति घटेकाले मूल्य थोरै बढेको कालीमाटी बजारका होलसेल व्यापारीहरू बताउँछन्।
गत वर्षको तुलनामा यो वर्ष धेरै दिनसम्म तरकारीको मूल्य घटिरहेको व्यापारी भरत खतिवडाले बताए।
उनका अनुसार गत वर्षहरूमा पनि सिजनको समयमा तरकारीको मूल्य घट्ने गरेको थियो। तर लामो समयसम्म घट्दैन थियो। अहिले भने एक महिनाभन्दा धेरै अवधिसम्म काउलीको मूल्य घटेको उनको भनाइ छ।
'पहिले पनि प्रतिकिलो ८/१० रूपैयाँमा बिक्री भएको हो तर दुई÷चार दिनमा बढेर १२ रूपैयाँ पुग्थ्यो, फेरि घट्थ्यो, उनले भने, 'अहिले घट्ने ट्रेण्ड मात्र चलेको छ।'
यसैगरी तरकारीको मूल्य घट्ने हो भने किसान पलायन हुने उनी बताउँछन्।
सरकारले तरकारीको मूल्य निकै सस्तो र महँगो हुने बेलामा समर्थन मूल्य तोक्न पर्ने उनको भनाइ छ। काउलीको थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।