समान पेन्सनलगायत सुविधाको माग राखेर लन्डनमा भोक हड्ताल बसेका अनसनकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।
आइतबार भोक हड्तालको नवौं दिनमा अनसनकारीको स्वास्थ्य अवस्था जटिल बनेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जनाएको छ।
भूतपूर्व गोर्खाको समान पेन्सनलगायत अधिकारका लागि अभियन्ता ज्ञानराज राई, धनबहादुर गुरूङ र पुष्प राना घले गत शनिबारदेखि आमरण अनसनमा छन्।
चौतर्फी दबाब, बेलायतको मौनता कायमै
अनसनकारीलाई भेट्न, भूतपूर्व गोर्खाहरुका माग सुन्न र कार्यान्वयन गर्न अहिले बेलायत सरकारमाथि तीव्र दवाव परेको छ। अन्तर्राष्ट्रिय मिडियाले पनि प्रधानमन्त्री कार्यालय अगाडिको आमरण अनसनलाई प्रमुख स्थान दिएपछि यो विषय अहिले चर्किएको छ।
गत शुक्रबार बेलायती सांसदले प्रधानमन्त्री बोरिस जोन्सनलाई एक पत्र लेख्दै गोर्खा भूतपूर्व सैनिकको पेन्सन मुद्दा समाधान गर्न जोड दिएका थिए ।
ब्रिटिश संसदको सर्वदलीय समितिका नेपाल अध्यक्ष सांसद बीरेन्द्र शर्मासहित सांसदहरु सीमा मल्होत्रा, नभेन्दु मिश्र, निक स्मिथ, अलान डोरान्स, डान जार्भिस, लर्ड बिलिमोरिया, लर्ड ढोलाकिया र लर्ड शेखले शुक्रबार प्रधानमन्त्री जोन्सनलाई संयुक्त पत्र लेख्दै गोर्खा समस्याको दीर्घकालिन समाधानमा जोड दिएका हुन्। बेलायतको प्रमुख दल लेबर पार्टीले समेत प्रधानमन्त्री जोन्सनलाई गोर्खा माग सुन्न दवाव दिएको छ।
लन्डनस्थित नेपाली राजदूतावासले पनि आफ्नो कूटनीतिक च्यानलमार्फत गोर्खा समस्या समाधानका लागि पहल गरेको जनाएको छ ।
प्रवासी नेपाली मञ्च यूकेले बिहीबार राजदूत लोकदर्शन रेग्मीलाई एक ज्ञापनपत्र दिँदै गोर्खा समस्या समाधानका लागि यथाशीघ्र कूटनीतिक पहल गर्न आग्रह गरेको थियो ।
यसअघि एनआरएनए यूके, नेपाल पत्रकार महासंघ यूके, प्रवासी नेपाली मञ्च यूके, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूके लगायत कयौं संघसंस्थाले अनसनस्थल पुगेर गोर्खा आन्दोलनप्रति ऐक्यवद्धता जनाइसकेका छन्।
ब्रिटिश भेट्रान्सहरुले पनि गोर्खा आन्दोलनमा साथ दिएका छन् । शनिबार आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुले विशाल प्रदर्शन गरे ।
सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायर देखि मार्चपास गर्दै भेट्रान्सहरु बेलायती प्रधानमन्त्री कार्यालय हुँदै संसद भवनसम्म पुगेका थिए । सो क्रममा गोर्खाहरुले एकै साथ ताली बजाएर धन्यवाद दिए।