अनेकन विवाद र विरोधकाबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणमा लन्डन आईपुगेका छन्। आज बिहान बेलायतको स्ट्याण्डस्टेड एयरपोर्टमा अमेरिकन एयरफोर्सको बिमानबाट ओर्लिए लगत्तै बेलायत सरकारका परराष्ट्र मामिला मंत्री जेरेमी हन्टले राष्ट्रपति ट्रम्पलाई स्वागत गरेका थिए।
बेलायतको तीन दिने भ्रमणमा राष्ट्रपति ट्रम्पले बेलायती महारानी र प्रधानमन्त्री टेरेसा मेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। बेलायती महारानीले आजै राष्ट्रपति ट्रम्पको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सरिक भए पश्चात उनको राज्यस्तरीय भेटघाटले तिब्रता पाउने छ।
मंगलवार राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री टेरेसा मेको उपस्थितिमा व्यवसायी तथा उद्यमीहरुसँग वार्तालाप गर्नेछन् भने सोही दिन प्रधानमन्त्री मेको कार्यालय डाउनिंग स्ट्रीटमा भेटवार्ता गर्नेछन्। उनको तेस्रो दिनको कार्यक्रममा दोस्रो विश्व युद्दमा नाजी विरुद्दको सबैभन्दा ठूलो समुद्री अपरेसनको सम्झनामा आयोजित डी डे उत्सवमा सहभागी हुने रहेको छ। सोही दिन उनले आयरल्याण्डको समेत भ्रमण गर्ने जनाईएको छ । अमेरिकाको राष्ट्रपति बनेपछि उनको यो पहिलो राजकीय भ्रमण हो।
विवाद र विरोधबीचको भ्रमण
कार्यभार सम्हालेपछि आफ्ना अभिव्यक्तिहरु मार्फत अनेकन विवादमा मुछिदै आएका अमेरिकी राष्ट्रपति ट्रंम्पको बेलायत भ्रमण समेत विवाद रहित भने छैन । उनलाई बेलायतको आन्तरिक राजनैतिक मामलामा अनावश्यक हस्तक्षेप गरेको आरोप लागेको छ।
ब्रेक्जीटको अवतरण गर्न नसकेपछि पदभार त्याग्ने घोषणा गरिसकेकी बेलायती प्रधानमन्त्री टेरेसा मेको उत्तराधिकारीको रुपमा बोरिस जोन्सनको नाम शिफारिश तथा ब्रेक्जीटको डिल गर्ने नेतृत्व चरम राष्ट्रवादी नेता नाईजल फराजले गर्नु पर्ने धारणा राष्ट्रपति ट्रम्पले आफ्नो बेलायत भ्रमणको पूर्वसन्ध्यामा व्यक्त गरेका थिए। यो बिषयलाई लिएर बेलायतको प्रतिपक्षी दलका साथै सत्ता पक्षकै कतिपय नेताहरुले उनको चर्को आलोचना गरेका छन्।
त्यसैगरी लन्डन मेयर सादिक खानलाई व्यक्तिगत तवरमै उत्रेर कटाक्ष गरेको बिषयलाई लिएर समेत उनको तिब्र आलोचना भईरहेको छ।
उनको भ्रमणको दौरानमा लन्डन लगायत बेलायतका बिभिन्न शहरमा ट्रम्प विरोधी र्यालीहरु समेत भए। यसअघि गत बर्षको फेब्रुअरीमै तय गरिएको राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण आलोचना र विवादकै बीच रद्द गरिएको थियो।