बेलायतमा डेढ महिनादेखि जारी लकडाउन खुकुलो पार्ने क्रम सुरू भएको छ।
प्रधानमन्त्री बोरिस जोनसनले आइतबार साँझ विभिन्न चरणमा लकडाउन खुकुलो पार्दै जाने घोषणा गरेका छन्।
लकडाउनमा अपनाउन लागिएको लचकतालाई सशर्त भन्दै प्रधानमन्त्री जोनसनले आवश्यकता परे लचकता खारेज गरिने पनि बताएका छन्।
प्रधानमन्त्रीको घोषणामा पहिलो चरणमा यही सातादेखि घरबाटै काम गर्न सक्षम नहुनेहरुलाई काममा जान प्रोत्साहन गरिने भएको छ।
तर उनीहरुलाई पैदल वा निजी सवारीमा यात्रा गर्न आग्रह गरिएको छ।
एकै घरका सदस्य पार्कमा बस्ने, घरबाहिर समयको बन्देजबिना व्यायाम गर्ने लगायतका कार्यमा पनि अब कुनै रोक नहुने भएको छ।
प्रधानमन्त्री जोनसनले दोस्रो चरणमा आउँदो जुन महिनादेखि प्राइमरी स्कुल सुचारु गर्ने तथा तेस्रो चरणमा जुलाईमा हस्पिटालिटी क्षेत्रका केही व्यवसाय सञ्चालन गर्ने योजना सार्वजनिक गरेका छन्।
तर सबै योजना सशर्त भएकाले आवश्यकता अनुसार खारेज गर्न सकिने उनले बताएका छन्।
सम्बोधनकै क्रममा प्रधानमन्त्री जोनसनले अब छिट्टै उडानमार्फत बेलायत आउने सबैलाई क्वारेन्टाइन अनिवार्य गरिने योजना पनि घोषणा गरेका छन्।
उनले बेलायतमा महामारीको जोखिमलाई विभिन्न तहमा देखाउने नयाँ प्रणाली पनि घोषणा गरेका छन्।
बेलायतले लकडाउनको सुरूदेखि सर्वसाधारणलाई घरमै बस्न अपील गर्दै आएकोमा अबदेखि सतर्क रहन आव्हान गरेको हो।
लकडाउनलाई खुकुलो पार्ने प्रधानमन्त्री जोनसनको घोषणा अहिलेका लागि इंग्ल्याण्डमा मात्र लागु हुनेछ।
बेलायतका अन्य तीन राज्यले अहिले नै लकडाउनमा कुनै परिवर्तन नल्याउने बताइसकेका छन्।
बेलायतमा कोरोना संक्रमणबाट हालसम्म युरोपमै सबैभन्दा बढी ३१ हजार ८ सय ५५ मानिसको मृत्यु भइसकेको छ भने संक्रमित संख्या २ लाख १९ हजार कटेको छ।