बजारमा मुलाको भाउ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको भाउ घटेको देखाएको छ।
कालीमाटी बजारमा सेतो मुला लोकल र हाइब्रिड गरी दुई प्रकारको आउँछ।
शनिबार कालीमाटी बजारमा सेतो लोकल मुला प्रतिथोक मूल्य १५ रूपैयाँदेखि २० रूपैयाँमा कारोबार भइरहको थियो।
त्यस्तै, हाइब्रिड मुला प्रतिकिलो थोक मूल्य २० देखि २५ रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्ति बढेसँगै मुलाको भाउ घटेको कालीमाटी बजारका मुला व्यवसायी भिम बहादुर श्रेष्ठ बताउँछन्।
'अहिले बजारमा मुला एकदमै धेरै आएको छ। त्यसैले मूल्य ओरालो लागेको हो,' उनले भने।
उनका अनुसार मुला विशेषगरी तरकारी, अचार र सलादको रूपमा प्रयोग हुन्छ। चिसो बढेकाले अहिले मुला खपतमा कमी आएको छ। तर आपूर्ति भने घटेको छैन।
मुला तरकारी वर्गमा पर्छ। यो परम्परागत तरकारी हो।
यसलाई काँचै वा पकाएर खान सकिन्छ। सबै सिजनमा मुला पाइने भएकाले यसको तरकारी, अचार, चाना लगायतका परिकार बनाउन सकिन्छ।
पछिल्लो समय मुला सलादको रूपमा धेरै प्रयोग हुने गर्छ।
मुलामा प्रशस्त मात्रामा भिटामिन ए, बि, सी हुने भएकाले यसले आँखाको ज्योति बढाउन मद्दत गर्ने पोषणविद् डा. उमा कोइरालाले जानकारी दिइन्।
उनका अनुसार मुलामा प्रशस्त मात्रामा पानी पाइन्छ। यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। मुलामा भिटामिन, क्याल्सियम, आइरन, म्याग्नेसियम लगायतका शरीरलाई आवश्यक पर्ने सुक्ष्म पौष्टिक तत्त्व पाइन्छ।
मुलामा एन्टिअक्सिडेन्ट हुने भएकाले हाम्रो शरीरमा भएको पौष्टिक तत्वलाई खेर जान दिँदैन।
त्यस्तै, सुगर र ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकाले मुला मधुमेहको बिरामीलाई उपयोगी मानिन्छ।