आजभोलि बजारमा छिटफुट रूपमा अंगुर पाइन थालेको छ।
पुस लागेदेखिनै बजारमा अंगुर आउन थालेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका अध्यक्ष अमर बानियाँले जानकारी दिए।
अंगुरको स्वदेशी उत्पादन छैन। थोरै मात्रामा कसैले गरेपनि स्थानीयस्तरमै बिक्री हुन्छ। उक्त उत्पादन काठमाडौं लगायत मुख्य सहरहरूमा पुग्दैन। यहाँ छिमेकीमुलुक भारतका विभिन्न ठाउँबाट अंगुर आउँछ। महाराष्ट, गुजरात, बैंगलोर लगायतका क्षेत्रमा ठूलो मात्रामा अंगुर उत्पादन हुने गरेको छ।
अफ सिजन भएकाले अहिले थोरै मात्रामा मात्रै अंगुर आएको उनले जानकारी दिए।
'महँगो भएकाले थोरै मात्र ल्याइरहेका छौं,' उनले भने।
बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छ। हाल बजारमा हरियो अंगुरको थोक मूल्य एक सय ९० देखि दुई सय रूपैयाँ र कालो अंगुर दुई सय ८० रूपैयाँ छ।
उपभोक्ताले भने हरियो अंगुर दुई सय ५० देखि तीन सय र कालो अंगुर तीन सय ५० देखि चार सय रूपैयाँ तिर्नुपर्ने उनी बताउँछन्।
'अंगुर छिटो बिग्रने भएकाले खुद्रा व्यापारीले धेरै मूल्य राख्छन्,' उनले भने।
उनका अनुसार अंगुरको सिजन सुरू भएसँगै मूल्य पनि घट्ने छ। फागनुदेखि जेठसम्म अंगुरको मुख्य सिजन हो। त्यो समयमा हरियो अंगुर प्रतिकिलो एक सयदेखि एक सय ५० रूपैयाँ र कालो अंगुर दुई सयदेखि दुई सय ५० रूपैयाँमा झर्छ।
सिजन र अफसिजनको अंगुरको स्वादमा भने केही भिन्नता हुन्छ।
सिजनमा सबै क्षेत्रका अंगुर गुलियो र मिठो हुन्छ भने अफ सिजनको अंगुरमा हावापानी अनुसार स्वाद फरक पर्ने हुन्छ।
अफ सिजन भएता पनि अहिले अंगुर खान डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ। भन्छन्, 'भन्सारमा विषादी जाँच हुन्छ। डराउनु पर्ने अवस्था छैन।'