दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० गौलाराका मानबहादुर चौधरीले झन्डै डेढ बिगाहा खेतमा धान रोपिसकेका छन्।
धानमा हाल्न भनेर असार २२ गते उनले स्थानीय टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेडबाट रासायनिक मल ल्याए। प्रति बोरा दुई हजार पाँच सयका दरले उनले पाँच बोरा मल १२ हजार पाँच सय रूपैयाँमा ल्याएर खेतमा हाले।
'सहकारीका पदाधिकारीले यो रासायनिक मल प्रयोग गरे छुट्टै युरिया प्रयोग गर्नु पर्दैन, दुवैको काम यसले गर्छ भनेका थिए,' मानबहादुरले भने।
तर उनले रोपेको धानमा कुनै परिवर्तनको छनक देखिएन।
'अहिलेसम्म धान पहेँलै छ,' उनले भने, 'अहिलेसम्म धानमा मल परेको संकेत छँदै छैन। हाम्रो पसिना र खर्च सबै खेर जाने अवस्था भयो।'
आफूहरूलाई गुणस्तरहीन मल दिएको उनको भनाइ छ। मानबहादुरजस्तै गुनासो भएका अर्का किसान हुन् कृष्णबहादुर केसी। टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेड कार्यालयमा भेटिएका उनले पनि मलले काम नगरेको बताए। कृष्णबहादुरले पनि मानबहादुरले लगेकै मल आफ्नो खेतमा हालेको बताए।
सहकारीले उनीहरूलाई 'के गोल्ड' ब्रान्डको रासायनिक मल बिक्री गरेको थियो।
'ज–जसले यो मल खेतमा प्रयोग गरे, सबैको धानको अवस्था उस्तै छ,' कृष्णबहादुरले भने, 'मलमा बालुवा र माटो मात्रै छ। हामीलाई ठग्नेलाई कारबाही हुनुपर्छ।'
यो मलका बारेमा त्यस्तै गुनासो लिएर मानबहादुर र कृष्णबहादुरसँगै शालिकराम खत्री, स्यानी चौधरी, शिवु चौधरी, जलबहादुर चौधरी लगायत ५० बढी किसान सहकारीमा आएका थिए। उनीहरूका अनुसार खेतीका लागि नभई नहुने रासायनिक मल ल्याउने भन्दै सहकारीले गत माघ महिनादेखि रकम संकलन थालेको थियो।
'किसानसँग ६ महिनाअगाडि पैसा लिए तर नक्कली मल दिए,' शिवुले भने, 'किसानलाई ठग्ने यस्ता सहकारीमाथि कारबाही हुनुपर्छ।'
सहकारीमा गुनासो लिएर आइपुगेका किसानले एउटा भाँडोमा मल र रासायनिक मल राखेर घोलेरसमेत देखाएका थिए। मलमा माटो र बालुवा भएको उनीहरूले बताए।
'यसरी बालुवासहितको कालो माटो छ,' उनीहरूले देखाउँदै भने।
सहकारीमा पुगेका वडा नम्बर १० का अध्यक्ष यमराज केसीले किसानहरूको गुनासो आफूले सुनेको भन्दै सत्य बुझेर अगाडि बढ्ने बताए।
टरिगाउँ महिला कृषि सहकारी संस्था लिमिटेडकी प्रबन्धक सुनिता भण्डारीले पनि किसानले लगेको मलमा कमजोरी रहेको स्वीकार गरिन्। आफूले घरमा हेर्दा पनि बालुवा र माटो मिसिएको देखिएको उनले बताइन्।
'हामीले त किसानको हकहितमा काम गर्न खोजेको हौं,' उनले भनिन्, 'तर उत्पादक कम्पनीको बदमासीका कारण हामीलाई समेत अप्ठ्यारो हुन थालेको छ।'
उनका अनुसार सहकारीले के गोल्ड रासायनिक मल कञ्चनपुरको सुधारत्न ट्रेडर्स एन्ड सप्लायर्सबाट किनेको थियो। मल नपाइरहेको समयमा एक जना व्यापारी आएर सप्लायर्सबारे जानकारी दिएपछि आफैंले कुरा गरी मल खरिद प्रक्रिया अगाडि बढेको भण्डारीले बताइन्।
ती व्यापारी को थिए भन्नेबारे उनले खुलाउन चाहिनन्। सप्लायर्सका प्रोप्राइटर भने कुन्दनराज जोशी हुन्।
'हामीलाई प्रतिबोरा खरिद मूल्य दुई हजार चार सय रूपैयाँ परेको हो। सहकारीलाई एक सय रूपैयाँ नाफा राखेर चार सय २० बोरा मल किसानलाई बिक्री गरेका हौं,' प्रबन्धक भण्डारीले भनिन्।
कम्पनीको बदमासीका कारणले समस्या उत्पन्न भएको भन्दै उनले वितरकसँग कुरा गरेर समस्या समाधानका लागि पहल थालिसकेको बताइन्।
'बालुवा र माटो मिसाइएको मल सबै फिर्ता पठाउन सप्लायर्सले भनिसकेको छ,' उनले भनिन्, 'अब हामी किसानलाई मल फिर्ता ल्याउन आग्रह गर्ने छौं।'
खेतमा प्रयोग गरिसकेका किसानको हकमा भने क्षतिपूर्ति दिन नसकिने भण्डारीले बताइन्।
'प्रयोग गरेर बचेको आधा बोरा वा कति केजी छ, सबै मल फिर्ता पठाइदिनुस् भनेर सप्लायर्सले भनेको छ,' उनले भनिन्, 'खेतमा प्रयोग भइसकेको मलको हकमा भने केही गर्न सक्ने अवस्था छैन।'
मल प्रयोग गरिसकेका किसानले भने त्यसको पनि क्षतिपूर्ति पाउनु पर्ने माग गरेका छन्।