युवा कृषकहरूको एउटा समूह विगत आठ वर्षदेखि तरकारी खेतीमा सक्रिय छ। उनीहरूले 'एसएन कृषि फार्म' चलाएका छन्।
कुल ६० रोपनीमा क्षेत्रफलमा फैलिएको यो फार्म ललितपुरको गोदावरी नगरपालिका–२ रचनटारमा छ। यहाँ साग, गोलभेँडा, लौका, घिरौंला, काउली, बन्दा, क्याप्सिकम (भेडे खुर्सानी) लगायत मौसमी तरकारी उत्पादन हुन्छ।
यो फार्मका सञ्चालक हुन् २८ वर्षीय विकास आचार्य, ३० वर्षीय रेशमराज आचार्य, ३८ वर्षीय डिलबहादुर गैरे र ४२ वर्षीय श्यामकृष्ण पोखरेल।
हालसम्म फार्ममा लगानी दुई करोड रूपैयाँ पुगेको कम्पनीका अध्यक्ष रेशमराजले बताए। यसमध्ये बैंकको लगानी पचास प्रतिशत छ।
चार जनाको समूह अब काठमाडौं उपत्यका बाहिर पनि फार्म चलाउने योजनामा छ। उपयुक्त ठाउँ भेटिएको छैन।
'काठमाडौंबाहिर लागत कम पर्ने भएकाले बाहिरै खेती गर्न खोजका हौं। काठमाडौंमा उत्पादन समय तुलनात्मक रूपमा लामो हुन्छ। हावापानीको भिन्नताका कारण तराईमा ४५ दिनमा उत्पादन हुने तरकारी काठमाडौंमा ९० दिनसम्म लाग्छ। उत्पादन समय लामो हुँदा लागत बढ्छ,' उनले भने।
काठमाडौं उपत्यकामा सानो क्षेत्रफलमा उत्पादन गर्नेलाई फाइदा हुने उनी बताउँछन्।
यो कृषि फार्म सुरू गर्दा उनीहरू आठ जना थिए।
'खेतीकिसानीको कुनै आइडिया थिएन,' रेशमले भने, 'एक जना साथी कृषिमा जेटिए (जुनियर टेक्निकल असिस्टेन्ट) पढ्ने भएकाले उनकै सक्रियतामा कृषिमा हात हाल्यौं।'
उनीहरूले सबभन्दा पहिला भक्तपुरमा नौ रोपनी जग्गा खोजे। आठ जनाले नौ लाख रूपैयाँ जुटाएर काम थाले। सुरूमा एक जना कृषि प्राविधिकको सहयोग लिए। आवश्यक बिउबिजन पर्वतबाट ल्याए। उत्पादित तरकारी बेच्ने मुख्य ठाउँ काठमाडौंका कालिमाटी बजार र बल्खु बजार थिए।
भक्तपुरमा दुई वर्ष काम गरेपछि उनीहरूले २०७३ सालमा 'एसएन ग्रुप अफ कम्पनिज' दर्ता गराए। त्यसपछि फार्म विस्तारका लागि जग्गा खोज्न थाले। मुस्किलले कीर्तिपुरमा ५० रोपनी जग्गा फेला पर्यो। उनीहरू कीर्तिपुर सरे। सिँचाइका लागि पानी सुविधा थिएन। करिब दुई किलोमिटर तल बल्खु खोलाबाट पानी पुर्याउने प्रबन्ध गरे।
'पानी व्यवस्थापन र प्लास्टिक टनेल निर्माणमा करिब ३२ लाख रूपैयाँ खर्च भयो। एक वर्षमै यो खर्च उठाउन सफल भयौं,' रेशमले भने।
उनीहरू उत्साहित भए र गोदावरीमा पनि ८० रोपनी जग्गा भाडामा लिए। फलाम राखेर टनेल बनाए। समूहमा जम्मा ५० लाख रूपैयाँ थियो। काम गर्दै जाँदा साढे एक करोड रूपैयाँ खर्च लाग्ने देखियो।
'बाँकी पैसा जुटाउन विभिन्न बैंकहरू धायौं तर कुनैले पत्याएन। अन्ततः महँगो ब्याजमा साहुसँग ऋण लियौं,' उनले भने, 'अनि जग्गा बढाएर सय रोपनी पुर्यायौं।'
गोदावरीले पनि अपेक्षा अनुसार नै आम्दानी दियो। तर महँगो ब्याजको ऋण निकै भारी पर्यो। व्यवसाय टिकाउन नसक्ने डर भयो। उनीहरूले राष्ट्रिय युवा परिषदमा आफ्नो समस्या सुनाए। परिषदको पहलमा एक बैंकले प्रतिव्यक्ति १० लाख रूपैयाँका दरले आठ जनालाई ८० लाख रूपैयाँ ऋण दियो, सहुलियत ब्याजमा।
बागमती प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट १५ लाख रूपैयाँ अनुदान पनि मिल्यो।
तर पछि उनीहरूको समूह सानो हुँदै गयो। यसले गर्दा फार्म व्यवस्थापनमा समस्या हुने भयो। कीर्तिपुरमा ५० रोपनीमा र गोदावरीमा सय रोपनीमा खेती गरेका थिए। अलि पछि कीर्तिपुरको छोडिदिए। गोदावारीमा पनि यही मंसिरमा घटाएर ६० रोपनी मात्र राखेका छन्।
अहिले समूहमा चार जना मात्र छन्। अनुभव बढ्दै गएपछि केही साथीले आफ्नो अलग्गै फार्म सुरू गरे, कोही विदेश जाने तरखरमा रहेको रेशमले बताए।
कृषिमा सरकारको नीति प्रस्ट नहुँदा र मूल्यमा निगरानी नहुँदा कृषकहरू समस्यामा पर्ने गरेको उनी बताउँछन्। यसले गर्दा व्यावसायिक कृषिमा अप्ठ्यारो भएको उनले बताए।
भने, 'कृषि पेसा जुवा खेलेजस्तै भइसक्यो। कहिले राम्रो आम्दानी हुन्छ, कहिले लगानी उठाउनै धौ धौ!'
गत वर्ष निकै राम्रो आम्दानी भएको उनले बताए। यसपालि भने लागत मात्रै उठ्यो। एकै सिजनमा एउटै तरकारी धेरै उत्पादन हुँदा समस्या भएको उनको अनुभव छ।
'यो वर्ष बन्दा एक सय र काउली ५० रूपैयाँ किलोमा बिक्यो भने अर्को वर्ष धेरै किसानले बन्दा फलाउँछन्। अनि बन्दाको मूल्य ह्वात्तै घट्छ, काउलीको बढ्छ,' उनले भने, 'सरकारले किसानलाई वर्गीकरण गरेर उत्पादनमा लगाउनुपर्छ। उत्पादनको तथ्यांक संकलन गरेर उचित सल्लाह दिनुपर्छ। यसो हुने हो भने समस्या कम हुन्छ।'
उपभोक्तासम्म तरकारी पुग्न अनेक व्यापारिक चरण भएकाले पनि किसानले कम मूल्य पाउने उनले बताए।
'किसानको आफ्नै बजार हुने हो भने उत्पादक र उपभोक्ता दुवैलाई मूल्यमा न्याय हुन्छ। यस्तो व्यवस्थापन अलिक कठिन भए पनि गर्न नसकिने होइन,' रेशमले भने।