गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको निर्वाचन सेप्टेमबर १४ लाई तोकिएको छ। सेप्टेमबर १४ मा निर्वाचन र १५ मा अधिवेशन गर्ने निर्णय गरिएको हो ।
सोमबार मिडल्याण्डनको नटिंगहममा बसेको एनआरएन युकेको बैठकले अधिवेसन तय गरेको हो। निर्वाचन समिति भने अर्को बैठकबाट गठन हुने भएको छ ।
बैठकले सदस्यता आवेदनको लागि जुलाई मसान्तसम्मको मिति तोकेको छ। अनलाइन तथा पेपर दुवै माध्यमबाट सदस्यता आवेदन गर्न सकिनेछ।
सदस्यता वितरणलाई व्यवस्थित गर्न भन्दै पूर्ण गुरुङलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ ।
सदस्यतासम्बन्धी विवाद तथा गुनासोको सुनुवाई गरी आवश्यक निर्णय लिन अध्यक्ष योगकुमार फगामी र महासचिव आरके त्रिपाठी संलग्न समिति गठन गरिएको छ।
सदस्यता शुल्क यसपटक १० पाउण्ड बनाउने निर्णय भएको छ। सदस्यता वितरणसम्बन्धी जानकारीहरु दिने उद्धेश्यले विभिन्न क्षेत्रमा पुगेर कार्यक्रमहरु पनि गरिने भएको छ ।
५ सय भन्दा बढी सदस्य बन्ने क्षेत्रमा मतदान केन्द्र नै राख्ने समेत निर्णय गरिएको छ ।
निर्वाचनको मिति तय भएसँगै कार्यसमितिका ६ उपाध्यक्षमध्ये बैठकमा उपस्थित सबै ५ जनाले आगामी अध्यक्षको लागि आकांक्षा व्यक्त गरेका थिए ।