सल्यान जिल्लाको बागचौर नगरपालिकास्थित कोटमौला गाउँ सुन्तला खेतीका लागि प्रख्यात छ। वडा नम्बर ८ का वडाध्यक्ष सुशील चन्दले पोहोर झन्डै पाँच लाख रूपैयाँको सुन्तला बेचेका थिए। यस वर्ष राम्रो फलेकाले आम्दानी अझै बढ्ने अनुमान छ।
वडा नम्बर ८ मा निकै ठूलो परिमाणमा सुन्तला उत्पादन हुने भएकाले अन्यत्र सकिएपछि मात्रै व्यापारीहरू त्यहाँ पुग्छन्। ढिलो गरी बेच्न पाउने भएपछि भाउ पनि राम्रो आउँछ।
सुशीलको १३ रोपनी बगैंचामा हाल तीन सय नयाँ बोट छन्। यस वर्ष १५० बोटमा मात्रै फल लागेको छ।
'सबै बोटले फल दिन थालेपछि कम्तीमा १० लाख रूपैयाँको सुन्तला बिक्छ होला,' उनले भने।
वडा नम्बर ८ मा १३० जति घरपरिवार छन्। ती सबैको सुन्तलाखेती छ। यस वडाबाट मात्र गत वर्ष ८ करोड रूपैयाँको सुन्तला बिक्री भएको उनले बताए।
यही वडाको केराठाना चैतेगाडा टोलका ५४ वर्षीय भूमप्रकाश चन्दको १० रोपनी जमिनमा सुन्तलाका चार सय बोट छन्। तीमध्ये तीन सय बोटमा फल लागेको छ। अरू हुर्किँदै छन्।
उनको सुन्तलाबारी 'डाँडाबारी सुन्तला बगैंचा' नाममा दर्ता छ।
अहिले फल दिइरहेका बोट १४ वर्षअघि रोपेका हुन्। यी बोटबाट अधिकतम फाइदा हुन थालेको आठ वर्ष भयो।
'पोहोर चार लाख रूपैयाँ आम्दानी भयो। यस वर्ष अझ बढी फल लागेको छ। कम्तीमा आठ लाख रूपैयाँको सुन्तला बिक्ने अनुमान छ,' उनले भने।
सल्यानमा कोटमौला सबैभन्दा बढी सुन्तला उत्पादन हुने ठाउँ मानिन्छ। यहाँको सुन्तला किन्न दाङ, बाँके, बर्दिया, रूपन्देहीबाट व्यापारीहरू पुग्छन्।
भूमप्रकाशको बारीमा सिजनअनुसार मकै, तोरी, गहुँ, कोदो लगाउने चलन थियो। यस्तो बाली लगाउँदा १० रोपनी जमिनबाट आफूलाई खाने राखेर वर्षभरिमा १५-२० हजार रूपैयाँ आम्दानी हुन्थ्यो।
बगैंचा बनाएर सुन्तला बेच्न थालेपछि एकै वर्ष आठ-दस लाख रूपैयाँ आम्दानी हुने पक्का भएको छ। आफूलाई चाहिने खाद्य वस्तु किन्ने गरेका छन्।
उनका अनुसार १० रोपनीको बगैंचामा एक वर्षमा बढीमा साढे दुई लाख रूपैयाँ खर्च हुन्छ। बगैंचाको धेरैजसो काम उनी आफै गर्छन्।
गाउँमा मोटरबाटो पुगेपछि बागचौरको सुन्तलाले बजार पाएको हो। बाटोले गाउँको जीवनशैली बदलिदिएको भूमप्रकाशको भनाइ छ। युवाहरू रोजगारीका लागि भारत जाने क्रम केही घटेको छ।
'यहाँका युवाहरू कमाउन भारत जाने चलन थियो। आफ्नै गाउँठाउँमा राम्रो कमाइ हुन थालेपछि युवा कालापहाड (भारत) र विदेश जाने क्रम लगभग बन्द छ,' उनले भने।
वडामा १३० घरपरिवारको सुन्तलाखेती खेती रहेको उनले बताए। यति परिवारले गत वर्ष कम्तीमा आठ करोड रूपैयाँको सुन्तला बेचेका थिए। सबैभन्दा थोरै फलाउनले पनि तीन लाख रूपैयाँको बेचे। एकै परिवारले ४२ लाख रूपैयाँसम्मको बेच्यो।
