सल्यानको शारदा नगरपालिका–५, रातामाटाका ३६ वर्षीय स्वागत शाहीले यस वर्ष हालसम्ममा ४४ क्विन्टल सुन्तला बेचे।
जिल्लाकै एक जना ठेकेदारले बगैंचामै आएर प्रतिकिलो ४० रूपैयाँका दरले एक लाख ८० हजार रूपैयाँको सुन्तला किने।
ती ठेकेदारले सबै सुन्तला बाँकेको कोहलपुर पुर्याए।
'अझै चार बोट सुन्तला बाँकी छ। त्यो पनि बेच्दा गर्दा यस वर्ष कम्तीमा दुई लाख रूपैयाँ आम्दानी हुन्छ,' स्वागतले भने।
पोहोर सुन्तलाबाट उनले दुई लाख ५६ हजार रूपैयाँ लिएका थिए। यस वर्ष कम फल्यो। एक वर्ष राम्रो दाना लागेको हाँगामा अर्को वर्ष कम हुने उनी बताउँछन्।
उनको बगैंचामा सुन्तलाका ११२ बोट छन्। हजुरबुबा दुर्गाबहादुरले रोपेको ४० वर्ष पुरानो एउटा बोटले अहिले पनि फल दिइरहेको छ। एउटा बोटले कम्तीमा २० वर्ष फल दिन्छ। सामान्यतया रोपेको चौथो वर्षदेखि फल लाग्न सुरू हुन्छ।
रातामाटा गाउँमा १२६ घरपरिवार छन्। सबैका बारीमा सुन्तलाका बोट छन्। थोरै हुनेसँग पनि १० बोट छन्। यतिले परिवारमा खान, आफन्तलाई दिन र राम्रो फलेको भए थोरैतिनो बेच्न पनि पुग्छ।
गाउँमा १२ जना किसानसँग ५० वटाभन्दा बढी बोट छन्। यी किसान ७० हजार रूपैयाँसम्मको सुन्तला बेच्छन्।
स्वागत रातामाटा गाउँमा धेरै सुन्तला उत्पादन गर्नेमध्येका हुन्।
यस वर्ष सबभन्दा धेरै सुन्तला जितबहादुर कुमाईंको बगैंचामा छ। उनले बेच्न बाँकी नै छ।
'राम्रो भाउ पर्खेको हुँ। बगैंचामा पहेँलपुर सुन्तला देखेर ठेकेदारहरू आइरहन्छन्। कम्तीमा ५० रूपैयाँ किलोमा एकै लटमा बेच्ने विचार छ,' उनले भने, 'तीन लाख रूपैयाँ जति आम्दानी होला।'
स्वागतका अनुसार रातामाटा क्षेत्रमा व्यावसायिक रूपमा सुन्तला उत्पादन हुन थालेको १५ वर्ष भयो। मुलुकमा सशस्त्र द्वन्द्व टुंगिएर शान्ति प्रक्रिया सुरू भएपछि यहाँको सुन्तलाले बजार पाएको हो।
'आफैले खान रोपेका बोटमा फलेका सुन्तला किन्न ठेकेदारहरू आउन थालेपछि कमाइ हुँदो रहेछ भन्ने बुझेर व्यावसायिक खेती हुन थालेको हो,' उनले भने, 'हरेक वर्ष कोदो फलाउनुभन्दा सुन्तलाको बगैंचा बनाउँदा राम्रो आम्दानी हुने भएपछि यसमा आकर्षण बढेको हो।'
स्वागतले हाल दुई रोपनी जग्गामा सुन्तला बगैंचा बनाएका छन्। त्यहाँ पहिला कोदो रोप्थे। त्यति जग्गामा कोदो रोप्दा बढीमा १५ हजार रूपैयाँ आम्दानी हुन्थ्यो। सुन्तलाबाट दुई लाख रूपैयाँ हाराहारी हुने उनले बताए।
सानै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि बिस्तारै गाउँलेहरू सुन्तला खेतीमा आकर्षित हुँदै गएको उनले बताए।
रातमाटा समुद्री सतहबाट झन्डै १२ सय मिटर उचाइमा भएकाले यहाँको सुन्तला गुणस्तरीय हुने स्वागतको भनाइ छ।
सुन्तलाको बोटमा फागुनमा फूल लाग्न सुरू हुन्छ। यही बेला सिँचाइ गर्न थाल्नुपर्छ। चैत, वैशाख, जेठमा राम्रो सिँचाइ गर्न नसके फल राम्ररी लाग्दैन। बोट सुक्न पनि सक्छ।
रातामाटामा सिँचाइका लागि पानीको भरपर्दो स्रोत छैन। घरको धारामा आउने पानीबाटै सिँचाइ गरिरहेको स्वागतले बताए।
उनी सुन्तला बेचिसकेपछि माघभरि सबै बोटमा गोबर मल दिन्छन्। कहिलेकाहीँ सुन्तलाका दाना ठूलै भएपछि पनि रोगकीराले सखाप पार्न सक्छ। त्यसबाट जोगाउन भदौ-असोजमा विषादी छर्नुपर्छ।
चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय, सल्यानले रातामाटा गाउँमा सुन्तलाखेती प्रवर्द्धन गर्न बजेट छुट्याएको छ। कलमी बिरूवा रोप्न सिफारिस पनि गरेको छ।
गाउँका पाँच परिवार मिलेर २० रोपनीमा सुन्तलाका कलमी बिरूवा रोप्ने तयारी गरेका छन्। कलमी बोटले साढे दुई वर्षमै फल दिन थाल्छ। दाना पनि ठूलो र आकर्षक हुन्छ।
कार्यालयका सूचना अधिकारी ईश्वरी नारायण घर्तीका अनुसार यस वर्ष सल्यानमा आठ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन हुने र चार हजार सात सय मेट्रिक टन जिल्लाबाहिर जाने अनुमान छ।
यसबाट कम्तीमा साढे ३५ करोड रूपैयाँ आम्दानी हुनेछ।
'यो वर्ष गत वर्षभन्दा निकै राम्रो उत्पादन छ,' उनले भने 'झन्डै १५ प्रतिशत उत्पादन बढेको छ। यो वर्ष सल्यानले सुन्तलाबाट गत वर्षभन्दा राम्रो आम्दानी गर्छ।'
गत वर्ष सल्यानबाट २९ करोड ३४ लाख रूपैयाँको सुन्तला अन्य जिल्लामा गएको थियो।