कोरोनाभाइरसविरूद्धको खोप बेलायतमा मानिसहरुमा परीक्षण गरिने भएको छ।
बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा बिहीबारदेखि यो परीक्षण सुरू हुन लागेको हो।
बेलायत सरकारका स्वास्थ्यमन्त्री म्याट ह्यानककले मंगलबार कोरोना भाइरसविरूद्धको खोपको मानव परीक्षण गर्न लागिएको घोषणा गरेका हुन्। उनका अनुसार यो परीक्षणका लागि सरकारले अक्सफोर्ड विश्वविद्यालयलाई २० मिलियन पाउन्ड प्रदान गर्नेछ।
मन्त्री ह्यानककले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनमा खोपको विकासका लागि आशालाग्दो पहल भइरहेको बताए।
जसमा तीव्र गतिमा प्रगतिसमेत भइरहेको उनको भनाइ थियो। कोरोनाविरूद्धको खोप बेलायत सरकारको उच्च प्राथमितामा रहेको बताउँदै उनले यसका लागि बेलायतले अन्य देशको तुलनामा धेरै रकम लगानी गरेको दाबी पनि गरे।
बेलायतमा खोप तयार भएको अवस्थामा पहिलो प्राथमिकता आफ्नै देशभित्रलाई दिइनेसमेत मन्त्री ह्यानककले उल्लेख गरे।
अक्सफोर्ड विश्वविद्यालयले आउँदो सेप्टेम्बरसम्म खोप तयार गरिसक्ने बताएको छ।
विज्ञहरूले भने कोरोनाविरूद्धको खोप मानव परीक्षणको चरणसम्म आउनु सकारात्मक उपलब्धि भए पनि तत्काल आशा नै गरिहाल्ने आधार बनिनसकेको बताएका छन्। खोपको विकासका लागि महिनौं लाग्ने र परीक्षणका क्रममा सफल हुने सम्भावनाका साथै विफल हुने समेत उच्च जोखिम रहने उनीहरुको तर्क छ।
यता, बेलायतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या १७ हजार ३ सय ३७ पुगेको छ। पछिल्लो २४ घन्टामा मात्रै ८ सय २८ जनाले ज्यान गुमाएका छन्। बेलायतमा कोरोना संक्रमण १ लाख २९ हजार ४४ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ।