तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता


इञ्जिनियरिङ पढाइ सकेका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहेका छन्।

१२ रोपनी जग्गा भाडामा लिएर उनले तीन वर्ष अघिदेखि नैे तरकारीखेती शुरु गरेका हुन्। तीन जना नियमित कर्मचारी पनि उनको फार्ममा काम गर्छन्। सडक सुविधा भएको ठाउँ र बजारको नजिक हुँदा तरकारीखेतीबाट आम्दानी गर्न सकिने उनको अनुभव छ।

उनी भन्छन्, “यहाँ बजारको कति पनि समस्या छैन।” उनको फार्ममा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी छन्। तामाङ जस्ता शिक्षित युवाको तरकारीखेतीमा आकर्षण बढ्दो छ।

विभिन्न विषयमा अध्ययन पूरा गरेका धेरै युवाले अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न छन्। अध्ययनका लागि वा रोजगारीका लागि विदेश गएर आएका धेरैले आधुनिक र व्यावसायिकखेती गरिरहेका छन्।

विदेशमा कृषि वा तरकारीखेती गरेर आएका युवा स्वरोजगार मात्रै भएका छैनन्, अरुलाई रोजगारी समेत दिएका छन्। उनीहरुको नेपालमा आधुनिक प्रविधि भित्र्याउनमा समेत योगदान छ।

इजरायल लगायतका देशबाट फर्किएका युवामध्ये धेरै अहिले स्वदेशमै तरकारीखेतीमा आवद्ध छन्। केहीले भने यहीं आधुनिक प्रविधि भित्र्याएर तरकारीको बिक्री गर्न लागेका छन्। काठमाडौं उपत्यका, असापासका जिल्ला र उपत्यका बाहिर पनि शहरी क्षेत्र नजिकमा अहिले व्यावसायिक तरकारीखेती फैलिंदो छ।

भर्खरै राजनीतिशास्त्रमा स्नात्तकोत्तर सकेकी दाङकी रिता सुनार पनि तरकारीखेतीबाट आत्मनिर्भर बन्ने र अरुलाई समेत रोजगारी दिने युवा समूहमा पर्छिन्। उनले तीन जनालाई नियमित रोजगारी दिएकी छन्।

विदेश जाने प्रक्रियाका लागि काठमाडौं आएका होस् वा भिसा कुरेर बसेका जिल्लावासी किन नहोस् ती सबै युवा एकपट ‘रिता दिदी’ सम्झदै उनी कहाँ पुग्छन्। त्यस्ता युवालाई उनले खाने र बस्ने व्यवस्था मिलाइदिन्छिन्।

यहाँ रहँदासम्म आफ्नो फार्ममा काम गर्न लगाएर जाँदा पारिश्रमिक दिने गर्छिन् उनी। पहिले साथीको फार्ममा काम गरेकी उनले उताबाट सिकेर आफूले काम थालेकी हुन्।

१५ रोपनी जग्गामा झण्डै २१ लाखको लगानीमा उनले आफ्नै कृषि फार्म सञ्चालनमा ल्याएकी छिन्। उनी भन्छिन्, “काम शुरु गरेको दुई वर्षमा राम्रो नै भइरहेको छ ।”

तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी गुगलबाट आवश्यक कुरा खोजेर र युट्युबबाट नयाँ ज्ञान सिकेर खेती गर्ने जमात तरकारीखेतीमा बढिरहेको बताउँछिन्। तरकारीखेतीमा युवा पुस्ताको आकर्षणले कृषि आधुनिक बन्दै गएको उनीले बताउँछिन्।

नयाँ पुस्ताले आधुनिक र प्रविधियुक्त खेती गरिरहेका छन् । प्रविधिको प्रयोग गर्दा बोटसम्म पानी पाइपबाट नै जान्छ। रासायनिक मल पनि पाइपबाट जान्छ, बोकेर हाल्नु पर्दैन, उनी भन्छिन्, “पहिले सधैँं घाममा वा भिज्दै कडा शारीरिक परिश्रम गर्नुपर्छ भनेर युवा खेतीमा लाग्न चाहँदैनथे तर अहिलेको अवस्था परिवर्तन भएको छ, प्रविधिले खती गर्न सहज बनाएको छ।”

पहिले खेतबारीमा काम गर्न धुलोमैलो भएर जाने गरेकामा अहिले एप्रोन र चस्मा लगाएर जानेको संख्या बढ्दै छ।

विदेशबाट फर्किएर तरकारीखेतीमा लागेका युवा धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन्। नुवाकोटका सोम तामाङ पहिले उनको गाउँमा गोलभेँडाखेतीमा लाग्ने एक जना मात्रै युवा थिए।

अहिले सिंगो गाउँमा गोलभेँडाखेती फैलिएको छ। यस वर्ष उनको गाउँबाटै मात्रै झण्डै ९० लाख रुपैयाँको गोलभेँडा बिक्री भएको छ।

तामाङले विदेशबाट सिकेका कुरा गाउँलेलाई समेत सिकाएर सिंगो गाउँलाई सम्पन्न बनाएका छन्। तामाङ जसरी नै विदेशबाट सिकेको सीप र प्रविधि यहाँ प्रयोग गर्ने युवा धेरै जना छन्।

परम्परागत खेती गर्नेलाई विस्तारै आधुनिक खेती गर्ने जमातले विस्थापित गर्दै लगेको छ।

परम्परागत खेती गर्ने पहिले उत्पादन गरेर बजार खोज्छन्। आधुनिक किसान भने बजारको मागअनुसार उत्पादन गर्छन्, जोशी भन्छन्, “शिक्षित युवाले यो एक दशकमा कृषिमा साच्चै नपत्याउने गरी परिवर्तन गरिरहेका छन्।” आगामी वर्षमा तरकारीखेतीमा अझै परिवर्तन हुने उनले बताए।

जीविकोपार्जनका लागि विदेश गएका धेरे युवा स्वदेश फर्किएपछि व्यवसायिक किसान बनेका छन्। आधुनिक प्रविधि प्रयोग गर्ने किसानलाई निर्देशनालयले विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको छ। रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.