बजारमा सुन्तलाको मूल्य बढेको छ।
सिजन सकिन थालेसँगै सुन्तलाको मूल्य बढ्न थालेको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।
'अब नेपाली सुन्तला सकिन लाग्यो,' उनले भने, 'त्यही भएर मूल्य बढेको हो।'
उनका अनुसार बजारमा आकार ठाउँ अनुसार सुन्तलाको मूल्य तोकिएको छ।
बजारमा ठूला, मध्यम र साना गरी तीन प्रकारका सुन्तला छन्।
अहिले म्याग्दी, सल्यान र अर्घाखाँचीबाट सुन्ताला आइरहेको छ। गोर्खा, तनहुँ लगायत अन्य जिल्लाका सुन्तला सकिएको छ। गोर्खा, तनहुँको तुलनामा म्याग्दी, सल्यानतिर ढिलासम्म उत्पादन हुने भएकाले त्यहाँको सुन्तला महँगो हुन्छ।
'सुरूमा सबैतिरका सुन्तला महँगा हुन्छन्। सिजनमा सस्तो नै हुन्छ,' उनले भने, 'सिजन सकिने बेलामा म्याग्दी, सल्यानका सुन्तला आउँछन्। त्यो महँगो हुन्छ।'
उनका अनुसार बजारमा सुन्तलाको मूल्य बढेको एक साता भयो।
अहिले बजारमा ठूला सुन्तला थोक मूल्य प्रतिकिलो एक सय ६० देखि ६५ रूपैयाँसम्म पुगेको उनले जानकारी दिए।
मध्यम र साना सुन्तला भने एक सय ५० रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
यसअघि सुन्तला प्रतिकिलो एकसय २० देखि एक सय ३० रूपैयाँमा बिक्री भइरहेको थियो।
थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ।
अहिले उपभोक्तालाई ठूला आकारका नेपाली सुन्तला प्रतिकिलो एक सय ९० देखि २ सय रूपैयाँसम्म पुगेको छ।
त्यसअघि उपभोक्ताले अधिकतम एक सय ५० रूपैयाँमा किनिरहेको थिए।