एनआरएन हामी गरिखानेको रहेन रामदाइ


तुहिन्छन् जीन्दगीका सपनाहरु शीर्षकको किताब लेखेका छन् रामप्रताप थापाले। गोर्खा बोर्लाँगका काजी खलकका रामप्रताप थापाका पुर्खाहरुको अहिले पनि पाल्पामा मौजा छ। मेरा हजुरबाले जनै मन्तरेर गायत्री मन्त्र सुनाएका रहेछन् रामप्रतापलाई पाल्पामा। बोर्लाँगे काजी र पाल्पाका मोहियाहरुको झगडा पुरानो हो। एनआरएन गठन लगत्तै पोर्चुगलको पोर्तोमा नेपाली सँस्कृतिको विषयमा प्रवचन दिन आएका बेला केन्द्रीय उपाध्यक्ष रहेका राम दाइसँग नजिकिएँ। साहित्यिक मोह र पाल्पासँगको सम्बन्धका कारण धेरै कुरामा नजिकियौँ।

दोहोरो नागरिकता सम्बन्धी कार्यदलको सँयोजक रहेका यी दाइले मलाई एक कार्यकाल कुँदाए पनि। यसै पनि म नेताको घरदैलो जान नरुचाउने मान्छे, उनले नेपाल गएका बखत प्रष्ट कुरा राख्न दौडाए। दौडिएँ। दौडिएकोमा पछुतो पनि छैन। अस्ती योगेश भट्टराईले भनेको सम्झन्छु, कालापानीमा चिसापानीसम्म खुकुरी बोकेर जाने मान्छे कता बेपत्ता ? मैले भनेँ, तपाइँहरु कालापानी पुगेर विस्तारवादीलाई चुनौति दिनुभयो। देशको राजनीति अनुसार फेरिनुभयो तर म भित्र खुकुरी अझै बाँकी छ। खै के हो के हो ? कालापानी हाम्रै हो झैँ लाग्छ। उनी मौन भए। र अन्तमा भने, राजनीति बडो जटिल विषय रहेछ लक्ष्मणजी।

मैले उनमा दोष देख्दिन। हो राजनीति जटिल विषय हो। अझ यसलाई जटिल बनाइएको छ। हरेक विषयलाई जटिल बनाउनुमा हामी नेपाली अगाडि छौँ। एनआरएनलाई पनि यस्तै जटिल बनाए झैँ लाग्छ अचेल।

मैले एनआरएनको हल्लासित अलि साक्षात्कार हुन पाएको यी रामदाइसँगको भेटपछि हो। उसबेला मलाई लाग्यो, सँस्था त यो पो हो। क्या गजबका कुरा। क्या बात। पोर्तोमा क्षेत्रीय स्तरको समिति पनि बनायौँ। पोर्चुगलको तत्कालीन कार्यसमितिको अध्यक्ष पूर्ण हमाल थिए।

डोल्मा आइन्। दैला दैला पुगेर चन्दा उठाइयो। त्यो पैसो त अझै खातैमा रहेछ। पोर्चुगलमा कोही समुद्रमा हाम्फालेर मरे। कोही आत्महत्या गरेर। कोही एकान्तबासमा एक्लिएर मरे। तिनका लासको सतिगति। पोर्तोमै त थियो त्यसबेला कन्सुलेट। अनि तिनका कागतको दौडधूप। लौ फलानोलाई डिपोर्ट गर्ने भो रे। लाखौँ रुपियाँ रिन गरेर आएको बरा। बचाइयो कसैलाई। कोही गए। दौडियो गजबले। राजनीति, वाद, विवाद केही भनिएन। नपत्याए सोधे हुन्छ पुराना कार्यसमितिका मित्रहरुसँग। मकर हमाल ज्यूदै छन् यी सब देख्ने।

अलि पछि जलविद्युतको लाभकारी योजना आयो। आफू परियो श्रमजिवि। सिरिखुरी गरेर खोलेको दुकान पनि झोलुँगोमा हिँडेको भरियाको जस्तो थियो। घरि यता घोर्ल्याँग। घरि उता घोर्ल्याँग। रिनले टुप्पी डुब्न लागेका बेला राम दाइ गोरी भाउजूका साथ मेरा कुटीमा आइपुगे। छन के थियो र ? यौटा सानो झुप्रो। एक्लो भरिया। सामलतुमल।

दाइ अलि भावुक छन्।

पोर्तोको भिला नोभा दि गाइया भन्ने ठाउँमा म बेपारी भइटोपलेको थिएँ। किन्यो नबिक्ने। किन्न जाने पो बिक्थ्यो। स्पेनको भ्यालेन्सिया गाडी कुँदाएर जानु। सामान ल्याउनू। अनि बेच्नु। अखबारी जीवनमा रमाउने मान्छेको गति फेरिएको थियो। घरमा आधा दर्जन भाइ बैनाहरु सुन्दर भविष्यको खोजीमा अनाथ घुमिरहेका थिए। तिनलाई सजिलो गरी पढाउनु मेरा बा आमाको कर्तव्य। त्यो कर्तव्य पछिको कोरस पात्र म।

