बेलायत भ्रमणमा रहेका नेपालका २ जना मन्त्रीहरुको सहभागितामा लण्डनस्थित नेपाली दूतावासले नेपाल डेभलपमेन्ट कन्फरेन्सको दोस्रो श्रृंखला आयोजना गरेको छ ।
उपप्रधानमन्त्री तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको सम्मानमा आयोजित समारोहका बिच बुधबार सांझ दूतावासमा उक्त कार्यक्रम गरिएको थियो । नेपाल ब्रिटेन स्वास्थ्य सहयोग विषयक उक्त सेमिनारमा नेपालको स्वास्थ्य विकासका लागि दुई देशबीचको सहयोगबारे विभिन्न प्रिजेन्टेसन गरिएका थिए ।
नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा सबिन जोशी, हेल्थ एक्सचेञ्ज नेपाल यूकेका प्रमुख जेरेमी वार्ड र डा क्रिस्टोफर एमरेका प्रिजन्टेसनहरुको साथै ब्रिटेन नेपाल मेडिकल ट्रस्टकी सहअध्यक्ष डा जिलियन होल्ड्सवर्थ र नेप्लिज नर्सिंग एशोसिएसन यूकेका अध्यक्ष प्रसुना कंडेलले मन्तव्यमार्फत विविध जानकारीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार सबै नेपाली जनतालाई आधारभुत स्वास्थ्य सेवाहरु सहज रुपमा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाए । सरकारको यो अभियान सफल पार्न मित्रराष्ट्र तथा सहयोगी निकायहरुको पनि आवश्यकता रहेको उनले बताए ।
बेलायतले विगतदेखि आजका दिनसम्म गर्दै आएको सहयोगका लागि उनले नेपाल सरकारको तर्फबाट कृतज्ञता प्रकट गरे ।
दूतावासले केहि महिनाअघि सम्पन्न गरेको नेपाल डेभलपमेन्ट कन्फरेन्सको दोस्रो श्रृंखलाका रुपमा स्वास्थ्य क्षेत्रमा केन्द्रित यो कार्यक्रम गरिएको थियो ।
विशेष अतिथि वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले विगतमा बेलायत सरकारले नेपाललाई गरेका विभिन्न सहयोग प्रोजेक्टहरु निकै सफल बनेको र त्यसबाट नेपालीहरुको जनजीवनमा ठूलो सहयोग मिलेको अनुभव सुनाए ।
नेपाल सरकार वन संरक्षणका साथै वन व्यवस्थापनलाई वैज्ञानिक बनाउनेतर्फ प्रतिबद्ध रहेको उनले बताए ।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायत तथा नेपालबीचको सदियौं लामो सम्बन्धलाई अहिले बेलायतमा कार्यरत हजारौं डाक्टर तथा नर्सहरुले थप गाढा बनाएको टिप्पणी गरे ।
लण्डन दूतावासका प्रवक्ता शरदराज आरनले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बेलायतमा कार्यरत नेपाली डाक्टर, नर्सहरुको साथै बेलायती समुदायका प्रतिनिधीहरु उपस्थित थिए ।