मेहनत र लगनशीलता भए काम गर्न उमेरले छेक्दैन भन्ने उदाहरण हुन् मदन अर्याल।
काठमाडौंको दक्षिणकाली नगरपालिका-२ का मदनको उमेरले ६० वर्ष नाघिसक्यो। चार वर्षदेखि उनी खेती गरिरहेका छन्।
६ आना जमिनमा उनले दुइटा टनेल बनाएका छन्; एउटा ठूलो, अर्को अलिक सानो। ठूलो टनेलमा सयपत्री, गोदावरी, मखमली लगायत फूलखेती गर्छन्। सानोमा आफूलाई चाहिने मौसमी तरकारी फलाउँछन्।
'घरमा खाली बस्नुभन्दा काम गर्नु ठीक लाग्छ। काम गर्दा दाम पाइन्छ, मनमा सन्तुष्टि पनि हुन्छ,' मदनले भने, 'व्यवसायी बन्ने भन्दा पनि दिन कटाउने हिसाबले काम गरेको हुँ।'
मदन सरकारी जागिरे थिए। सेवानिवृत्त भएपछि खेतीमा लागेका हुन्।
उनको बारीका सबैजसो फूल टनेलबाटै बिक्री हुन्छ। चिसो मौसममा भने उत्पादन गर्न गाह्रो हुने उनले बताए।
उनी एक किसिमको फूल वर्षमा एकपटक मात्र उत्पादन गर्छन्। फागुन-चैतमा बिउ राख्छन्। बेर्ना तयार हुन एक महिना लाग्छ। चैत-वैशाखमा बेर्ना सार्न सुरू हुन्छ। असारमा बिक्रीका लागि तयार हुन्छ।
उनले उत्पादन गरेको फूल बगलामुखी मन्दिर आसपासका व्यापारीले किन्छन्। दक्षिणकाली मन्दिर परिसरमा पनि फूलको माग छ तर उनलाई काठमाडौं महानगरपालिकातिरका व्यापारीलाई बेच्न सहज हुन्छ।
'विशेष गरी मालाका लागि फूलको माग हुन्छ। माला बनाउन एकै आकारका फूल चाहिन्छ। बजारमा खुद्रा बेच्न एकै आकारको चाहिँदैन। बजार सहज छ,' उनले भने।
दक्षिणकालीका स्थायी बासिन्दा मदनको श्रीमती र दुई छोरासहित चार जनाको परिवार छ। सबै जना आआफ्ना काममा व्यस्त छन्। श्रीमती शिक्षक हुन्, घरनजिकै स्कुलमा पढाउँछिन्। जेठा छोरा बैंकमा जागिरे छन्। कान्छा विद्यार्थी हुन्।
मदन घरका जेठा छोरा थिए, दुई भाइ र दुई बहिनीका दाजु। उनका बुबा पनि सरकारी जागिरे थिए। आमा गृहिणी। बुबाको जागिर र खेतीको आम्दानीले घर चल्थ्यो।
उनले २०४१ सालमा घरनजिकैको स्कुलबाट १० कक्षाको अन्तिम परीक्षा (एसएलसी) उत्तीर्ण गरे। थप पढाइका लागि नेपाल ल क्याम्पस भर्ना भए।
जेठा छोरो भएकाले पारिवारिक जिम्मेवारी पनि थियो। पढ्दै एउटा ल फर्ममा जागिरे भए। बुबाआमालाई सघाउन नसके पनि आफूलाई बाटोखर्च र खाजाखर्च पुर्याउँथे।
दिन बित्दै जाँदा उनलाई ल फर्ममा काम गर्ने रूचि भएन। सरकारी जागिरे बुबाको प्रेरणाले उनी पनि त्यतै आकर्षित भए।
'पढेलेखेका युवाहरू सरकारी जागिर नै रोज्थे। बुबा सरकारी जागिरे भएकाले म पनि त्यतै लाग्नु स्वाभाविकै थियो,' उनले भने, 'सरकारी जागिरको धेरै महत्त्व थियो। एसएलसी दिएपछि सबैको चाहना लोकसेवा पढ्ने हुन्थ्यो।'
