बजारमा काउलीको मूल्य तीन दिनदेखि स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा काउली स्थानीय, ज्यापु र तराई गरी तीन प्रकारका आउँछन्।
समितिको तथ्यांक हेर्दा कालीमाटी बजारमा काउली सोमबारदेखि प्रतिकिलो थोक मूल्य ८ रूपैयाँमा बिक्री भइरहको छ।
आइतबारको तुलनामा सोमबार स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य दुई रूपैयाँले घटेको हो।
सोमबार कालीमाटी बजारमा स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य आठ रूपैयाँमा बिक्री भइरहेको थियो। मंगलबार र बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको समितिको तथ्यांकले देखाएको छ।
त्यस्तै, स्थानीय ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
आइतबार भने स्थानीय र तराई काउली प्रतिकिलो थोक मूल्य १० रूपैयाँमा बिक्री भइरहेको थियो। त्यस्तै, ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा बिक्री भइरहेको थियो।
बजारमा काउलीको आपूर्ति बढिरहेकोले मूल्य घटेको कालीमाटी बजारका होलसेल व्यापारी भरत खतिवडाले जानकारी दिए।
'काउली बजारमा धेरै आइरहेको छ। मूल्य घटेको धेरै भइसक्यो,' उनले भने।
उनका अनुसार गत वर्षहरूमा पनि सिजनको समयमा तरकारीको मूल्य घट्ने गरेको थियो। तर लामो समयसम्म घट्दैन थियो। अहिले भने एक महिनाभन्दा धेरै अवधिसम्म काउलीको मूल्य घटेको उनले बताए।
'पहिले पनि प्रतिकिलो ८/१० रूपैयाँमा बिक्री भएको हो तर कहिले दुई/चार दिनमा बढेर १२ रूपैयाँ पुग्थ्यो, फेरि घट्थ्यो,' उनले भने, 'अहिले घट्ने ट्रेण्ड मात्र चलेको छ।'
यसैगरी तरकारीको मूल्य घट्ने हो भने किसान पलायन हुने उनी बताउँछन्।
सरकारले तरकारीको मूल्य निकै सस्तो र महँगो हुने बेलामा समर्थन मूल्य तोक्न पर्ने उनको भनाइ छ।
'तरकारीको मूल्य बढ्यो भने सरकार, उपभोक्तावादी विरोध गर्छन्,' उनले भने, 'अहिले किसान मर्कामा छन्। किसानको दुःख बुझ्ने कोही छैन।'
थोक मूल्य घटेसँगै उपभोक्ता मूल्य पनि घटेको छ। आजभोलि उपभोक्ताले काउली प्रतिकिलो २० देखि २५ रूपैयाँमा पाइरहेका छन्।