बागचौरमा व्यावसायिक सुन्तला खेतीको सुरूआत जयबहादुर चन्दले गरेका थिए। उनको 'जन कल्याण नर्सरी' थियो। त्यसपछि भरतनाथ योगीले सुरू गरे। गत वर्ष भरतनाथले ३७ लाख रूपैयाँको सुन्तला बेचे।
सल्यानमा सुन्तला उत्पादनको पकेट क्षेत्र बागचौरमा कोल्ड स्टोर (चिस्यान भण्डार) छैन। एउटा मात्र कोल्ड स्टोर भए बेमौसममा सुन्तला बेचेर किसनालाई निकै राम्रो आम्दानी हुने थियो भन्ने उनलाई लागेको छ।
कोटमौलाका ६२ वर्षीय कृष्णबहादुर चन्दको १२ रोपनी बारीमा सुन्तलाको बगैंचा छ जहाँ पाँच सय बोट छन्। सबै बोटमा लटरम्म फल लागेको छ।
उनको बगैंचामा २५ वर्ष पुराना बोट पनि छन्। व्यावसायिक बगैंचा बनाएर आम्दानी लिन थालेको १० वर्षजति हुँदैछ।
सुन्तलाबाट निकै राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अन्नबाली त्यागेका छन्।
'दुई-चार मुरी मकै र कोदो फल्ने ठाउँमा सुन्तलाबाट आठ-दस लाख रूपैयाँ कमाइ हुने भयो,' कृष्णबहादुर भन्छन्, 'मेरो पूरै जग्गामा जम्मा आठ-दस मुरीजति मकै फल्थ्यो। त्यही जग्गाबाट अहिले १० लाखको सुन्तला बेच्छौं। हाम्रो जीवन फेरिएको छ।'
उनको बगैंचामा यस वर्ष निकै राम्रो फल लागेको छ। सुन्तलाबाट १५ लाख रूपैयाँसम्म प्राप्त हुने उनको अनुमान छ। उनले गत वर्ष सबैभन्दा राम्रो सुन्तला प्रतिकिलो ९० रूपैयाँमा बेचेका थिए। यस वर्ष पनि त्यस्तै भाउ पाउने अपेक्षा छ।
कोटमौलाको सुन्तला माघभरिमा बिक्री भइसक्छ। यहाँका किसान फुटकरमा सुन्तला बेच्दैनन्, कुत्वा (ठेक्का) मा बेच्छन्। व्यापारीले सिंगै बगैचा किन्छन्।
वडा नम्बर ९ मा पनि वडा नम्बर ८ कै हाराहारी सुन्तला फल्छ। वडा नम्बर ३ पनि सुन्तलाखेतीमा प्रख्यात छ। यी तीन वटा वडाबाट मात्रै गत वर्ष २१ करोड रूपैयाँको सुन्तला बिक्री भएको सुशीलले बताए। वडा नम्बर ७ पनि सुन्तला उत्पादन हुन्छ तर अन्य वडाको जति होइन।
'शान्ति प्रक्रियापछि गाउँमा मोटरबाटो आयो। दाङबाट व्यापारीहरू सुन्तला किन्न गाउँमै आउन थाले,' उनले भने 'हाम्रा गाउँको सुन्तलाले बजार पायो। अन्न नफल्ने पाखो बारीमा सुन्तलाको बगैंचा भयो। किसानको आम्दानी राम्रो भयो।'
वडा नम्बर ९ मा सुन्तलाबाट धेरै आम्दानी गर्ने मध्येका किसान हुन् ५७ वर्षीय गिरिदल डाँगी। उनको २८ रोपनी पाखो बारीमा सुन्तलाको बगैंचा छ। बगैंचामा पाँच सय बोट छन्। तीमध्ये तीन सयमा फल लागेको छ। यस वर्ष उनको बगैंचा २२ लाख रूपैयाँमा बिक्री भयो।
गत वर्ष उनले साढे १८ लाखको सुन्तला बेचेका थिए। उनी भन्छन्, 'हाम्रा लागि सुन्तलाखेती वरदान भएको छ।'
सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी भए पनि समस्यारहित छैन। बोटमा रोगकीराले क्षति पुर्याउने गरेको छ।
