तीन महिनामा ३ गुणासम्म सस्तियो तरकारीको भाउ


‘तराजुमा वजन जोख्न राखिएको कुखुराले मलाई घुरेर हेरिरहेको थियो।
मः किन घुरेर हेरिस यसरी ?
कुखुराः मलाई त किनिस्। अब प्याज र गोलभेडा किनेर त देखा।’

गत कात्तिकमा सामाजिक सञ्जाल तताएको ‘ट्रोल’ हो यो। ट्रोलले व्यङग्य गरेझैँ तीन महिनाअघि आधा केजी कुखुराको मासु र एक केजी प्याज वा गोलेभेडाको मूल्य समान थियो। त्यस्तै सधैँ एक सयभन्दा उकालो रहने स्याउको मूल्यभन्दा प्याज र काउलीको भाउ बढी थियो।

गत कात्तिक १९ गते आधा केजी चिकेन र एक केजी स्याउको मूल्य समान थियो, १ सय २५ रुपैयाँ। त्यस्तै प्रति केजी गोलभेडा र प्याजको पनि १२५।

तीन महिनाअघि तरकारीको मूल्य आकासिँदा चौतर्फी आलोचना भएपछि अन्ततः सरकार अनुगमनमै निस्कियो। त्यसबेला तरकारीको भाउ अस्वभाविक रुपमा बढ्नुमा तराइमा आएको बाढी प्रमुख कारण देखाइयो। तरकारी उत्पादनमा कमी हुनु तथा निर्वाचनले गर्दा शहरसम्म आइपुग्नुपर्ने गाउँको तरकारी स्थानिय स्तरमै खपत हुन थालेपछि काठमाडौँमा मूल्य आकासिएको व्यापारीको तर्क थियो।

व्यापारीले दिएका दुई कारणसँगै सरकारले त्यसमा अर्को एउटा निक्र्योल थप्यो, ‘गाउँको तरकारी शहरसम्म आइपुग्दा ५ तहमा भाउ तोकिएकाले आकासिन्छ।’

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक निरज पौडेल संयोजकत्वको समितिले काभ्रे, धादिङ, मकवानपुर र नुवाकोटको स्थलगत भ्रमण गरेर उत्पादन गर्ने किसान, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण भएपछि मात्रै उपभोक्तासम्म तरकारी पुग्ने गरेको निर्क्योलसहित ‘मूल्य विश्लेषण प्रतिवेदन’ तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई बुझाएको थियो।

सो समितिले बिचौलियले गर्दा अस्वभाविकरुपमा तरकारीको मूल्य बढ्ने गरेको किटानसहित प्रतिवेदन बुझाएता पनि त्यसको अनुगमन गरी बजार नियन्त्रण गर्ने पाटोमा हालसम्म सरकारले कुनै कदम चालेको देखिँदैन।

मूल्य नियन्त्रणमा सरकारले कुनै कदम नचालेता पनि अहिले भने अधिकांश तरकारीको मूल्य तीन गुणासम्मले सस्तिन थालेको छ। तीन महिनाअघि एक सय १० रुपैयाँ रहेको गोलभेडाको मूल्य अहिले ४५ तथा १३० रहेको प्याज ९५ मा झरेको छ। त्यस्तै काउलीको भाउ अहिले ३८ रुपैयाँमा छ जुन तीन महिनाअघि एक सय रुपैयाँ थियो।

योबाहेक सोही अवधिमा बन्दा १ सय ५ बाट ४३, बोडी १२५ बाट ५५, मटरकोशा १२५ बाट ८३ रुपैयाँमा झरेको छ। हाल घिउ सिमीको मूल्य ५५ रुपैंयाँ छ तर तीन महिनाअघि यसको मूल्य १ सय ५ तिर्नुपर्थ्यो।

मुख्य तरकारीको तीन महिनाको तुलनतात्मक मूल्य सूचीः

तरकारी

कात्तिक १९ को मूल्य (रुपैयाँमा) मंसिर १९ को मूल्य(रुपैयाँमा)

पुस १९ को मूल्य (रुपैयाँमा)

