सिजन सुरू भएसँगै बजारमा तरकारीको भाउ सस्तिएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्ने हो भने कालीमाटीमा सानो लोकल गोलभेँडा, बन्दा लोकल, स्थानीय ज्यापु काउली, लोकल मुला, ब्रोकाउली लगायतका तरकारीको मूल्य प्रतिकिलो थोक मूल्य न्यूनतम २० रूपैयाँमा बिक्री भइरहेको छ।
बेमौसममा मुला बाहेकका तरकारीको मूल्य एक सय रूपैयाँ माथि थियो। मुला भने अधिकतम ६० देखि ७० रूपैयाँसम्म पुगेको थियो।
अहिले बजारमा उल्लेख्य रूपमा तरकारी आएकाले मूल्य घटेको नेपाल फलफूल तथा तरकारी व्यवसायी संघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
अहिले बजारमा काठमाडौं उपत्यकासँगै तराई र भारतीय तरकारीहरू पनि आएका छन्।
थोक मूल्य घटेसँगै खुद्रा मूल्य पनि घटेको छ। अहिले कालीमाटी बजारमा यी तरकारी ४० देखि ५० रूपैयाँ किलोमा उपभोक्ताले छानिछानि पाउँछन्।
कालीमाटीमा तरकारी नुवाकोट, धादिङ, गोर्खा, चितवन, सर्लाही, मकवानपुर लगायत काठमाडौं उपत्यका र भारतबाट समेत आउने गरेको छ।