पछिल्लो समय बजारमा रायोको सागमा विषादीको मात्रा बढी देखिन थालेको छ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले थोक कृषि बजारमा विषादी जाँच गरिरहेको छ।
प्रयोगशालाले पुस महिनाभरी २६ वटा नमूना लिएर रायोको साग जाँच गरेको थियो। त्यो मध्ये ६ वटामा नमूनामा विषादीको मात्रा बढी देखिएको प्रयोगशालाले जानकारी दिएको छ।
जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।
विषादी परीक्षण भएपछि त्यसको नतिजा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई दिइने छ। त्यसरी उपभोग गर्न अयोग्य देखिएपछि समितिले त्यसलाई नष्ट गर्छ।
रायोको सागमा विषादीको मात्रा बढी देखिए पनि बजारमा कारोबार भने घटेको छैन। विषादीको कारणले बिक्री र मूल्य केहीमा असर नपरेको जडीबुटीस्थित तरकारी बजारका एक व्यापारीले जानकारी दिइन्।
'विषादीले बिक्रीमा केही समस्या पारेको छैन। सिजन भएकाले मूल्य चाहिँ घटेको छ,' उनले भनिन्।
कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ पनि रायो सागको कारोबारमा कुनै कमी नआएको बताउँछन्।
खेतबारीमा उपलब्ध भएसम्म व्यापारीले बजारमा ल्याएका छन्।
'अहिले सागको सिजन हो। किसानले उत्पादन गरेपछि बजार ल्याउनै पर्छ,' उनले भने, 'विषादीको शंका हुनेले ल्याएका छैनन् होला। जो किसान विश्वस्त छ उसले ल्याइरहेको छ।'
अहिले रायोको सागको सिजन भएकाले बजारमा धेरै मात्रामा साग आएको छ।
कालीमाटी बजारको तथ्यांकले पनि बजारमा रायोको सागको आगमन प्रवृत्ति बढ्दै गएको देखाउँछ। तथ्यांक अनुसार पुस १ गते ८ हजार किलो रायोको साग आएको थियो भने पुस २८ गते १० हजार किलो बढी रायोको साग आएको छ।
बजारमा रायोको सागको मूल्य भने घटेको व्यापारीहरूले बताएका छन्।
हाल कालीमाटी बजारमा काठमाडौं, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट रायोको साग आउने गरेको छ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत १२ वटा विशादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला छन्।
यी प्रयोगशालाले देशभर रहेका कृषि विभाग मातहतका १२ वटा कृषि थोक बजारमा विषादीको जाँच गर्छन्। हामी कहाँ कार्बामेट र अर्गानोफस्फेट गरी रसायनका दुई समूह जाँच हुँदै आएको छ।