एनआरएनए युकेको नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन्।
निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले आइतबार साँझ बेलायत अल्डरसटमा आयोजित एक समारोहबीच नवनिर्वाचित प्रेम गाहामगर नेतृत्वको कार्यसमितिका पदाधिकारी तथा सदस्यले सपथ लिएका हुन्।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एनआरएनए युकेको राष्ट्रिय समन्वय परिषदका साथै चार वटै राज्य समन्वय परिषदका पदाधिकारीले पनि शपथ लिए। सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मीले एनआरएनए युकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए। दूतावासले एनआरएनए युकेसँग विगतका दिनमा गर्दै आएको सहकार्य भविष्यमा थप बलियो बन्ने विश्वास व्यक्त गरे ।
एनआरएनए यूकेकी निवर्तमान समितिकी अध्यक्ष पुनम गुरूङले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्ण साथ र सहयोगको प्रतिवद्धता व्यक्त गरिन्। उनले आफ्नो कार्यकाललाई सफल पार्न सहयोग गर्ने सिंगो कार्यसमिति, संरक्षक तथा सल्लाहकार, बेलायतस्थित सम्पूर्ण संघसंस्था र समुदायप्रति उनले आभार प्रकट गरिन्।
कार्यक्रममा एनआरएनए केन्द्रीय सल्लाहकार कुल आचार्य, केन्द्रीय सल्लाहकार एवम् निर्वाचन पर्यवेक्षक विश्वआदर्श पण्डित, पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व अध्यक्ष एवम् निर्वाचन समिति संयोजक महेन्द्रराज कँडेललगायतले पनि प्रेम गाहामगर नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् भने अर्का अध्यक्षका प्रत्यासी दिपक श्रेष्ठले शुभकामना सन्देश पठाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गाहामगरले आफूलाई विश्वास गरेर एनआरएनए यूकेको नेतृत्व सुम्पिएकोमा बेलायतवासी नेपालीप्रति आभार प्रकट गरे। उनले बेलायतको सिंगो नेपाली समुदायलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा गुल्मेल्ली नौमती बाजाले आफ्नो प्रस्तुति दिएको थियो।