बेलायतमा बसोवास गर्ने नेपालीहरू नेपालमा आफ्नो क्षेत्र जिल्ला र गाउँ लगायतको नेटवर्क बनाएर संगठित हुने प्रचलन व्याप्त नै छ।
भौगोलिक आधारमा स्थापना भएर नेपालको सम्बन्धित क्षेत्रमा बिभिन्न परोपकारी काममा सहयोग गर्ने, आपतकालिन अवस्थामा आफ्नो गाउँ ठाउँका समुदायहरुलाई सहयोग गर्ने हिसाबले यस्ता संगठनहरुको योगदान रहँदै आएको छ ।
नेपालको गुल्मी जिल्लामा घर भई बेलायतमा बसोवास गर्दै आई रहेका नेपालीहरुले सन २००७ मा गुल्मी जिल्ला समाज यूकेको स्थापना गरेर यस्तै कार्यमा एउटा उदाहरण प्रस्तुत गर्दै आईरहेका छन्।
नेपालमा आईपर्ने प्राकृतिक प्रकोप तथा अन्य परोपकारी कामका अलावा गुल्मी जिल्ला समाज यूकेले नेपालको गुल्मीमै सञ्चालित आशा अपांग केन्द्रको सहकार्यमा असहाय अपांगलाई पुनर्जीवन दिन गर्दै आएको कामले भने एउटा उदाहरण र उत्प्रेरणाको रुपमा चर्चा पाउने गरेको छ ।
प्रत्येक वर्ष विश्व अपांग दिवसको अवसर पारेर बेलायतवासी गुल्मेलीहरुले एउटा अपांगता सम्बन्धी च्यारिटी कार्यक्रमको आयोजना गर्छन्। संस्थाको ठुलै सञ्जाललाई परिचालित गरेर जम्मा भएको रकमको अंशले गुल्मीको आशा अपांग केन्द्रमा अशक्त अपांगहरुको उपचार तथा पुनर्स्थापनामा शितलता प्रदान गर्नेगर्छ।
सन् २०११ देखि गुल्मी जिल्ला समाज यूकेले हालसम्म आशा अपांग केन्द्रलाई ४० लाख बराबरको आर्थिक सहयोग प्रदान गरिसकेको छ।
गुल्मी समाज यूकेले नै प्रदान गरेको एम्बुलेन्सले जिल्लाका बिकट ठाउँसम्म पुगेर आपांगलाई उपचारार्थ केन्द्रसम्म ल्याई पुर्याउने गर्छ।
‘विदेशमा पैसा संकलन गरेर मात्र हुँदैन स्वदेशमा त्यसको सही सदुपयोग हुने कार्य क्षेत्र पहिचान गर्न सक्नुपर्छ। आशा अपांग केन्द्रसँगको सहकार्यले हामीलाई हाम्रो सहयोग जरैसम्म पुगेको महसुस भएको छ', गुल्मी समाजका संस्थापक अध्यक्ष ओम प्रसाद थापाले भने।
संस्थाका तत्कालिन उपाध्यक्ष मोतोराज भण्डारीको अनुभवमा पनि दुर्गम ठाउँका अपांगको सेवामा लाग्न पाउनु आवश्यक ठाउँमा उपयुक्त सहयोग पुग्नु नै रहेको छ। ‘त्यतिखेरको जिल्ला भ्रमणको क्रममा आशा अपांग केन्द्रले गरेको काम देख्दा र गर्न सकिने सम्भावनाले हामीलाई केन्द्रसँगको सहकार्यमा तान्यो’, भण्डारीले सुनाए।
सानोमै आफ्नो दुवै खुट्टा गुमाएकी गङ्गा रायमाझी आशा अपांग केन्द्रको सफल सञ्चालिका हुन्। केन्द्रले हालसम्म ७ हजार भन्दा बढी अपांगलाई उपचार तथा सेवा दिईसकेको सञ्चालिका रायमाझीले बताइन्।
अपांगको पिर मर्का र जीवन ब्यथा बुझ्न सायद मेरो आफनै अपाङ्गताले मद्दत पुगेको हुनु पर्छ', रायमाझी भन्छिन ।
गुल्मी समाज यूकेले यसपालिको अपाङ्गता दिवस च्यारिटीको अवसरमा आशा अपांग केन्द्रकी सञ्चालिका गङ्गा रायमाझीलाई लन्डन बोलायो।
संस्थाका वर्तमान अध्यक्ष राम गलामीको भनाईमा उनको उपस्थितिले सहयोगकर्ताको विश्वास उचो राख्न मद्दत पुग्छ। 'हरेक वर्ष धेरै व्यक्तिहरुको सहयोग संकलन गरेर हामी आशा केन्द्रलाई हस्तान्तरण गर्छौ तर, स्वयं संचालिकाको उपस्थिति र प्रगति विवरणको प्रस्तुति हेर्न पाउँदा सहयोगकर्ताहरुमा झनै उत्साह थपिएको छ', अध्यक्ष गलामीले भने।