आफ्नो बगैंचमा बोट पहेँलो हुने र फल सुक्ने रोग देखापरेको भूमप्रकाशले बताए। यस्तो रोग नियन्त्रणमा किसानहरूले सरकारी निकायको सहयोग अपेक्षा गरेका छन्। कृषिका जेटिए (जुनियर टेक्निकल असिस्टेन्ट) बाट पनि सबै किसानले बराबर सहयोग पाउन नसकेको उनको भनाइ छ।
बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख घनश्याम केसी खेतीमा जलवायु परिवर्तनको असर देखा परेको बताउँछन्। रोगबाट बच्न प्राविधिकले सिफारिस गरेको ठाउँबाट बिरूवा ल्याएर रोप्न उनको सुझाव छ।
उनका अनुसार समुद्री सतहबाट १५ सय मिटरमाथिको उचाइमा मात्र सुन्तला खेती राम्रो हुन्छ। यसभन्दा तल रोग देखापर्ने उनको भनाइ छ। गोडमेल, काटछाँट, मलखाद, सिँचाइ, विषादी लागयतमा किसानले तालिम लिनुपर्छ। नगरपालिकाको कृषि शाखाले तालिम दिन सुरू गरेको उनले बताए।
यहाँ सिँचाइका लागि पानी पनि अभाव छ। आवश्यक परेका बेला विषादी पाइँदैन। अनुदानका नाममा जिल्ला कृषि विकास कार्यालयले दुई-चार केजी चुनबाहेक केही पनि नदिएको किसानहरूको गुनासो छ।
जिल्ला कृषि विकास कार्यालय, सल्यानले भने कम्तीमा सय बोटको बगैंचा भएका किसानलाई वार्षिक २० हजार रूपैयाँसम्म अनुदान दिने गरेको छ। कार्यालयले जिल्लामा बढी सुन्तला उत्पादन हुने क्षेत्रमा 'सुन्तला विशेष उत्पादन कार्यक्रम' पनि लागू गरेको छ।
कार्यालयका प्राविधिक सहायक वसन्त रेग्मीका अनुसार उक्त कार्यक्रम लागू भएका किसानले बगैंचा हेरचाह र काटछाँटसम्बन्धी तालिम पाउँछन्। किसानले नीलो चूर्ण, चुन र केही जैविक विषादी पनि पाउँछन्।
कार्यालयले सिँचाइ पोखरी, ड्रम, पाइप, प्लास्टिक लगायत प्रबन्ध गर्न पनि सहयोग गर्ने गरेको छ।
बागचौर नगरपालिका–९ मा प्रांगारिक कृषक पाठशाला कार्यक्रम लागू भएको छ। यो कार्यक्रमले प्रांगारिक मल उत्पादन र प्रयोगका लागि किसानलाई प्रशिक्षण दिने गरेको छ।
कार्यालयले सुन्तलाको गुणस्तरीय बिरूवा उत्पादनका लागि नर्सरी कार्यक्रम पनि लागू गरेको छ। यसअन्तर्गत बिरूवा उत्पादन, माउबोट बिरूवाको व्यवस्थापन, रसायनमा किसानले प्राविधिकको मद्दत पाउँछन्।
जिल्ला कृषि विकास कार्यालय, सल्यानका सूचना अधिकारी ईश्वरी नारायण घर्तीका अनुसार यस वर्ष सल्यानमा आठ हजार ६ सय टन सुन्तला उत्पादन हुने र चार हजार सात सय टन जिल्लाबाहिर जाने अनुमान छ।
यसबाट कम्तीमा साढे ३५ करोड रूपैयाँ आम्दानी हुनेछ।
'यो वर्ष गत वर्षभन्दा निकै राम्रो उत्पादन छ,' उनले भने, 'झन्डै १५ प्रतिशत उत्पादन बढेको छ। यो वर्ष सल्यानले सुन्तलाबाट गत वर्षभन्दा राम्रो आम्दानी गर्छ।'
कृषि कार्यालयको तथ्यांकअनुसार गत वर्ष सल्यानबाट २९ करोड ३४ लाख रूपैयाँको सुन्तला अन्य जिल्लामा गएको थियो।