मदनले लोक सेवा परीक्षाको तयारी गरे। परीक्षा तयारी गराउने ट्युसन कक्षा थिएनन्। पुस्तकालय धाउनुपर्थ्यो, किताब खोजेर पढ्नुपर्थ्यो, अनुभवीहरूसँग सोधेर तयारी गर्नुपर्थ्यो।
लोकसेवा परीक्षाको तयारी गर्ने भएपछि कलेजको पढाइ छुट्यो।
मदन पाँचौं प्रयासमा २०४५ सालमा खरिदार पदमा उत्तीर्ण भए। पहिलोपटक तत्कालीन गाउँपञ्चायत कार्यालयको सचिव नियुक्त भएर सिन्धुपाल्चोक पुगे।
सचिव भएर जाँदा स्थानीयवासीले सम्मान गरेको दृश्य उनको सम्झनामा अहिले पनि ताजा छ।
उनले भने, 'गाउँमा सचिव र शिक्षक पढेलेखेका मान्छेमा गनिन्थे। त्यस्ता मान्छेलाई आफ्नो घरमा डेरा दिन तँछाडमछाड हुन्थ्यो। आफ्नो घरमा राख्न सके छोराछोरी पढाइदेलान् भन्ने आशा हुन्थ्यो।'
उनी स्थानीयवासीको घरमा बसेनन्। गाउँ पञ्चायत कार्यालयकै निवासमा बसे।
त्यहाँ दुई वर्ष काम गरेपछि सरूवा भएर अछाम पुगे। त्यसपछि जागिरको क्रममा दोलखा, नवलपरासी, प्युठान, मकवानपुर लगायत जिल्ला पुगे। बढुवा हुँदै शाखा अधिकृतसम्म भए।
सरकारी सेवामा ३३ वर्ष बिताएपछि उमेर हद पूरा हुनुभन्दा दुई वर्षअघि, २०७६ सालमा अवकाश लिए। अवकाश लिँदा शिक्षा विकास निर्देशनालय, हेटौंडामा थिए।
उनले जागिर छोड्नुअघि नै फूलखेती गर्ने योजना बनाएका थिए। थोरै लगानीले पुग्ने, विषादी प्रयोग गर्नु नपर्ने, सिँचाइका लागि धेरै पानी नचाहिने र सजिलै बिक्री हुने भएकाले फूलखेती रोजेको उनको भनाइ छ।
उनले जागिर छाड्नुअघि नै फूलखेतीको तयारी गरे, टनेल बनाए। जागिर छोडेपछि फूलखेती गर्ने किसानहरूलाई भेटे। खेतीको तरिका जानकारी लिए।
गुणस्तरीय बिउ खोजेर फागुनमा बेर्नाको काम सुरू गरे। टनेल बनाउन र बिउ किन्न गरेर ६० हजार रूपैयाँ खर्च भयो।
बेर्नाका लागि बिउ राखेको चार महिनापछि २०७७ साल असारमा पहिलो खेपको फूल बिक्रीका तयार भयो। आफैले बजार लगेर खुद्रा व्यापारीलाई बेचे। उही बोटमा कात्तिकसम्म फुलिरह्यो।
पहिलो वर्ष नै उत्पादन राम्रो भयो। एक लाख १० हजार रूपैयाँको फूल बेचे।
आजकाल एक सिजनमा ८० हजार रूपैयाँसम्मको फूल बेच्छन्। खर्च कटाएर कम्तीमा ५० हजार रूपैयाँ बचत हुन्छ। एउटा टनेलको तरकारीले घरमा ठूलै भरथेग पनि भएको छ।
मदन खेती बढाउन चाहन्छन् तर सिँचाइ सुविधा नहुँदा आँट गर्न सकेका छैनन्। सिँचाइको सुविधा भए निकै राम्रो उत्पादन हुने उनको विश्वास छ।
भन्छन्, 'फूलखेतीले हाते खर्च चलेको छ। सकुन्जेल यही काम गर्छु।'