मुलुकभरका किसान परिवारमध्ये हालसम्म करिब ४७.७ प्रतिशत किसान सूचीकरण प्रणालीमा सूचीकृत भएका छन्।
कृषि तथा पशुपन्छी मन्त्रालय अन्र्तगतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय किसान सूचीकरण सम्बन्धी समन्वय गोष्ठीमा जानकारी दिइएको हो।
केन्द्रले माघ २ गतेसम्म करिब १९ लाख ७१ हजार किसान परिवार सूचीकरण प्रणालीमा सूचीकृत भएको जनाएको छ। राष्ट्रिय कृषि गणना २०७८ का अनुसार ४१ लाख ३० हजार किसान घरधुरी रहेका छन्।
यसलाई आधार मान्दा पनि अझै आधाभन्दा बढी किसान परिवार सरकारी सूचीकरण प्रणालीमा सूचीकृत हुन बाँकी छन्।
हाल स्थानीय तह मार्फत अनलाइन प्रणालीमा किसानहरूको विवरण संकलनको कार्य भइरहेको केन्द्रले जनाएको छ।
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा ४७ ले दिएको अधिकार प्रयोग गरी किसानको पहिचान किसान सूचीकरण कार्यक्रम सञुचालन हुँदै आएको छ।
किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०८१ को दफा ६ वमोजिम किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालनको लागि केन्द्रलाई जिम्मेवार निकायको रूपमा तोकिएको मन्त्रालयले जनाएको छ।
कृषक परिचयपत्रलाई यथासक्य राष्ट्रिय परिचय पत्र र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषकहरुका लागि बनाइएका अन्य सफ्टवेयरसँग पनि आवद्ध गर्दै जाने योजना रहेको सहसचिव एवं केन्द्रका प्रमुख डा.तिवारीले बताए।