सन् २००७ मा स्थापना भएको गुल्ल्मी जिल्ला समाज यूकेले गृह जिल्ला गुल्मीमा मात्रै २ करोड ५० लाख भन्दा बढीको आर्थिक सहयोग उपलब्ध गराईसकेको छ।
नेपालको महाभूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक बिपत्तिहरुमा यो समाजले जिल्लाको परिधि नाघेर देशभरी नै सहयोग गर्ने गरेको छ। 'हाम्रो समाज बेलायत बस्ने गुल्मेली हरुको एउटा संजालको प्ल्याटफर्म हो तर समग्रमा हाम्रो सहयोग धेरै तिर फैलिएको छ, गुल्मी जिल्ला समाज यूकेले नेपालमा आफ्नो गृह जिल्लाको विकासलाई प्राथमिकतामा राखे पनि आवश्यकताको बेला अन्य जिल्लाहरुमा समेत पुग्ने गरेका छौ', समाजका निर्वतमान अध्यक्ष अर्जुन गौतमले भने।
नेपालमा गरिने सहयोग र क्रियाशीलताको हिसाबले यो समाज बेलायतका सामाजिक संघ संस्थाहरु मध्ये अग्रणी र उदाहरणीय मानिन्छ ।
यसैबीच दक्षिण पूर्वी लन्डनको वुल्विचमा गुल्मी समाज यूकेले गत आईतबार आशा अपांग केन्द्रकी संचालिका गङ्गा रायमाझीको उपस्थितीमा यस वर्षको च्यारिटी कार्यक्रम सम्पन्न गर्यो।
सञ्चालिका रायमाझीले संस्थाको सहयोग कसरी सदुपयोग गरिएको छ भन्ने बारेमा प्रिजेन्टेसन गरेकी थिइन्।
दुर्गम गाउँका आपांगहरुको विपतका कथाहरु हेर्दा धेरैका आँखा रसाए। केन्द्रको सहयोगमा भएका सफलताका कथाहरुले सहभागीहरुको भावुकतालाई खुशीमा बदलिदियो।
बिरलै ध्यान दिएर भाषण सुन्ने बेलायतका नेपालीहरु मन्त्रमुग्ध बनेर गङ्गाको प्रस्तुतिलाई स्तब्धतामा सुने। प्रस्तुतिका हरेक सफल कथाहरुको अन्त्यमा तालीको गडगडाहटले सभाहल गुन्जिरह्यो।
उनले एक पछी अर्को गर्दै केन्द्रको सहयोगमा उद्दार उपचार र पुनर्स्थापना गरिएका केही प्रतिनिधिमुलक उदाहरणहरु प्रस्तुत गरिन्।
‘तपाईँहरुलाई मैले कुन शब्दमा धन्यवाद व्यक्त गरौँ, तपाईहरु नेपालका दुखी अपांग र असहायको भगवान बनेर आउनु भएको छ', धन्यवादका शब्दहरु बोल्दै गर्दा उनको अनुहार भावुकतामा देखियो ।
नेपालमा आपंगलाई हेर्ने दृस्टीकोण, चेतनाको अभाव, भौतिक संरचनाहरुको अप्रयाप्तता तथा सरकारी प्राथमिकताको कमी जस्ता विषयमा सुधार आवश्यक रहेको बताउदै उनले आफ्नो प्रस्तुतिको बिट मारिन्।
अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली दुतावास लन्डनका द्वितीय सचिव लव सुवेदी, एन आर एन यूकेका उपाध्यक्ष प्रेम गाहा मगर लगायत बिभिन्न सामाजिक व्यक्तित्वहरुले मन्तब्य दिदै केन्द्र र समाजको कार्यको मुक्तकण्ठले प्रशंशा गरे । महासचिव शिव भण्डारी र प्रवक्ता मंजु भण्डारीले संचालन गरेको कार्यक्रममा कलाकार शुशिला गौतम र गुल्मेली नौमति बाजाको प्रस्तुतिमा सहभागी रमाए । अपाङ्गता भएका बेलायतका स्थानीय नेपालीहरुले मन छुने मन्तब्य तथा प्रस्तुति हरु दिए।
समाजका सचिव तारानाथ भण्डारीका अनुसार कार्यक्रम बाट १० हजार पाउण्ड भन्दा बढी रकम संकलन भएको छ।
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा सामाजिक अगुवा तथा गुल्मेली गैर गुल्मेली नेपालीहरुको उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा संस्थामा योगदान पुर्याउने व्यक्तिहरु सम्मान समेत गरिएको थियो ।