बजारमा अनारको मूल्य बढेको छ।
माग अनुसारको आपूर्ति नभएकाले अनारको मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ काठमाडौंका उपाध्यक्ष माधव चौलागाईंले जानकारी दिए।
'बजारमा अनारको आपूर्ति एकदमै न्यून छ। माग भने बढेको छ,' उनले भने।
उनका अनुसार अनारको मूल्य बढेको १०/१५ दिन हुन लाग्यो। १० दिन बजारमा अनार प्रतिक्रेट चार हजार ४५ सयदेखि पाँच हजार रूपैयाँसम्म थियो। अहिले प्रतिक्रेट पाँच हजारदेखि ६ हजार रूपैयाँसम्म छ।
गत वर्षको तुलनामा पनि यस वर्ष अनारको मूल्य बढेको उनले जानकारी दिए।
हाल बल्खु बजारमा भारतका विभिन्न क्षेत्रबाट अनार आउने गरेको छ।
कालीमाटी तथा फलफूल बजारमा पनि अनार प्रतिकिलो थोक मूल्य तीन सय ५० देखि चार सय रूपैयाँमा बिक्री भएको छ।
थोक मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको व्यवसायीहरू बताउँछन्।
१०/१५ दिन अघि प्रतिकिलो तीन सय ५० देखि चार सय रूपैयाँमा बिक्री भएको अनार अहिले ग्राहकले पाँच सयदेखि पाँच सय ५० रूपैयाँमा किनिरहेका छन्।