राम दाइले देखे। सल्लाह दिए। सल्लाह मानेँ पनि। मारिया भाउजूले पनि हकारिन् मेरो बेपारी शैली देखेर। नभन्दै वर्षदिनमा टुप्पी पुग्न आँटेको रिन जमीनमा आइपुग्यो। अर्थात् मैले ब्रम्हाण्ड देख्ने भएँ। टाउकामा हजार थरी तनाव र रिन बोकेर हिँड्ने धतुरे समाजसेवी धेरै छन् तर मैले त्यसो गरिन। ढुँगा खोज्दा देउता भेटिए। ब्याँकमा कपाल फुलाएका यी बूढाको अर्ति काम लायो। म सामान्य जीवनमा फर्किएँ। रिनले गजब कुँदाउँदो रहेछ। असिनपसिन भएपछि जीवनमा भोगियो, रिन भएन भन

मान्छे त खाने र सुत्ने कीरो हुँदो रहेछ। अहिले रिनको भारी हटेर बडो यायावर जीन्दगी जिउँदैछु जेनेभामा। गर्ने रहर मरेको छैन यो मनभित्र। आत्मशक्ति जाग्दो छ।

बिजुली निकाल्ने अभियानमा लाग्यो त्यसपछि हेर्दाहेर्दै एनआरएन। अनि एनआरएन कब्जा गर्न काँग्रेसका काँग्रेसी जत्था, एमालेका एमाले जत्था, माओवादीका माओवादी जत्था, जनजातिका जनजाति समूह उद्दण्ड रुपमा प्रस्तुत भए। युरोपै भरी। ज्यान जाए पार्टी नजाए भयो तिनको मन्त्र। अनि मैले सोचेँ, इस् केटा रामदाइको जमाना गयो अब। राजनीतिको आडमा जो गयो, उही नेता। राजनीतिमा उही हिरो जोसँग दुमडी छ। ब्याँकको जागिर खाएर कविता लेख्ने यी रामदाइ वर्तमानको धरातमा खँगारिए भन्ने कल्पना गरेँ मनमनै। आजसम्म त्यो सत्य सावित भैरहेछ।

डोल्माको पैसा किन डोल्माको लागि खर्च नगरेको ? भूइँचालोको नाममा उठाएको त्यत्रो पैसा कता गयो ? किन अहिलेसम्म घर नबनेको ? जाम् भन्या भा हामी नि गएर महिना दिनेक श्रम गर्थेम्। भनेर बोल्नेहरुलाई एनआरएन विरोधि मानिन्छ अचेल। युरोपमा दुनियाँको गाली खाएर बोली निकाल्नेहरुलाई निम्तोसम्म गर्न जरुरी ठान्दैन एनआरएन। ददीलाई बोलाएर गएका हुन् या त्यसै थाहा भएन तर सन्तोष न्यौपाने र नीलम जस्ता जुझारु पत्रकार त्यहाँ जरुरी ठानिन्न्। लोग्नेले कागतपत्र लुकाएर अलपत्र पारिएकी कविता सिटौलाको पक्षमा वकालत गर्नेहरु निम्तो पाउनेमा पर्दैनन्। अनि पीडकको पक्षमा लबिँग गर्ने बेल्जियममा वरिष्ठहरुको ढलिमलि हेर्न किन राम दाइ फ्रयाँकफर्ट ? यो अन्याय हामी किन हेर्ने राम दाइ ?

त्यहाँ यौटा वेभ पत्रिकाले वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा युरोपमा पत्रकारिताको भविष्यको बारेमा चिन्ता लिएर विद्वानहरुको गोष्ठी पनि डाकेको रहेछ। मन कुँडियो। गएर खगेन्द्र नेपाली, भागिरथ योगी, अरुण बरालहरुको कुरा सुन्न कति रमाइलो हुँदो हो ? ख्वै कसैले निम्तै गरेनन्। लाग्यो, शायद मेरै योग्यताको कमी होला। योग्य भएको भए त बोलाइहाल्थे। राम दाइ, पोर्तो किनारमा मेरा कविता सुनेर आँखाभरी आँसु भरेर गम्लँग अँगालो हाल्ने तपाइँनै हो। भन्नुस् म कहिले योग्य हुन्छुहोला यस्तो विद्वत सभामा सहभागी हुन ? तर, चाकडी सभामा जाने रहर पनि छैन यो मान्छेलाई।

भन्नु केही छैन। अब एनआरएन द्रब्य र दलमा बलियो पकड हुनेहरुले चलाउने क्लब भएको छ। हजारौँ मानिसहरु भ्रममा छन्। मैले एनआरएनका हरेक सत्कर्महरुप्रति नमन गर्दछु। राम्रो गरेको छ तर सँकेतहरुले देखाइरहेका छन्, अब द्रब्य र दलमा पकड नहुने हामी जस्ता श्रमजीवीहरुको एनआरएन रहेन रामदाइ। नेपालको सँवेदनशीलतामा बोल्यो, नेफोली भन्छन्। यता न द्रब्यले दम्काउने आडम्बर झिक्न सकिन्छ न दलको राजनीति गरेर माथि पुग्नु छ।

अलि बढि भावुक भएँ क्यारे दाइ, माफी पाउँ। उही त होला आखिर दाजुको कविताको एक लाइन जस्तै, नर पन्था शनै शनै। अर्थात् जीवनका पाइलाहरु विस्तारै विस्तारै।

तर लेखिराख्नु, हिँड्न भने छाड्ने छैन। गन्तव्य विस्तारै हिँड्नेको पनि हुन्छ।

जेनेभा, स्वीजरल्याण्ड

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.