शिवसताक्षी नगरपालिकाको वडा नम्बर-५ सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने वडा हो। आदिवासी जनजाति समुदायका मानिसको अधिक बसोबास रहेको यो वडाका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारी खेती नै हो।
खेती नहुने किसानले साहूका जग्गा ठेक्का र लिजमा जग्गा लिएर तरकारी खेती गर्छन् भने खेती हुने किसानले आफैं गर्छन्। नगरमा यसरी नै व्यावसायिक तरकारी खेती हुने अन्य ४ र ६ नम्बर वडा पनि हुन्।
यहाँका स्थानीयले पुस्तौंदेखि तरकारी खेती गर्दै आएका छन्। ५ नम्बर वडाकी नदिया राजवंशीले धान, मकै, तोरी, गहुँ लगायतका बालीको खेती नगरेको वर्षौं भयो।
तरकारी खेतीले उनलाई राम्रो आम्दानी दिएपछि धान, मकै, गहुँ लगायतका बालिको खेती उनले नगरेको उनी बताउँछिन्। उनले भनिन्, ‘भात खान त थोरै खेतीमा तरकारी बाली लगायो भने पुगिहाल्छ नि।’
उनको सात कठ्ठा जग्गा छ। त्यही जग्गाामा उनले तरकारी खेती गरेर वार्षिक दुई लाख बढी आम्दानी गर्छिन्। उनका अनुसार धानखेती गर्दा प्रतिकठ्ठा ६ मनका दरले धान फल्यो भने ४२ मन हुन्छ। बजारमा त्यसको मूल्य प्रतिमन १२ सय नै भयो भने पनि ५० हजार ४ सय मात्र हुन्छ।
तर, यति धान फलाउन किसानले जोत्न, मल बिउ, पानी र मजदुरको ज्याला गरेर २० हजार वार्षिक खर्च गर्नुपर्छ। राजवंशीले भनिन्, ‘वर्षभरि श्रम गर्दा पाँच जना परिवारको गुजारा चलाएर पनि दुई लाख तरकारी खेतीबाटै आम्दानी गर्न सकिने त म आफैं उदाहरण हुँ।’
उनले फूलकोभी, बन्दाकोभी, खुर्सानी, टमाटर, आलु, प्याज, लसुन, रायो, भिण्डी, बैगुन लगायतका तरकारीको खेती गर्ने गरेकी छन्।
‘तरकारी सिजन अनुसारको खेती हो। बेमौसममा पनि तरकारी खेती मनग्य हुने गरेको छ,’ उनले भनिन्।
डेढ दसकदेखि तरकारी खेती गर्दै आएका अर्का ऋषिदेव साहले खाद्यान्न बालीभन्दा पनि तरकारी बालीबाटै मनग्य आम्दानी गर्न सकिने बताए। किसानले उत्पादन गरेका तरकारीले जिल्लामा राम्रो बजार पाउने हो भने वार्षिक तीनदेखि पाँच लाख रूपैयाँ आम्दानी गर्न अरू कुनै पेसा व्यवसाय गर्नु नपर्ने ऋषिदेवले बताए।
‘भारतबाट आयात हुने तरकारीलाई सरकारले नियन्त्रण गर्ने हो भने तरकारी खेती गर्ने किसानका दु:खका दिन हराउने छन्,’ उनले भने।
५ नम्बर वडामा तरकारीको सामूहिक खेती पनि हुने गरेको छ। स्थानीय जगतवीर लिम्बुको नेतृत्वमा २२ जना किसानले चार बिगाहामा तरकारी खेती वर्षौंदेखि गरिरहेको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए।
वडामा २५ वटा व्यावसायिक तरकारी खेती गर्ने समूह छ। मौसम अनुसारको तरकारी खेती गर्ने गरेको समूहका अध्यक्ष लिम्बुले जानकारी दिएका छन्।
मंगलबार वडामा तरकारी खेती गर्ने किसानको पहिचान गरी उनीहरूलाई विभिन्न कृषि सामग्री अनुदान दिएको छ।
वडामा व्यावसायिक तरकारी खेती गरिरहेका किसान र समूहले अनुदानमा कृषि सामग्री पाएका हुन्।
२२ जना किसानले टनेल, २३ जनाले मन्चिङ्ग प्लाष्टिक, ३१ जनालाई स्प्रे ट्यांकी, र ३१ जनालाई प्रांगारिक मल प्रदान गरेको थियो। समूहमा खेती गर्ने किसानले पनि सामग्री पाएका छन्।
वडाले कृषि विधातर्फ चार लाख रूपैयाँ बराबरका कृषि सामग्री अनुदान दिएको छ। यस्तै, वडामा रहेको पशु सेवा केन्द्रमा पशुको नश्ल सुधारका लागि दुई लाख ४० हजार रूपैयाँ बराबरको नश्ल सुधार कन्टेनर पनि प्रदान गरेको छ।
यी सामग्री वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख चन्द्रकुमार शेर्मा, वडाध्यक्ष सत्यनाराययण राजवंशी र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले प्रदान गरेका थिए।
नगर प्रमुख शेर्माले उन्नत जातका तरकारी बालीको खेती गरिरहेका किसानलाई हौसला प्रदान गर्न नगरले कृषि सामग्री अनुदान दिने गरेको बताए। नगरमा यो कार्यक्रम तीन वर्षदेखि सञ्चालनमा रहेको छ।
उत्पादन बढाउनका लागि तरकारी खेतीमा प्रयोग हुने टनेल, मन्चिङ मेसिन, स्प्रे टकी लगायतका सामग्री किसानलाई वितरण गर्न थालिएको उनले बताए।
किसानलाई उन्नत बिउ, प्राविधिक सहयोग, किटनाशक, सिँचाइका लागि पम्प सेट र रासायनिक मलमा सहयोगसमेत नगरपालिकाले गर्दै आएको छ।
प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले किसानले अनुदानमा पाएका सामग्रीको अधिकतम् प्रयोग गर्न किसानलाई अनुरोध गरिन्।
‘सकिन्छ सदुपयोग गर्नुहोस्, सकिँदैन दुरुपयोग चाहिँ नगर्नुहोस्,’ उनले भनिन्।
नगरमा तरकारी खेती गर्दै आएका किसानका समस्या बुझेर वडाले योजना बनाई यान्त्रीकरण र आधुनिक तरिकाले तरकारी खेती गर्न सामग्री प्रदान गरिएको वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए।
५ नम्बर वडाका सबै जनप्रतिनिधि कार्यक्रममा सहभागी थिए। उनीहरूले निर्वाचनताका जनतासँग बोलेका कुरा पूरा गर्ने क्रममा कृषि क्षेत्रका सामग्री किासनलाई अनुदानमा दिन वडामा यो कार्यक्रम समावेश भएको बताए।