झोल मलले बालीमा लाग्ने रोग तथा कीरा नियन्त्रण गर्छ। यो प्रांगारिक मलले बिरूवालाई आवश्यक तत्वहरू प्रदान गर्छ।
झोल मल गाईवस्तुको गोबर, पिसाब, असुरो, सिस्नु, तितेपाती, नीम र बकाइनो जस्ता विभिन्न वनस्पतिहरूबाट तयार पारिन्छ।
यी तत्वहरूलाई फरक फरक मात्रामा मिसाएर तीन प्रकारका झोल मल बनाउन सकिन्छ।
रासायनिक मल तथा रासायनिक विषादीको सट्टामा झोल मल प्रयोग गरी रोग तथा कीरा नियन्त्रण गर्न सकिन्छ। सुरक्षित खाद्य उत्पादन गर्न सकिन्छ। बाली उत्पादनको लागत घटाउनुका साथै वातावरण संरक्षण पनि गर्न सकिन्छ।
झोल मल बनाउने तरिकाः
झोल मल बनाउन सबभन्दा पहिला गाईवस्तुको पिसाब संकलन गर्नुपर्छ। संकलित पिसाब घामपानीबाट जोगाउनुपर्छ। झोल मल बनाउने सामग्री कति परिमाणमा मिसाउने भन्ने कुरा तपाईंसँग उपलब्ध भाँडोको क्षमता अनुसार निर्धारण हुन्छ।
पचास लिटर क्षमताको ड्रममा झोलमल (पहिलो प्रकारको) बनाउन १७ किलो गाईको गोबर, १६ लिटर गहुँत, १६ लिटर पानी र १ लिटर जिवातु हाल्नुपर्छ। यो मल तयार पार्न १५ देखि ३० डिग्री सेल्सियस तापक्रममा १५ दिनसम्म राख्नुपर्छ।
तीन दिनको अन्तरालमा लौरोले घुमाएर घोली राख्नुपर्छ।
झोल मल (दोस्रो प्रकारको) बनाउन पचास लिटर क्षमताको ड्रममा २४.५ लिटर गाईवस्तुको पिसाब, एक लिटर जिवातु र २४.५ लिटर पानी हाल्नुपर्छ। यो तयार हुन पनि १५ दिन लाग्छ।
झोल मल १ र २ तयार भएपछि गहुँत र गोबरको गन्ध हराउँदै जान्छ। झोलको माथि हरियो रङ देखिन्छ।
तेस्रो प्रकारको (झोल मल ३) बनाउँदा पचास लिटरको ड्रममा २० लिटर गाईवस्तुको गहुँत, दस किलो वनस्पति, एक लिटर जिवातु र २० लिटर पानी हाल्नुपर्छ।
यो तयार हुन लगभग एक महिना लाग्छ। तयार भएपछि कुहिएको वनस्पतिको कडा गन्ध आउँछ।
यसलाई मसिनो कपडाले छानेर झोल छुट्ट्याउनुपर्छ।
झोल मल प्रयोग गर्दा एक भागमा तीन भाग पानी मिसाउनुपर्छ। कलिलो बिरूवाका लागि एक भाग बराबर पाँच भाग पानी मिसाउनुपर्छ। यसले रोग तथा कीरा पनि नियन्त्रण गर्छ।
बिरूवा रोपेको १५ दिनको अन्तरालमा चार-पाँच पटक प्रयोग गर्दा फरक देखिन्छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कृषकसँग गरेको अनुसन्धानले झोल मल प्रभावकारी देखिएको इसिमोडका इकोसिस्टम विशेषज्ञ एरिका उदास बताउँछिन्।
घरमै तयार गर्न सकिने झोल मल जैविक भएकाले किसानका राम्रो विकल्प हुने उनले बताइन्।