गोलभेडा ठूलो १२५ १०५ ५८
गोलभेडा सानो ११० ९५ ४५
आलु रातो ५८ ४५ ४३
आलु सेतो ४८ ३८ ३८
प्याज सुकेको १२५ ११० ९५
बन्दा १०५ ५५ ४३
काउली स्थानिय ११५ ५५ ४५
काउली तराई १०० ४५ ३८
मूला ३५ ४५ ३८
बोडी १२५ ७३ ५५
मटरकोशा १२५ १२५ ८३
घिउ सिमी १०५ ८५ ५५
तितो करेला ११५ ६५ ७५
लौका ५५ ५५ ४५
भिण्डी ११५ १०५ ११५
रायो साग ६५ ५५ ४५
च्याउ १९० १९० १३५
ब्रोकाउली ८५ ७५ ४८

स्रोतः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यसरी अधिकांशको मूल्य घट्नुका पछाडि धेरै तरकारीको सिजन सुरु भएको तथा विभिन्न जिल्ला र भारतबाट नियमित परिणाममा आयात हुनु रहेको बताउँछन् कालिमाटी बजारका खुद्रा तरकारी व्यापारी गुणराज सापकोटा।

‘तिहार पछिको समय पुरानोको सिजन सकिएको तथा नयाँ फल्न थालिनसकेको बेला हो’ सापकोटाले भने ‘त्यस लगत्तै चुनाब भयो जसले गर्दा स्थानीयस्तरमै खपत बढेकाले कालीमाटीमा थोरै मात्र तरकारी आइपुग्थ्यो तर अहिले पर्याप्त मात्रामा भित्रिन थालेको छ। त्यसैले मूल्य पनि घट्दै गएको छ।’

त्यस्तै पुस लागेपछि विवाहको लगन सकिने हुँदा तरकारीको खपत अझ कम भई भाउ ओरालो लागेको सापकोटाले विश्लेषण गरे।‘मंसिर विवाहको लगन धेरै जुर्ने महिना हो, भोज भतेर लगायतका कार्यक्रम धेरै हुने भएकाले खपत पनि बढेको छ’ उनले थपे ‘तर पुसमा त्यस्ता कार्यक्रम घटेर जान्छन्। यसको प्रत्यक्ष असर तरकारी बजारमा पर्छ र मूल्य अझ घटाउँछ।’

तर यस अवधिमा अन्य तरकारीको भाउ तीन गुणासम्मले सस्तिँदा समेत प्याजको मूल्यमा भने त्यति प्रभाव परेको छैन। कालिमाटीमै तीन महिनाअघि १२५ रहेको प्याजको भाउ हाल ९५ रुपैयाँ प्रति केजी छ।

अन्य खुद्रा बजारमा भने अहिलेपनि प्रतिकेजी १२० रुपैयाँसम्ममा प्याजको कारोबार हुने गरेको छ। व्यापारीका अनुसार निरन्तररुपमा बढ्दै गएको प्याजको मूल्य तत्काल घट्ने कुनै छाँटकाँट देखिँदैन कारण नेपाल प्याजमा पूर्णरुपमा भारतनिर्भर हुँदै आएको छ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार मुलुक प्याजमा भारतनिर्भर भएकाले त्यहाँको नियमले यहाँ महँगो पर्न गएको हो। ‘प्याज भारतबाटै आयात हुन्छ, भारतले निर्यात दरमा कडाई गरेपछि त्यसको असर परेको हो’ उनले भने। नयाँ सिजनको उत्पादन बजारमा नआइसकेको र बाढीका कारण यसअघि ठूलो परिमाण नष्ट भएकाले भारतले निर्यात नीति कसिलो बनाएको हो।

निर्यातसम्वन्धी नयाँ नीति लागू गर्दै उसले दर बढाएपछि महँगो हुन गएको हो। श्रेष्ठका अनुसार भारतले अहिले प्याजमा प्रतिटन ८५० डलर निर्यात शुल्क लगाउने गरेको छ।

नयाँ प्याज आउन थालेपछि भारतले नीति परिवर्तन गर्ने बताइएको छ। जनवरीपछि मात्र भारतीय व्यापारीले किसानबाट नयाँ प्याज उठाउन सुरु गर्छन्। तर त्यसपछि मात्रै नीति परिवर्तन भई सस्तिने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७३/७४ मा भारतबाट ४ अर्ब २० करोड रुपैयाँ बराबरको प्याज आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.