ब्रेक्जिटको सम्बन्धमा पछिल्लो एक सातामा बेलायत र युरोपेली संघबीच भएका २ वटा महत्वपूर्ण सहमतिलाई युरोपेली संघका सबै सदस्य राष्ट्रले अनुमोदन गरेका छन्।
ब्रेक्जिट सम्झौता र ब्रेक्जिट पछिको दुई पक्षीय सम्बन्धको बारेमा गरिएका सहमतिमा संघ आबद्ध सबै राष्ट्रले समर्थन जनाएका हुन्।
दुवै सहमतिसहितको सम्झौता आइतबार ब्रसेल्समा सम्पन्न युरोपेली संघका सदस्य राष्ट्रहरुको विशेष बैठकबाट अनुमोदन गराइएको हो।
उक्त सहमतिमा यसअघि असहमति राखेको स्पेनलाई बेलायतले विश्वासमा लिएपछि युरोपेली संघबाट उक्त सहमतिलाई अनुमोदन गराउन सम्भव भएको हो ।
बैठकपछि युरोपियन कमिसनका अध्यक्ष जेन क्लाउडियाले संघले ब्रेक्जिट सम्झौतालाई अनुमोदन गरेको पुष्टि गरेका थिए। उनले समझौताको लागि यो भन्दा उत्तम सम्भावना नरहेको दाबी समेत गरेका छन्।
युरोपेली संघबाट अनुमोदन भइसकेपछि अब यो सम्झौतालाई बेलायती संसदबाट पास गराउनुपर्नेछ । तर विपक्षी लेबर पार्टी, लिबरेल डेमोक्रयाटिक, एसएनपीसहितका दल र प्रधानमन्त्री टेरेसा मेको आफ्नै दल कञ्जरभेटिभका कतिपय सांसदहरुले समेत सम्झौताको विरोध गरिरहेका छन् ।
आउँदो डिसेम्बर महिनाको सुरुतिर सम्झौताको पक्ष र विपक्षमा बेलायती संसदमा मतदान गराइनेछ ।
डेढ वर्षअघि बेलायतमा सम्पन्न जनमत संग्रहले ब्रेक्जिटको पक्षमा जनादेश दिएपछि दुई पक्षका वार्ताकारहरुबीच गम्भीर नेगोसिएसनहरु सुरु भएका थिए । जसको परिणामस्वरुप गतसाता मात्रै दुई पक्ष बेलायतको ब्रेक्जिट सम्झौता र दुई पक्षको भावी सम्बन्धसम्बन्धी विषयमा सहमतिमा पुगेका थिए ।