बजारमा काउलीको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार कालीमाटी बजारमा काउली स्थानीय, ज्यापु र तराई गरी तीन प्रकारका आउँछन्।
आइतबारको तुलनामा सोमबार स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य दुई रूपैयाँले घटेको थियो।
सोमबार कालीमाटी बजारमा स्थानीय काउली र तराई काउली प्रतिकिलो थोक मूल्य आठ रूपैयाँमा बिक्री भइरहेको थियो। मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको समितिको तथ्यांकले देखाएको छ।
त्यस्तै, स्थानीय ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
आइतबार भने स्थानीय र तराई काउली प्रतिकिलो थोक मूल्य १० रूपैयाँमा बिक्री भइरहेको थियो। त्यस्तै, ज्यापु काउली भने प्रतिकिलो १५ रूपैयाँमा बिक्री भइरहेको छ।
बजारमा स्थानीय र ज्यापु काउलीको आपूर्ति बढिरहेकोले मूल्य घटेको व्यवसायीले बताएका छन्।
मूल्य घटेसँगै हाल उपभोक्ताले काउली प्रतिकिलो २० देखि २५ रूपैयाँमा पाइरहेका छन्।