कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो।
नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा झण्डै रु २५ लाखभन्दा बढीको क्षति भएको छ।
वडा नं २, ३, ४ र ११ मा लगाइएको बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पु¥याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए।
‘चारवटै बालीमा झण्डै सात लाखभन्दा बढीको क्षति भएको पाएका छौँ’ उनले भने। असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिँचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् ।
शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताए।
‘पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ’ उनले भने “टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ ।
यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन्।