सोमबार रातीदेखि लगातार आएको हावापानीले झापामा कम्तीमा ६० हजार मेट्रिकटन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
किसानका खेतमा धानको बोट पसाएको, पोटाएको र पाकिसकेको धान पानीमा चुर्लम्म डुब्दा उत्पादन खेर जाने केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले बताएका छन्।
चामल पसाएको र पोटाएको धानको बोट हावाले ढालेका कारण उत्पादनमा भारी गिरावट आउने उनले सेतोपाटीलाई जानकारी दिए।
झापामा ८६ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो। उनका अनुसार हावापानीले १३ हजार हेक्टरभन्दा बढी धान बाली भुइँमा लपटिएको अवस्थामा छ। झापामा १६ प्रतिशत धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ।
धान रोपाइँ र क्षतिको विवरण हेर्दा एकै दिनको हावापानीले ६० हजार मेट्रिकटन धान सड्ने अवस्थामा पुगेको भट्टराईले बताएका छन्।
पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा सुकाउन पाँजा बनाएर राखिएको धानमा क्षति पुगेको भट्टराईले बताए।
'मंगलबार हामीले जिल्लाका अधिकांश पालिकामा किसानले लगाएको धानवालीको अवस्था हेर्यौं,' उनले भने, 'क्षतिको अवस्था हेर्दा मन बुझाउने ठाउँ नै छैन।'
उनका अनुसार सबै पालिकाहरूमा क्षति बराबर भएको छ। हावापानी नरोकिएकाले क्षति अझ बढ्ने कृषि विज्ञ भट्टराईले जानकारी दिए।