सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लण्डन आइपुगेका छन् ।
बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा गर्ने एक च्यारिटी कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन नेपाल लण्डन आएका हुन् ।
उक्त कार्यक्रमका लागि कलाकार मनोज गजुरेल, गायक हेमन्त मोक्तान र मोडल तथा नायिका मरिस्का पोखरेल पनि पूर्व प्रम नेपालसँगै बिहिबार लण्डन आइपुगेका छन् ।
बेलायतमा पूर्व प्रम नेपाल र कलाकारहरुलाई स्वागत गर्न बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, यति नेपाली एशोसिएसनका पूर्व अध्यक्ष तथा च्यारिटी कार्यक्रमका संयोजक उमेशराज मोक्तान, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष रामशरण सिंखडासहितको एक जम्बो टोली हिथ्रो विमानस्थल पुगेको थियो ।
पूर्व प्रम नेपाल यही नोभेम्बर २० मा नेपाल फर्किने कार्यक्रम छ । त्यसअघि उनले आइतबार आफ्नो पार्टीको शुचेच्छुक संगठनले आयोजना गर्ने एक अन्तरक्रिया कार्यक्रममा भाग लिँदैछन्। भूपू गोर्खाहरुको संस्था गेसोले पनि नेता नेपालसँग अन्तरक्रियाको कार्यक्रम गर्ने तयारी गरेको छ ।